मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार ०७:३५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सबै प्रदेश र ६७ जिल्लामा खनाल–नेपाल समूहको समानान्तर कमिटी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार ०७:३५:००

एमालेमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नौ प्रदेश (दुई गैरभौगोलिक), ६७ जिल्ला कमिटी, दुई महानगर कमिटी र पाँच जनवर्गीय संगठनको केन्द्रीय कमिटी पुनर्गठन गर्दै समानान्तर कमिटी बनाएको छ । 

गत ४ र ५ चैतको राष्ट्रिय भेलाको निष्कर्षबमोजिम प्रदेश, जिल्ला र जनसंगठन पुनर्गठन गर्ने अभियानलाई तीव्रता दिइएको जानकारीसहित खनाल–नेपाल समूहले आन्तरिक सर्कुलर जारी गरेको छ । वरिष्ठ नेता नेपालले सर्कुलरमार्फत कमिटी पुनर्गठन अभियानलाई वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुईमहिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । 

२१ चैतमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले देशव्यापी रूपमा सो अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान सञ्चालनका लागि वैशाख दोस्रो सातासम्म प्रदेश, जिल्ला र जनसंगठनलाई बैठक राखेर वडा तहसम्मको योजना बनाउन नेपालले निर्देशन दिएका छन् । 

अभियानअन्तर्गत उपत्यकामा ९ वैशाखमा पार्टी स्थापना दिवसका सन्दर्भमा ‘प्रधानमन्त्री केपी ओलीले गरेको पार्टी विखण्डन र विसर्जनकारी कार्यका विरुद्ध’मा विशेष कार्यक्रम गर्ने, १३ वैशाखमा विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आयोजना गर्ने, ३ जेठमा मदन–आश्रित स्मृति दिवसमा चितवनमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ । त्यस्तै, खनाल–नेपाल समूहले एक सय चारजना केन्द्रीय सदस्यका लागि कार्यविभाजनको गृहकार्य पनि अगाडि बढाएको छ ।

रुपन्देहीमा मंगलबार बन्यो समानान्तर कमिटी

बुटवल/नेकपा एमालेको खनाल–नेपाल समूहले रुपन्देहीमा दुई सय पाँच सदस्यीय समानान्तर कमिटी बनाएकोे छ । मंगलबार एमाले उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा खनाल–नेपाल समूहले राजु गुरुङको अध्यक्षतामा रुपन्देही कमिटी घोषणा गरेको हो । 

जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङको भनाइ छ । क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजकसमेत तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले जानकारी दिए । देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणालाई तीव्रता दिएको छ । 

ओलीलाई सच्चिने मौका छ : सचिव ज्ञवाली
नेकपा एमाले रुपन्देही विस्तारित बैठक तथा समानान्तर समिति घोषणलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन अझै मौका रहेको बताए । उनले पार्टी जोगाउन आफूहरू तयार रहेको बताउँदै सर्वोच्च अदालतले फागुन २३ गतेको निर्णयका आधारमा २०७५ जेठ २ मा फर्किए पार्टी जोगिने बताए । 

उनले अहिले पनि आफूहरू एमाले पार्टीको एकता र कम्युनिस्ट आन्दोलन बचाउनुपर्ने पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीका कारण मुलुकको भविष्य र कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको धारणा उनले राखे । 

अध्यक्ष ओलीबाट ६ महिने निलम्बनमा परेका उपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलन खतरामा परेको बताए । ‘२०१७ सालमा पुष्पलाल जसरी कम्युनिस्ट पार्टी जोगाउन लाग्नुभयो, अहिले हामी त्यही अवस्थामा छौँ,’ भुसालले भने ‘हामी पार्टी बचाउन लागिपरे पनि ओलीका गतिविधि त्यसविपरीत छन् ।’ 

सर्वोच्चको २३ फागुनको गतेको निर्णयले प्रधानमन्त्री ओलीलाई बचाएको भन्दै उनले २८ फागुनमा आफ्नो गुटको बैठक राखेर ओलीले मनलाग्दी पदाधिकारी खारेज गरेको जिकिर गरे । ‘यहीँबाट पार्टी सक्ने खेल सुरु भयो,’ उनले भने । नेता भुसालले पार्टी बर्बादी हुनबाट जोगाउन र एमालेलाई ओलीको कदमबारे जानकारी दिन देशैभर कार्यक्रम सञ्चालन गरिरहेको बताए । 

