मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ताराप्रसाद ओली
२०७८ बैशाख १ बुधबार १०:२२:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

परिवेश बदलियो, शिक्षक बदलिएनन्

Read Time : > 7 मिनेट
ताराप्रसाद ओली
२०७८ बैशाख १ बुधबार १०:२२:००

बढुवामा सहकर्मी, विद्यार्थी र अभिभावकलाई सहभागी गराई शिक्षकलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्छ र पुस्तान्तरणले ल्याएका समस्याहरू समाधान गर्नुपर्छ

समय परिवर्तनशील छ, समाज गतिशील छ । नवीनतम प्रविधिहरू दिन दुईगुणा रात चौगुणाको गतिमा विकास भइरहेका छन् । विज्ञान र प्रविधिमा आएको चामत्कारिक परिवर्तनले शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ । सिक्ने–सिकाउने तौरतरिकामा व्यापक फेरबदल भएका छन् । सिकाइलाई जीवन्त र रोचक बनाउन नयाँ–नयाँ विधि, प्रविधि र तौरतरिका प्रयोग हुन थालेका छन् । प्रविधिको विकाससँगै सिकाइमा नयाँ चुनौती थपिएका छन् । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल अनि युट्युब, टेलिभिजन, पत्रपत्रिकाजस्ता सञ्चारमाध्यमले किताबका अक्षरहरूलाई निरस र फिक्का बनाइदिएका छन् । विद्यार्थीको मन फेसबुकले जित्यो, बालबालिका युट्युबमा झुन्डिए, तिनको ध्यान टेलिभिजनले तान्यो, रुचि मोबाइलमा बढ्यो । कार्टुनमा घन्टौँ रमाउने बालबालिका कक्षाकोठामा पौने घन्टा टिक्न नसक्ने भए, युट्युबमा घन्टौँ बिताउन सक्ने बालबालिका कोर्सका किताबमा एक घन्टा बिताउन सक्दैनन् ।

विज्ञान र प्रविधिको क्षेत्रका नवीनतम आविष्कारले शिक्षा क्षेत्रमा हलचल ल्याइदियो । तर, शिक्षकले इन्टरनेट, फेसबुक, युट्युब, मोबाइलजस्ता साधनहरूको प्रयोगलाई सिकाइको बाधाका रूपमा बुझे, प्रविधिलाई सिकाइसँग जोड्न सकेनन् । परम्परागत शिक्षण पद्धतिले विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्न नसक्दा तिनले अध्ययनलाई बोझका रूपमा लिन थाले । प्रविधिको दुरुपयोग र सही मार्गदर्शनको अभावमा बालबालिका गलत जानकारीको सिकार हुन पुगेका छन्, कुलतको चंगुलमा फसेका छन् । यो आलेख यसैको सेरोफेरोमा केन्द्रित छ ।

प्रविधि–ज्ञान शून्य शिक्षक : शिक्षा क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने एउटा चर्चित चिनियाँ उखान छ, ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ, शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’ विज्ञान र प्रविधिको क्षेत्रमा आएको परिवर्तनले पूराना पुस्ताका शिक्षकलाई निरक्षरजस्तो बनाइदियो, असान्दर्भिक बनाइदियो । प्रविधिको दुनियाँमा बालबालिकाहरू दौडिरहेका छन्, युवापुस्ता हिँडिरहेको छ, बुबापुस्ता वामे सरिरहेको छ, हजुरबुबापुस्ता उठ्नै सकेका छैनन् । प्रविधिको ज्ञान नहुँदा शिक्षकहरू निष्क्रिय अवस्थामा पुगे, कक्षाकोठामा पूरोहितले पूराण पढेजसरी पढाउन अभ्यस्त शिक्षक समयानुकूल हुन सकेनन् । जसको कारण सिकाइ प्रभावकारी हुन सकेन र गुणस्तर खस्कियो ।

प्रविधिको दुनियाँमा निकै पछाडि रहेका शिक्षकले विद्यार्थीलाई सिकाइमा दौडाउन सकेका छैनन् । शिक्षक दौडन नसक्दा विद्यार्थीको सिकाइको यात्रा अवरुद्ध भएको छ । राज्यसञ्चालकहरू पनि गैरजिम्मेवार भए, शिक्षकलाई दौडाउन सकेनन् । 

