मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दमक–५ स्थित दिपिनी खोलामाथि बनेको लाइफलाइन अस्पताल । यो अस्पतालका सञ्चालक दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेल हुन् ।
२०७८ बैशाख १ बुधबार ०८:१५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दमक नगरपालिकामा सानालाई ऐन, ठूलालाई चैन

Read Time : > 3 मिनेट
२०७८ बैशाख १ बुधबार ०८:१५:००

सुकुम्बासीका छाप्रा डोजर लगाएर भत्काएको नगरपालिकाले खोलामाथि बनेको वडाध्यक्षको अस्पताल र पहुँचवालाका घर र विद्यालय देखेन 

दमक नगरपालिकाले आफ्नो जग्गामा बसेको भन्दै शुक्रबार हाटखोला र पञ्चमुखी टोलका सुकुम्बासीका २० वटा घर डोजर लगाएर भत्कायो । विकल्प र पूर्वसूचना नै नदिई घर भत्काएपछि सुकुम्बासी बिचल्लीमा परेका छन् । उनीहरू अहिले भत्केकै घरमा खुला आकाशमुनि बसेका छन् ।

ऐलानी जग्गामा हामीले हात हालेका छैनौँ : रामनाथ ओली, प्रमुख, दमक नगरपालिका

दमकका सार्वजनिक जग्गा र खोलाकिनारका जग्गा व्यक्तिका नाममा दर्ता भएका छन् । खोला मिचेर घर बनाएका छन् । धेरै त जनप्रतिनिधि नभएका वेला नगरपालिकाका कर्मचारीले नक्सा पास गरेका रहेछन् । नगरपालिकाले अहिले आफ्नो नाममा रहेको जग्गा मात्र खाली गरेको हो । यो ऐलानी जग्गा हो । यसमा हामीले अहिले हात हालेका छैनौँ ।

छाप्रो बनाएर बसेका सुकुम्बासीले सरकारी जग्गा हडपेर बसेको नगरपालिकाको अरोप छ । तर, ती बस्ती निकै पुराना हुन् । नगरपालिकाको नाममा जग्गा आउनुभन्दा अघिदेखि नै बस्ती छन् । तर, नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउन भन्दै सुकुम्बासी बस्तीमाथि डोजर चलाएको हो । नगरपालिकाले छाप्रा घरलाई निसाना बनाएर सुकुम्बासीमाथि प्रहार गरे पनि पहुँचवालाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भने छुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐनले सरकारी जग्गा र सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । तर, बिहान–बेलुका छाक टार्न मुस्किल हुने परिवार बस्ने छाप्रोमा डोजर चलाएको नगरपालिकाले हुनेखाने र पहुँचवालाले खोला थुनेर घर बनाउँदा पनि मौनता साँधेको छ । 

वडाध्यक्षकै अस्पताल सार्वजनिक जग्गामा
सुकुम्बासीलाई उठिवास लगाउने दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेल सञ्चालक रहेको दमक–५ स्थित लाइफलाइन अस्पताल पनि सार्वजनिक जग्गा मिचेर बनेको छ । यो अस्पतालका संरचना दिपिनी खोला थुनेर त्यसमाथि बनाइएको छ । जसले गर्दा दमकको अधिकांश क्षेत्र बर्खामा दिपिनी खोलाका कारण डुबानमा पर्ने गरेको छ । सुकुम्बासीका छाप्रा उठिवास लगाउने वडाध्यक्षको अस्पताल खोलामाथि बन्दा पनि कसैले हटाउन पहल गरिएको छैन । बरू नगरपालिका ‘यो त ऐलानी जग्गा हो, हामीले हात हालेका छैनौँ’ भन्दै पन्छिएको छ ।

वडाध्यक्ष पौडेल पनि खोलामाथि संरचना बनाएको भन्दै स्वीकार गर्छन् । तर, उनी अस्पतालले खोलामा बग्ने पानीलाई कुनै असर नगरेको दाबी गर्छन् । ‘हामीले खोला बग्न अवरोध गरेका छैनौँ । तर, अब चाँडै भत्काउँछौँ,’ पौडेलले भने, ‘३२ जना सञ्चालक छौँ । तपाईंहरूले मलाई मात्र देख्नुभयो, नगर कार्यपालिकाले पत्र लेखेको छ । कार्यपालिकामा पनि छु । त्यो पत्र अस्पतालमा पनि गएको छ ।

