मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ वर्षको अवसरमा बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली । तस्बिर : रोशन सापकोटा/रासस
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०५:५८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमसिसी अड्काइएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०५:५८:००

प्रधानमन्त्री केपी ओलीले अमेरिकन सहयोग परियोजना (एमसिसी)लाई निर्णयार्थ प्रस्तुत गर्नबाट संसद्मा अड्काइएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले संसद्मा प्रस्तुत गरेको कुनै पनि कार्यसूचीलाई संसद्मा अड्काउनु गैरसंवैधानिक हुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि बढाउन माग गरे । 

‘एमसिसी कांग्रेस र माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ संसद्मा टेबल गरेका छौँ र टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन,’ नयाँ वर्षका अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन, त्यो गर्नैपर्ने हुन्छ । तर, संविधान नै नमान्ने तथा जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय एकता चाहेको पनि बताए । ‘हामी चाहन्छौँ, फाटोको खेती होइन, वैमनस्यता र घृणा होइन, आजको आवश्यकता राष्ट्रिय एकता हो । दूरीलाई हटाएर एकता कायम गर्ने हो,’ उनले भने । 

सरकारले सकेसम्म लकडाउन चाहेको छैन 
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण काबुभन्दा बाहिर जान लागेको अवस्थामा मात्र सरकारले लकडाउन गर्ने स्पष्ट पारे । ‘कतिपयले आजै–भोलि नै लकडाउन हुन्छ भनेर हल्ला चलाइरहेका छन् । सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर, हामीले हेक्का राख्नुपर्छ, विकसित भनिएका कतिपय देशमा जब ह्वात्तै कोरोना भइरस फैलियो, तब उनीहरू पनि लकडाउन गर्न बाध्य छन् । सतर्कताको विधिबाट परिस्थितिलाई त्यहाँ पुग्न नदिऊँ भन्ने हाम्रो चाहना छ ।’

उनले आफूले लकडाउन गर्ने धम्की दिएको गलत हल्ला फिँजाएको भन्दै त्यसको प्रतिवाद पनि गरे । ‘म धम्की कसलाई दिन्छु, म धम्की दिने हैसियत पनि राख्दिनँ र उचित पनि ठान्दिनँ । सजग हुनुपर्छ, परिस्थिति त्यहाँ जान सक्छ भनेर अपिल मात्रै गरेको हुँ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्न र आफूलाई सुरक्षित राख्न सबैमा आग्रह गरे । सरकारको सही नीतिकै कारण कोभिडविरुद्धको लडाइँ असफल नभएको र तुलनात्मक रूपमा सामाजिक र आर्थिक जीवनमा कमभन्दा कम क्षति भएको पनि दाबी गरे । 

उनले ०७७ मा सरकारले उल्लेख्य प्रगति हासिल गरेको पनि बताए । कोभिड– १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरे पनि गत वर्ष उपलब्धिको वर्ष रहेको उनले बताए । 

दशकौँपछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ–नयाँ असाधारण र दूरगामी महत्वका कामहरू बढेको पनि उनले उल्लेख गरे । 

प्रचण्ड र पौडेलमाथि ओलीको प्रहार 
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुने महत्वाकांक्षा पूरा नभएपछि अहिले केही व्यक्तिले प्रतिगमनको स्यालहुइयाँ मच्चाएको दाबी गरेका छन् । उनले लुटेराका तरिकाले सरकारमा पुग्ने बाटो अवरुद्ध भएकै कारण प्रतिगमनको हल्ला फिँजाइएको आरोप लगाए । 

‘एकथरी मान्छेहरू आफू प्रधानमन्त्री हुन पाइनँ भनेर आँगनमा निस्किएर प्रतिगमन भो भन्दै कराउन थाल्छन् । प्रतिगमन भयो भनेर अहिले त्यस्तै स्यालहुइयाँ चलाउने मान्छेहरू छन्,’ प्रचण्डलाई लक्षित गर्दै बुधबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न रोकिएपछि प्रतिगमन भयो भन्ने !’

