१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १ बुधबार १०:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिड नभएका बालबालिकामा पनि ‘एमआइएससी’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १ बुधबार १०:०१:००

कोभिड परीक्षणको समयमा रिपोर्ट नेगेटिभ देखिएका वा संक्रमणका कुनै पनि लक्षण नदेखिएका बालबालिकामा पनि कोभिडका कारण हुने हाइपरइन्फ्लामेसन अर्थात् कोभिडपश्चात् इम्युन प्रतिक्रिया बढी सक्रिय हुँदा शरीरका विभिन्न अंग सुन्निने समस्या देखिन थालेको छ । यसअघि यो मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोम (एमआइएससी) समस्याबाट कोभिड भएका बालबालिका मात्रै प्रभावित हुने विभिन्न अध्ययनले उल्लेख गरेका थिए । 

अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले हालै गरेको एक अध्ययनअनुसार एमआइएससी कोभिड संक्रमण नदेखिएका बालकालिका र किशोरकिशोरीमा पनि देखिन थालेको छ । अध्ययनका क्रममा ७५ प्रतिशत बालकालिका संक्रमण भएको लामो समयको अन्तरालमा र लक्षण नै नदेखिएकाहरूसमेत एमआइएससी देखिएको छ । स्वास्थ्यसम्बन्धी जर्नल ‘जामा’मा प्रकाशित अध्ययन रिपोर्टले महामारीपछि बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोमबाट मुटुमा बढी असर गर्ने हँुदा सिभियर देखिन थालेको उल्लेख छ । 

चिकित्सकका अनुसार बालबालिकामा हुने एमआइएससी एक गम्भीर अवस्था हो, जुन कोभिड भाइरससँग जोडिएको पाइएको थियो । एमआइएससी कोभिड संक्रमणपश्चात् इम्युन प्रतिक्रियात्मक इन्फ्लामेन्टरी (सुजन गराउने) रोग हो । कोभिड महामारीपश्चात पहिलोपटक गत अप्रिल (एक वर्षअघि) मा युरोपमा बालबालिका इम्युन गडबडीसम्बन्धी समस्या पहिचान गरिएको थियो । सामान्यतया कोभिड संक्रमण भएका अधिकांश बालबालिकामा सामान्य लक्षण मात्र देखिन्छ । तर, एमआइसी अर्थात् मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोम भएका बालबालिकामा मुटु, फोक्सो, कलेजो, रक्तनली, मिर्गाैला, पाचनप्रणाली, मस्तिष्क, छाला वा आँखा सुन्निने समस्या हुन्छ । यसका लक्षणहरू प्रभावित अंगका आधारमा फरक–फरक हुने गर्छन । महामारीको सुरुवातीमा देखिएको यो समस्याबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको पाइएको थियो । पछिल्लो समयमा भने किशोरकिशोरी पनि यसबाट प्रभावित हुन थालेको अध्ययनले देखाएको छ । 

सिडिसीका अनुसार बालबालिकामा ज्वरो, छालामा दाग र झाडापखालाको समस्या देखिएको थियो । सुरुवाती अवस्थामा बालबाललिकामा मात्र यस्तो समस्या देखिएकाले यो रोगको नाम ‘मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोम’ राखिएको थियो । तर, कतिपय वयस्कमा पनि मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोमका लक्षण देखिएको पाइन्छ । 

बिरामीमा सम्पूर्ण क्लिनिकल ट्रायल, ल्याबोरेटरी र प्रणालीगत प्रमाणका आधारमा एमआइएससी निदान गरी उपचार गरिन्छ । पेडियाट्रिक इम्युनोलोजिस्ट एवं र्‍युमाटोजिस्टहरूका अनुसार एमआइएससीका बिरामीमा इन्ट्राभेनस इम्युनोग्लोबिन र इन्ट्राभेनस मिथाइल प्रेडनिसोलोनको प्रयोगपश्चात् मुटुको गम्भीर सुजनमा सुधार ल्याउने गरिन्छ । एमआइएससीजस्ता इम्युनोलोजी र र्‍युमाटोलोजीका बिरामी प्रायः निदान नै नहुने, ढिलो निदान हुने र यसवेलासम्म जटिलता हुने गरेको छ । शरीरका थुप्रै अलग–अलग प्रणाली जस्तै, रक्तसञ्चार, श्वासप्रश्वास, स्नायु, पाचन आदि प्रणालीमा गम्भीर असर पुर्‍याउने यो रोगको प्रारम्भिक लक्षण छाला र नरम अंग (आँखा, जिब्रो, ओठ)मा देखिन सक्छ । 

शरीरमा प्रतिरोधी प्रणालीको प्रतिक्रियाले निम्त्याउने जटिलताबाट बच्न सामान्य लक्षणलाई समेत बेवास्ता नगर्न चिकित्सकले सुझाब दिएका छन् । बच्चामा अटोइम्युन, सुजन, बाथजन्य रोगबारे विश्वास गरिएको पाइँदैन । तर, तत्काल गम्भीर समस्या निम्त्याउने र दीर्घरोगहरू इम्युनोलोजिकल रोगहरू जुनसुकै व्यक्तिमा पनि हुने सम्भावना रहन्छ । इम्युनोलोजिकल र र्‍युमाटोलोजिकल समस्याहरू दीर्घरोग मात्र नभई कावासाकी, लुपस, एमआइएससीजस्ता तत्काल गम्भीर जोखिम निम्त्याउने समस्या पनि हुन सक्छन् ।

–एजेन्सीको सहयोगमा