खोला मिचेर निजी घर र बोर्डिङ स्कुल निर्माण

दमक–७ स्थित रातेहोली खोलामाथि बनाइएको सिद्धार्थ बोर्डिङ स्कुल । यसका सञ्चालक तेजकुमार श्रेष्ठ हुन् । 

दिपिनी खोला मिचेर अरू ‘पहुँचवाला’हरूले घर बनाएका छन् । दमकमा नाम चलेका सामाजिक र राजनीतिक व्यक्तिले बनाएका घरमा नगरपालिकाको नजर परेको छैन । दिपिनी खोला मिचेर रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्वसभापति मानबहादुर बुढाथोकीले घर ठड्याएका छन् । गरिबको छाप्रोमा डोजर चलाउने नगरपालिकाले पहुँचवालालाई देखेपछि पन्छने गरेको छ । 

दमक–७ मै छ, सिद्धार्थ बोर्डिङ स्कुल । यो विद्यालयका सञ्चालक हुन्, तेजकुमार श्रेष्ठ । उनी प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन् । ओली प्रधानमन्त्री भएपछि दमक आउँदा पटक–पटक यही विद्यालयमा ओलीसहित एमाले कार्यकर्ता र सहभागीलाई खाना खुवाउने गरिएको थियो । ओलीले गत प्रतिनिधिसभा निर्वाचन जितेपछि श्रेष्ठले सोही विद्यालयमा ‘पार्टी’ आयोजना गरेका थिए । यो विद्यालयका केही संरचना पनि सार्वजनिक जग्गामा बनेका छन् । विद्यालयको बीचबाट रातेहोली खोला बग्छ । खोलामाथि विद्यालयको संरचना छ । नगरपालिकाले पटकपटक अनुगमन गर्‍यो । केही वर्षअघि संरचना भत्काउन पनि निर्देशन दिइएको वडाध्यक्ष पौडेल बताउँछन् । तर, ओलीसँगै सीधा पहुँच भएका श्रेष्ठले नगरपालिकाको निर्देशनलाई अटेर गरे । ‘उस (विद्यालय) ले अटेर गरेर संरचना भत्काएको छैन,’ पौडेल भन्छन्, ‘हामीले उसको नक्सा सबै रोकिदिएका छौँ ।’

दमक नगरपालिकाका जग्गामा बसेका भूमिहीनलाई नगरपालिकाले सूचना जारी गरेर संरचना हटाउन निर्देशन दियो । नमानेपछि डोजर लगाएर घर भत्कायो । तर, यी पहुँचवालाले बनाएका संरचना हटाउन दिएको निर्देशन नमान्दा पनि नगरपालिका मौन छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरपालिकाले यसपटक आफ्नो नाममा रहेको जग्गामा बसेका सुकुम्बासीलाई मात्र हटाएको बताए । अस्पताल,

विद्यालयलगायत खोलामा बनेका संरचना ऐलानी भएकाले तत्काल नभत्काइएको उनको भनाइ छ । ‘सर्पट नापीले फटाइ गरेर दमकका सार्वजनिक जग्गा र खोलाकिनारका जग्गा व्यक्तिका नाममा दर्ता गरेका छन् । खोला मिचेर घर बनाएका छन् । धेरै त जनप्रतिनिधि नभएका वेला नगरपालिकाका कर्मचारीले नक्सा पास गरेका रहेछन्,’ ओली भन्छन्, ‘नगरपालिकाले अहिले आफ्नो नाममा रहेको जग्गा मात्र खाली गरेको हो । यो ऐलानी जग्गा हो । यसमा हामीले अहिले हात हालेका छैनौँ ।’