सिकाइमा नयाँ–नयाँ चुनौती थपिएका छन् । तर, हाम्रो सोच्ने तरिका बुद्धि, मूल्य–मान्यता उही पूरानो छ । प्रविधिको दुनियाँमा निकै पछाडि रहेका शिक्षकले विद्यार्थीलाई सिकाइमा दौडाउन सकेका छैनन् । शिक्षक दौडन नसक्दा विद्यार्थीको सिकाइको यात्रा अवरुद्ध भएको छ । राज्यसञ्चालकहरू पनि गैरजिम्मेवार भए, शिक्षकलाई दौडाउन सकेनन् । जसरी इन्धनविना गाडी दौडन सक्दैन, ठीक त्यसै गरी राज्यको गतिलो शिक्षा नीतिविना शिक्षकहरू दौडन सक्दैनन् । 

पुस्तान्तरणले निम्त्याएको समस्या : हजुरबुबापुस्ता (सोच, चिन्तन र उत्साहका दृष्टिले) को शिक्षक र नाति पुस्ताको विद्यार्थीको सोच्ने तरिका फरक छ, भोगाइ, देखाइ, बुझाइ, मूल्य–मान्यता फरक छन् । परिवेश, परिस्थिति फरक छ । शिक्षकहरू परम्परागत ढर्राबाट चल्न खोज्ने, विद्यार्थी आधुनिकताको माहोलमा रमाउन खोज्ने, समस्या यहीँनेर छ । बन्द समाजमा हुर्किएका शिक्षक यौनका प्रसंगबाट भाग्न, पन्छिन खोज्ने अनि खुला समाजमा स्वच्छन्द ढंगले बाँचिरहेका विद्यार्थी यौनका बारेमा जान्न, बुझ्न खोज्ने । अहिलेको तीव्र संक्रमणको युगका विद्यार्थीलाई यौनबारे न परिवार बताउँछ, न शिक्षक नै बताउँछन् । अनि विद्यार्थीले गुगल खोज्यो, युट्युब हेर्‍यो, फेसबुक चलायो, गलत जानकारीको सिकार बन्यो । किशोरावस्थामा आउने परिवर्तनका बारेमा अभिभावकले कुरा गर्न हिचकिचाउने, शिक्षकले पनि सहजीकरण र छलफल गर्न नचाहने प्रवृत्तिले बालबालिका यौनहिंसाको सिकार भएका छन्, कुलतको बाटो रोजेका छन् ।

विद्यार्थी मोबाइल चलाउन, प्रविधिको बारेमा जानकारी लिन र प्रयोग गर्न खोज्ने भए, तर शिक्षकलाई विद्यार्थीले मोबाइल चलाएको पटक्कै मन नपर्ने, समस्या यहीँनेर छ । मोबाइल कहिले, कतिखेर, कसरी चलाउने, इन्टरनेटमा उपयोगी कुराहरू के छन्, कुन–कुन साइट काम लाग्ने छन्, प्रविधिलाई सिकाइमा कसरी जोड्ने भनेर शिक्षकले विद्यार्थीलाई आइडिया दिन नसक्ने, सिफारिस गर्न नसक्ने हुँदा समस्या आएको छ ।

शिक्षकचाहिँ परम्परागत शैलीमा मान सम्मान खोज्ने, आज्ञाकारी र अनुशासित विद्यार्थी चाहने, विद्यार्थी भने प्रश्न गर्न रुचाउने, अन्तरक्रिया गर्न चाहने, यहीँनेर विद्यार्थी र शिक्षकको तालमेल मिलेको छैन । विद्यार्थी के, कसरी, किन भयो, महाभारत जान्न खोज्ने, तर्क–वितर्क गर्न चाहने, फरक मत राख्न खोज्ने, तर शिक्षकले टालटुले जवाफ दिने, किताबको साँघुरो घेराभन्दा बाहिर जान नचाहने परिस्थिति बन्यो, शिक्षक र विद्यार्थीको कुरा यहाँनेर मिलेको छैन । विद्यार्थीले प्रश्न गर्दा शिक्षकले आत्मसम्मानमा ठेस पुर्‍याएको अनुभूति गर्ने, काउन्टर लजिक पटक्कै नसहने स्वभावमा परिवर्तन आएन । दासत्वको सोच भएका पुस्ताका शिक्षक र क्रान्तिकारी एवं आलोचनात्मक चेत हुने विद्यार्थीबीच सन्तुलन मिलेको छैन । जसकारण शिक्षण प्रभावकारी भएन, पाठ्यक्रमद्वारा तोकिएका उद्देश्यहरू पूरा भएनन् ।

