मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १ बुधबार ०८:०९:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

नरैनापुरका आधा नागरिक अझै निरक्षर

Read Time : > 1 मिनेट
२०७८ बैशाख १ बुधबार ०८:०९:००

३५ हजार जनसंख्या रहेको नरैनापुर गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गर्न महिनाभन्दा कम दिन बाँकी हुँदा १८ हजार नागरिक निरक्षर रहेको पाइयो

निरक्षरता उन्मूलन अभियान चलाइरहेको नरैनापुर गाउँपालिकाका झन्डै आधा नागरिक निरक्षर पाइएको छ । नरैनापुरलाई आगामी वैशाखभित्र पूर्ण साक्षर घोषणा गर्ने गाउँपालिकाको तयारी छ । तर, घोषणा हुने महिना दिनभन्दा कम समय बाँकी करिब १८ हजार नागरिक निरक्षर पाइएका छन् । 

३४ हजार नौ सय ४२ जनसंख्या रहेको नरैनापुरलाई साक्षर घोषणा गर्ने तयारीका क्रममा तथ्यांक संकलन गर्दा अझै पनि ठूलो संख्यामा नागरिक निरक्षर रहेको खुलेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले नरैनापुरका करिब १८ हजार नागरिक अझै निरक्षर पाइएको बताए ।

‘यहाँका ३४ हजार नौ सय ४२ जनसंख्यामध्ये करिब १८ हजार नागरिक अझै निरक्षर पाइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत शाहीले नयाँ पत्रिकासँग भने, ‘पाँच वर्षमुनिका बालबालिकासहित गाउँपालिकाभित्र करिब १८ हजार नागरिक निरक्षर भएको तथ्यांक प्राप्त भएको हो ।’

सके वैशाखमै, नसके असारमा घोषणा
गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले भने अझै पनि वैशाखभित्रै गाउँपालिकालाई साक्षर घोषणा गर्ने गरी अभियान चलिरहेको बताए । तर, सो समयमा सम्भव नभए आगामी असार मसान्तसम्ममा भने गाउँपालिकालाई साक्षर घोषणा गरिने उनको भनाइ छ ।

‘हामीले गाउँपालिकाभित्र बसोवास गर्ने सबैलाई साक्षर बनाएर साक्षर गाउँपालिका घोषणा गर्ने तयारी गरेका हौँ, तर अहिले केही नागरिक अझै निरक्षर रहेको पाइएको छ,’ शिक्षा शाखाप्रमुख चौधरीले भने, ‘अझै पनि सकभर वैशाखभित्र साक्षर घोषणा गर्ने हाम्रो अभियान छ । त्यो सम्भव नभए असार मसान्तभित्र गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गर्छौँ ।’

उनले गाउँपालिकामा साक्षरताको अवस्थाबारे अध्ययन गर्ने संस्थाले पाँच वर्षमुनिका बालबालिकालाई पनि समेटेको बताउँदै अध्ययन प्रतिवेदनको विश्लेषण भएपछि मात्र निरक्षर संख्या यकिन हुने जानकारी दिए ।