नगरपालिकाले डोजर चलाएको सुकुम्बासी बस्तीमा संसदीय टोली

प्रदेश १ को सामाजिक विकास समितिले दमक नगरपालिकाले डोजर चलाएर उठिवास लगाएको सुकुम्बासी बस्तीको अनुगमन गरेको छ । समितिको टोली मंगलबार दमक–७ स्थित हाटखोला र पञ्चमुखी टोलमा पुगेको थियो । सामाजिक विकास समितिकी सभापति सरिता थापाको नेतृत्वमा आएको टोलीले पीडित सुकुम्बासी र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसँग छलफल गरेको थियो । 

समितिका सदस्यहरूले नगरपालिकाले सुकुम्बासीमाथि अन्याय गरेको बताए । ‘चैतको यस्तो खडेरीमा डोजर लगाएर भत्काइएको छ । यो न्यायोचित र सही भन्न सकिँदैन । समाधानका थुप्रै विकल्प हुँदा–हुँदै सुकुम्बासी बस्तीमा डोजर चलेको देखियो,’ समिति सदस्य झलकसिंह दर्लामीले भने, ‘जानकारी नै नदिई आकस्मिक ढंगले डोजर लगाइएको छ । स्थानीय सरकार व्यावहारिक ढंगबाट गएको देखिएन । यो अत्यन्तै अमानवीय ढंगले भत्काइएको पाइयो ।’

समिति सभापति थापाले डोजर लगाएर घर भत्काउँदा सुकुम्बासी र भूमिहीनको मौलिक अधिकारमाथि नै प्रहार भएको बताइन् । ‘नयाँ पत्रिकामा समाचार आएजस्तै सुकुम्बासीको अवस्था रहेछ । यसबारे गहन ढंगले समितिमा छलफल गरेर हामी प्रदेश सरकारलाई उपयुक्त निर्देशन दिन्छौँ र नगरपालिकालाई पनि सुझाव दिन्छौँ,’थापाले भनिन्, ‘संविधानमा जनताले आवास पाउने मौलिक हक छ । सुकुम्बासीलाई पनि लालपूर्जा दिएर जग्गाधनी बनाइनुपर्छ । तर, दमक नगरपालिकाले विकल्पबिनै हटाएको रहेछ । सुकुम्बासी भत्किएको घरमाथि खुला आकाशमुनि सुतेका छन्, यो दर्दानाक अवस्था हो । यसको व्यवस्थापन छिटो हुनुपर्छ ।’

जनताको मत लिएर सेवा हैन, शोषण गर्नुपर्छ भन्ने मानसिकताका कारण नगरपालिकाले जनताको मौलिक हकको हनन् गरेको प्रदेश–१ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए । ‘सेवक बन्छु भनेर जनताको मत मागेर निर्वाचित भए । तर, सेवक हैन मालिक भएर जनतामाथि शोषण गर्नुपर्छ भन्ने मानसिकताको उपज हो, यो,’ उनले भने, ‘सुकुम्बासीलाई जग्गाधनी हुने संविधानले अधिकार दिएको छ । त्यो अधिकारको ख्यालै नगरी भत्काउनु संविधानको उल्लंघन मात्र हैन मानवीय हिसाबले पनि पाप हो ।’

सुकुम्बासी आन्दोलित
नगरपालिकाले गत शुक्रबार सुकुम्बासी बस्तीमा डोजर लगाउँदा २० घरपरिवार बिचल्लीमा परेका छन् । पञ्चमुखी टोलका सात सुकुम्बासी परिवार खुला आकाशमुनि रात काटिरहेका छन् । नगरपालिकाले सुकुम्बासीलाई ‘काम छ’ भन्दै बिहानै प्रहरी कार्यालय लगेर घर भत्काएको थियो । २० सुकुम्बासीको घर भत्काएपछि दमकका सुकुम्बासी आन्दोलित बनेका छन् । अखिल नेपाल सुकुम्बासी संघको अगुवाइमा सुकुम्बासीले मंगलबार दमकमा प्रदर्शन गरे । उनीहरूले दमक चोकदेखि नगरपालिकाको कार्यालयसम्म जुलुस निकालेका थिए । विरोध प्रदर्शनपछि उनीहरूले नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले डोजर लगाएर उजाड बनाइएको बस्तीलाई उचित क्षतिपूर्तिसहित बस्ती पुनर्निर्माणलगायतको माग राखेका छन् ।