विद्यार्थी स्वतन्त्र, स्वच्छन्द र स्टाइलिस्ट बन्न खोज्ने तर शिक्षकलाई विद्यार्थीको बानीव्यहोरा पटक्कै मन नपर्ने समस्या आइदियो । विद्यार्थीलाई लवाइखुवाइमा आधुनिक देखिन मन लाग्ने, शिक्षकलाई नङ लामो बनाएको मन नपर्ने, कपालका स्टाइल मन नपर्ने भयो । विद्यार्थी स्वतन्त्र बन्न खोज्ने, तर शिक्षकले छात्राहरूको स्कर्टको लम्बाइ नाप्न खोज्ने, शिक्षक–विद्यार्थीबीच खटपट पर्न गयो । शिक्षकले विद्यार्थीको भावना र स्वतन्त्रता बुझेनन्, विद्यार्थीले स्वतन्त्रता र छाडापनको भेद बुझ्न सकेनन् । शिक्षकले बुझाउन सकेनन् । सादा जीवन र उच्च बिचारको महत्व शिक्षकले स्थापित गर्न सकेनन् । विद्यार्थीले शिक्षकलाई स्वतन्त्रताका बाधक सम्झे, शिक्षकले विद्यार्थीलाई अनुशासनहीन छाडा सम्झे, शिक्षक–विद्यार्थी अन्तर्घुलन भएन । विद्यार्थी शिक्षकको नजिक हुन चाहने, तर शिक्षक बिच्केर टाढा–टाढा भाग्ने प्रवृत्तिको विकास हुँदै गयो । विद्यार्थीसँग दूरी कायम गर्नुपर्छ भन्ने शिक्षकको पुरानो मान्यताले शिक्षक–विद्यार्थी सम्पर्कमा अवरोध थप झांगिँदो छ, विद्यार्थीसँग नजिक भए टाउकोमा टेक्छन्् भन्ने शिक्षकको सोचाइले पनि विद्यार्थी–शिक्षक सञ्चार स्थापित हुन सकेको छैन । विद्यार्थीका कठिनाइ, अप्ठ्यारा, समस्या शिक्षकले बुझ्न चाहेन भने सिकाइ त प्रभावित हुन्छ नै ।

शिक्षकले विद्यार्थीको मन जित्नुको, विद्यार्थीलाई सिक्ने वातावरण सिर्जना गर्नुको विकल्प छैन । शिक्षकले ज्ञानको दायरा नबढाई, अध्ययनशील नबनी सुख छैन । नयाँ–नयाँ विधि र प्रविधिको प्रयोग नगरी शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुनेछैन ।

शिक्षक–विद्यार्थीबीच आपसमा अपनत्वको भावना विकसित हुन सकेकै छैन । शिक्षकले विद्यार्थीलाई आफ्ना ठानेनन्, विद्यार्थीले पनि शिक्षकलाई अपनाएनन् । मान्छेको स्वभाव नै अचम्मको छ । जस लिन मरिहत्ते गर्ने तर अपजसको भारी बोक्न नचाहने अजिबको मानव स्वभाव छ । आफूले पढाएको विद्यार्थी डाक्टर, पाइलट, इन्जिनियर बनेपछि मैले पढाएको विद्यार्थीले क्या प्रगति गर्‍यो भनेर नाक फुलाउने तर कुनै विद्यार्थी चोर, फटाहा, अपराधी बन्यो भने मैले पढाएको विद्यार्थीले बाटो बिरायो भन्न हिच्किचाउने प्रवृत्ति छ । 

कुण्ठा र निराशा भरिएका युवा शिक्षक : शैक्षिक स्तर खस्कनुको कारक हजुरबुबा र बुबापुस्ताका शिक्षक मात्र होइनन्, युवापुस्ताका शिक्षक पनि हुन् । पछिल्लो समय केही हजारको संख्यामा वयका हिसाबले युवा शिक्षकको पनि प्रवेश भएको छ । युवा शिक्षकमा क्षमता, दक्षता, प्रतिभा, विज्ञान र प्रविधिसँग साक्षात्कार गर्न सक्ने खुबी त छ, तर यिनले पनि परिणाम दिन सकेका छैनन् ।