ओलीले सत्ता कब्जा गर्न शाब्दिक क्रान्तिकारी नामका वामपन्थी र कामका दक्षिणपन्थीले उत्पात मच्चाएको बताए । सत्ता कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले विदेशी गुहारेको र त्यसमा पनि सफल नभएपछि पार्टी फोडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि आग्रह गरिरहेको ओलीको भनाइ छ । 

‘कब्जा गर्न हिँड्दा–हिँड्दै किलाकाँटा सबै फुत्कियो । कब्जा गर्न नसकेपछि प्रतिगमन भयो भन्ने । ती छिमेकी मुलुक यस्तामा किन बोल्दैनन् भन्दै हारगुहार गर्ने । म भए त कम्फर्टेबल सरकार बनाउँछु नि, तिमीहरूलाई भन्ने । अनि आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीको मान्छेलाई प्रधानमन्त्री भइद्यौ न भन्न जाने,’ ओलीले भने, ‘शेरबहादुरजीकहाँ तपाईंले प्रधानमन्त्री खाइदिनुप¥यो भन्नका लागि हल कसेर गएको तपाईंहरूले देख्नुभएकै छ । ती तिनै मान्छे हुन्, जसले आफ्नो पार्टी फुटाएर, आफ्नो आन्दोलन ध्वस्त बनाएर आफ्नो सरकार ढाल्नका लागि मद्दत माग्न पुगेका छन् ।’

ओलीले अब क्रान्तिको नक्कली कुरा गरेर कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास असफल हुने दाबीसमेत गरे । ‘क्रान्तिका गफ गर्छन्, क्रान्तिको लफ्फाजी गर्छन्, जनता ठग्ने पनि हद हुन्छ नि ! अहिलेसम्म त ठगे–ठगे अझै पनि तिम्रा कुरा बिक्छ भन्ने ठानेका छौ कि क्या हो ? अझै पनि जनताले पत्याउँछ भन्ने ठानेका छौ । यसरी विकास, परिवर्तन, स्थायित्वका सबै लहर ध्वस्त पार्न खोजिँदै छ,’ ओलीले भने । 

उनले एमालेकै माधव नेपाल समूहसहित राजनीतिक दलहरूले प्रतिगमनको हल्ला चलाइरहेको भन्दै आफ्ना कदमको बचाउसमेत गरे । ‘के हो प्रतिगमन भनेको ? यिनीहरूले परिवर्तन नै बुझेको रैनछ कि क्या हो ?’ उनको भनाइ छ । 

ओलीले सभामुख भएका वेला भारतले सीमा अतिक्रमण गरेको कालापानीको कार्यसूचीलाई छलफलकै कार्यसूचीबाट हटाउने र गृहमन्त्री हुँदा गोली ठोकेर मान्छे मार्ने व्यक्तिले आफूलाई राष्ट्रवादी र लोकतन्त्रवादी ठान्ने चेष्टा गरिरहेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलमाथि व्यंग्य गरे ।

‘आज लोकतन्त्रको यति दुरुपयोग भएको छ, केही मान्छेले बोलेको सुन्दा, हाम्रोबारेमा गरेको टिप्पणी सुन्दा अचम्म लाग्छ । जुन मानिसलाई आफू गृहमन्त्री हुँदा शान्तिपूर्ण जुलुस देख्नु हुँदैनथ्यो, गोली हानेर पटापट मान्छे मार्थ्यो, ती मान्छेले आज देशमा तानाशाही, अधिनायकवाद देख्छन्,’ ओलीले भने, ‘जो मान्छे सभामुख हुँदा कालापानीबारे छलफल गरौँ भन्दा मेरो अधिकार प्रयोग गरेर हटाइदिएँ भन्थे । देशका बारेमा छलफल गर्न नदिने व्यक्तिले आज आफूलाई राष्ट्रवादी र लोकतन्त्रवादी भन्ने चेष्टा गरिरहेका छन् ।’