समानान्तर कमिटीका अध्यक्ष

प्रदेश १ : ताप्लेजुङ– बलबहादुर साम्सोहाङ, पाँचथर– कमल जगेबु, इलाम– भक्त केसी, झापा– देवराज रेग्मी, मोरङ– चन्द्रवीर राई, सुनसरी– रमेश बस्नेत, धनकुटा– अर्जुन राई, तेह्रथुम– लक्ष्मण तिवारी, संखुवासभा– हेमराज घिमिरे, भोजपुर– शरण राई, खोटाङ– बबी चाम्लिङ, उदयपुर– ईश्वरमणि राउत, ओखलढुंगा– हर्कबोल राई, विराटनगर महानगरपालिका– पारुल क्षेत्री

प्रदेश २ : सप्तरी– गोविन्द न्यौपाने, सिराहा– प्रमोदनारायण यादव, धनुषा– रामचन्द्र पण्डित, सर्लाही– रेवती पन्त, रौतहट– कमल राय यादव, बारा– सुन्दर विश्वकर्मा, पर्सा– बालगोपाल थापा

बागमती प्रदेश : सिन्धुली– सूर्य पाख्रिन, रामेछाप– शान्ति पौडेल, दोलखा– भीम दाहाल, काभ्रे– टोकबहादुर बाइवा, सिन्धुपाल्चोक– झंक नेपाल, नुवाकोट– नारायण खतिवडा, धादिङ– शिवराज कँडेल, मकवानपुर– मुनु सिग्देल, चितवन– तेजेन्द्र खड्का, काठमाडौं– वसन्त मानन्धर, ललितपुर– हरिकृष्ण थापा, भक्तपुर– रजन केसी, रसुवा– पेम्बा तामाङ 

गण्डकी प्रदेश : गोरखा– यादव बस्नेत, तनहुँ– शंकरनारायण श्रेष्ठ, लमजुङ– रामबाबु अधिकारी, म्याग्दी– बालकृष्ण सुवेदी, बाग्लुङ– इन्द्रलाल सापकोटा, पर्वत– भक्त कुँवर, कास्की– धनराज आचार्य, स्याङ्जा– रामचन्द्र भट्टराई, नवलपरासी पूर्व– धनञ्जय शर्मा, पोखरा महानगरपालिका– मुक्तिनाथ पौडेल 

लुम्बिनी प्रदेश : रुपन्देही– राजु गुरुङ, गुल्मी– सोमनाथ सापकोटा, अर्घाखाँची– रामबहादुर चौहान, दाङ– टीकाराम खड्का, प्युठान– भोजविक्रम बुढामगर, पूर्व रुकुम– भिउमान घर्ती, रोल्पा– हरि घर्ती, बाँके– अशोक कोइराला, बर्दिया– प्रेमप्रसाद पोखरेल, परासी– शिवलाल कँडेल

कर्णाली प्रदेश : सुर्खेत– ध्रुव शाही, दैलेख– नरनाथ योगी, सल्यान– उदय बोहोरा, पश्चिम रुकुम– विमल पुन, मुगु– धर्मराज शाही, जाजरकोट– करवीर शाही, जुम्ला– तीर्थ बुढा, हुम्ला– दल रावल

सुदूरपश्चिम प्रदेश : बैतडी– महादेव भट्ट, डडेलधुरा– डा. तारा जोशी, कञ्चनपुर– तारा लामा, कैलाली– दीर्घ सोडारी, अछाम– शेरबहादुर कुँवर, डोटी– चक्र मल्ल, बाजुरा– गगन रावल, बझाङ– दिलबहादुर सिंह
 
प्रदेशका संयोजकहरू 
प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला, सुदूरपश्चिममा भीमबहादुर रावल, सम्पर्क समन्वय कमिटीमा बेदुराम भुसाल, उपत्यका विशेषमा डा. विजय पौडेल

पाँच जनसंगठनमा पनि समानान्तर कमिटी 
अनेमसंघमा जयन्ती राई संयोजक रहेको तीन सय ८० सदस्यीय, राष्ट्रिय युवा संघ नेपालमा नरेश शाही संयोजक रहेको पाँच सय एक सदस्यीय, अनेरास्ववियुमा सुदेश पराजुली संयोजक रहेको पाँच सय एक सदस्यीय कमिटी पुनर्गठन त्यस्तै, खेलकुद महासंघमा पुरुषोत्तम पौडेल संयोजक रहेको दुई सय पाँच सदस्यीय, उत्पीडित जातीय मुक्ति समाजमा गणेश विश्वकर्मा संयोजक रहेको दुई सय ७१ सदस्यीय कमिटी