शिक्षा क्षेत्रमा प्रवेश गरेको सुरुवाती दिनहरूमा युवा शिक्षकले परिणाम दिने कोसिस गर्छन्, परम्परागत तौरतरिकालाई भत्काउने प्रयास पनि गर्छन्, आफ्नो जोस, जाँगर र ऊर्जा देखाउने प्रयत्न पनि गर्छन्, तर विद्यालयको शैक्षिक वातावरणले उनीहरूलाई एक्लो बनाउँछ, उनीहरू एक्लो बृहस्पति बनाइन्छन् । उनीहरूलाई हतोत्साहित बनाइन्छ, खुट्टा तानिन्छ । योग्यता, रुचि र क्षमताअनुसारको जिम्मेवारी पाउँदैनन्, त्यसैले निराश हुन्छन्, थाक्छन्् । युवा शिक्षक पनि परिस्थितिअनुसार मनिस्थिति बदल्छन् । पुर्खाले हिँडिरहेको बाटो समाउँछन् ।

न्यून तलब सुविधा, सरुवा र बढुवामा हुने राजनीति, अनिश्चित वृत्तिविकासको कारण धेरैजसो युवा शिक्षकले शिक्षण पेसामा भविष्य असुरक्षित देख्छन् र पेसाबाटै पलायन हुन खोज्छन् । शिक्षकलाई हेरिने सामाजिक दृष्टिकोणले उनीहरूमा निराशा उत्पन्न हुन्छ । जोस, जाँगर र ऊर्जा ह्रास हुँदै जाँदा उनीहरू जागिरेमा परिणत हुन पुग्ने गरेका छन् । शिक्षण पेसामा पूर्णतया रमाउने युवा शिक्षकको संख्या निकै थोरै छ ।

खोटपूर्ण शिक्षण–सिकाइ शैली : हाम्रा सिक्ने–सिकाउने तौरतरिका र शैलीहरू अचम्मका छन् । हामी विद्यार्थीलाई आफू बसेको बेन्च/डेस्कको क्षेत्रफल नाप्न सिकाइरहेका हुँदैनाैँ, सेतोपाटी र कालोपाटीमा किताबमा दिइएका क्षेत्रफलको हिसाब सिकाएर बसेका हुन्छौँ । आफ्नै समुदायका, आफ्नै धर्मका, आफ्नै जातिका संस्कार, मूल्य मान्यता विद्यार्थीलाई बताउन प्रेरित गरिरहेका हुँदैनौँ, किताबमा लेखिएका संस्कारहरू रट्न लगाइरहेका हुन्छौँ । आफ्नै वरिपरिका सजीव र निर्जीव वस्तुहरू देखाएर सिकाउन सकिरहेका हुँदैनौँ, किताबमा लेखेका वस्तुहरू घोकाइरहेका हुन्छौँ । चुनाव, द्वन्द्व व्यवस्थापन, व्यवस्थापिकाजस्ता पाठहरू पनि हामी प्रयोगात्मक रूपमा सिकाउन सकिरहेका छैनाैँ । हाम्रै घर, भान्सा, परिवार, समुदायवरिपरि पाइने चिजवस्तुहरूलाई अंग्रेजीमा रूपान्तरण गर्न सिकाएका हुँदैनौँ, किताबमा लेखेका शब्दहरू मात्र घोक्न लगाउँछाैँ ।

अहिलेका विद्यार्थी टेलिभिजन हेर्छन्, एफएम रेडियो सुन्छन्, फेसबुक चलाउँछन्, पत्रपत्रिका पढ्छन्, युट्युब चलाउँछन्, इन्टरनेट चलाउँछन् । ज्ञानका स्रोतहरू अनेक छन्, सिकाइका माध्यम अनेक छन् । शिक्षकले यस्ता आधुनिक माध्यमलाई सिकाइसँग जोड्नै जान्दैनन्, सक्दैनन्, चाहँदैनन् । चक एन्ड टक शिक्षण शैलीलाई छोडेर शिक्षण सिकाइलाई रोचक नबनाई हुँदैन । समस्या यहीँनेर छ ।

पेपर–पेन्सिल टेस्टको करामत : नेपाली समाजमा सफलता र असफलताको मानक परीक्षामा पाएको अंक वा ग्रेड बनेको छ । जीवन र व्यवहारमा आएको परिवर्तन सफलताको मानक मानिएकै छैन । पेपर र पेन्सिल टेस्टले विद्यार्थीको वास्तविक क्षमताको मूल्यांकन हुन सक्ने प्रश्नै उठ्दैन । पुरानो पुस्ताका शिक्षक मूल्यांकनका नवीनतम विधिका बारेमा सन्तुष्ट छैनन् । निरन्तर मूल्यांकन प्रणाली, निर्माणात्मक मूल्यांकन, लेटर ग्रेडिङजस्ता विधिहरूको पनि दुरुपयोग भइरहेको छ । सिकाइको मूल्यांकनलाई वैज्ञानिक, समयसापेक्ष बनाउन सकिएको छैन । घोकाइको मूल्यांकन भयो, तर बुझाइको मूल्यांकन भएन, परिवर्तनको मूल्यांकन भएन । व्यावहारिक जीवनमा चाहिने सानासाना सीप र ज्ञानको मूल्यांकन भएन । समस्या मूल्यांकनको विधिमा छ, पुराना पुस्ताका शिक्षक पुरानै ढंगले चल्न खोजे । नयाँ पुस्ताका शिक्षकले पनि नयाँ शैली अपनाउने हिम्मत जुटाएनन् ।

प्रतिभा र क्षमता चिन्न नसकिरहेका शिक्षक : विद्यार्थी बिहानै १० बजे विद्यालय आओस्, अनुशासित भएर चुपचाप शान्त मूर्तिजस्तै भएर बसोस्, शिक्षकले भट्याएका पाठहरू कण्ठस्थ पारोस्, जाँचमा घोकेका कुराहरू फरर्र लेखोस्, शिक्षकको चाहना यस्तै–यस्तै हुन्छ । विद्यार्थी मीठो गाउँछ, सुरिलो स्वर छ, परीक्षामा त्यसको अंक पाइँदैन, विद्यार्थीको कुनै खेलमा औधी रुचि छ, जाँचमा त्यसको मूल्यांकन हुँदैन, अभिनय गर्न सक्ने कला छ, त्यसको कुनै मूल्य छैन, सुन्दर चित्र बनाउन सक्छ, त्यसको पनि मूल्यांकन छैन, विद्यार्थीको कविता लेख्न सक्ने खुबीले उसको परीक्षामा कुनै योगदान दिएको हुँदैन । त्यसैले परीक्षामा विद्यार्थी असफल छ, शिक्षक असफल छन् र समग्रमा शिक्षा पद्धति असफल छ । 

वास्तवमा विद्यार्थीहरू सम्भावनाका खानी हुन्, उनीहरू क्षमताका धनी हुन्छन्, हरेक विद्यार्थीमा कुनै न कुनै प्रतिभा अन्तर्निहित हुन्छ । तर, शिक्षकले त्यस्तो प्रतिभाको पहिचान गर्न सकिरहेका हुँदैनन्, उनीहरूलाई प्रोत्साहन गर्न चुकिरहेका हुन्छन् । सिकाइमा नवप्रवर्तन नहुँदा शिक्षकहरू विद्यार्थीलाई केवल कोरा किताबी ज्ञान मात्र बाँड्न चाहन्छन् । यसकारण विद्यार्थी किताबको घेराभन्दा बाहिर निस्केको शिक्षकलाई पटक्कै मन पर्दैन । यसो हुँदा विद्यार्थीमा अन्तर्निहित प्रतिभाले प्रस्फूटन हुने मौका पाएन, त्यसका लागि उपयुक्त वातावरण भएन । 

शिक्षक वक्ता कि सहजकर्ता ? : शिक्षकले पढाउने होइन, सिकाउने हो । शिक्षकले सुनाउने होइन, सहजीकरण गर्ने हो, अन्तरक्रिया गर्ने हो, छलफल गर्ने हो । शिक्षकले अगाडि उभिएर फटाफट लेख्न लगाउने अनि विद्यार्थीले सारेर कण्ठ पारेर परीक्षा दिने प्रचलन पुरानो भइसक्यो । शिक्षक वक्ता र विद्यार्थी श्रोता होइनन् । शिक्षकको काम प्रश्न सोध्ने होइन, विद्यार्थीलाई प्रश्न सोध्न योग्य बनाउने हो । शिक्षक उत्प्रेरकको, मार्गदर्शकको भूमिकामा रहने हो । युवा शिक्षक पनि पुरानो पुस्ताकै शिक्षकको अनुसरण गरिरहेका छन्, पृथक पहिचान दिन सकेका छैनन् । 

किन खस्कियो शैक्षिक गुणस्तर ? : शैक्षिक गुणस्तर खस्किनुका कारण सरल छन्, विद्यार्थीमैत्री शिक्षण सिकाइ भएन, विद्यार्थीको रुचि, क्षमता, आवश्यकताअनुसार पठनपाठन गरिएन । शिक्षक र विद्यार्थीले सोच्ने तौरतरिका मिलेन, विद्यार्थीको भावनाको कदर भएन, शिक्षक बदलिँदो समयसँग समायोजन हुन सकेन । शिक्षक न आफू बदलिन सक्यो, न विद्यार्थीलाई बदल्न सक्यो । नीतिहरू समयसापेक्ष भएनन्, मूल्यांकन प्रणाली पुरानै ढर्राबाट चल्यो, शिक्षण सिकाइका तौरतरिका बदल्न सकिएन । नवीनतम प्रविधिको सदुपयोग गर्न सकिएन, समाजले शिक्षकलाई इज्जत दिन जानेन, सरकारले तालिम दिएन, प्रशिक्षण दिएन, विज्ञहरूले बाटो देखाएनन् । स्थानीय सरकारहरू सक्रिय भएनन्, राज्यले शिक्षा क्षेत्रलाई महत्व दिएनन् । कार्यसम्पादनमा आधारित तलब सुविधा भएन, दण्ड र पुरस्कारको नीति अवलम्बन गरिएन । शिक्षकमाथि राजनीति गरियो, शिक्षा क्षेत्रमा राजनीतीकरण गरियो । विद्यालय व्यवस्थापन समिति नातागोताको व्यवस्थापनमा अल्झियो, संघीय सरकार दायित्वबाट पन्छियो, स्थानीय सरकारको आँखा नियुक्ति, सरुवा, बढुवामा अल्झियो । 

पुरानो पुस्ताका शिक्षकलाई स्वैच्छिक अवकाशको चाँजोपाँजो मिलाइएन, उनीहरूलाई नयाँ प्रविधिसँग साक्षात्कार गराइएन । नयाँ–नयाँ प्रतिभालाई शिक्षण पेसामा भित्रिने गरी नीति निर्माण गरिएन । शिक्षणलाई रोजाइ र आकर्षणको पेसा बनाउन सकिएन । शिक्षकको मनोबल उकास्न सकिएन, आत्मबल बढाउन खोजिएन । यावत् छन्, कारण ।

अन्त्यमा,
शिक्षकले विद्यार्थीको मन जित्नुको, विद्यार्थीलाई सिक्ने वातावरण सिर्जना गर्नुको विकल्प छैन । शिक्षकले ज्ञानको दायरा नबढाई सुख छैन, अध्ययनशील नबनी सुख छैन । नयाँ–नयाँ विधि र प्रविधिको प्रयोग नगरी शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुनेछैन । समाजले शिक्षकलाई इज्जत दिनुपर्‍यो, शिक्षकको सामाजिक मर्यादाप्रति समाज संवेदनशील रहनुपर्‍यो । अब शिक्षकसँग कार्यसम्पादन करार सम्झौता गर्नुपर्छ, कार्यसम्पादनमा आधारित सेवा सुविधाको व्यवस्था गर्नुपर्छ, नतिजामा आधारित बढुवा प्रणाली अंगीकार गर्नुपर्छ । शिक्षकको बढुवामा सहकर्मी, विद्यार्थी र अभिभावकलाई सहभागी गराई शिक्षकलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्छ, पुस्तान्तरणले ल्याएका समस्याहरू समाधान गर्नुपर्छ । शिक्षकहरू बदलिँदो परिवेशमा समायोजन र अन्तर्घुलन हुन सक्नुपर्छ । 

(लेखक शिक्षक तथा अधिवक्ता हुन्)