मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेमलकुमार खनाल
२०७७ चैत ३१ मंगलबार ०९:०९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्टमा दक्षिणपन्थी अवसरवाद

Read Time : > 3 मिनेट
प्रेमलकुमार खनाल
२०७७ चैत ३१ मंगलबार ०९:०९:००

विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो अन्तर्राष्ट्रिय केन्द्रको निर्माणदेखि नै दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक संघर्ष हुँदै आएको छ । दक्षिणपन्थी अवसरवादले विशेषतः माक्र्सवादले अगाडि सारेको पुँजीवादविरुद्धको वर्गसंघर्षलाई भुत्ते बनाउने, सर्वहारा श्रमजीवी वर्गको राज्यसत्तामा अधिनायकत्वलाई अस्वीकार गर्ने, पुँजीवादी व्यवस्थामा सुधार गरेर समाजवाद स्थापना गर्न सकिने मान्यता अगाडि सारेर क्रान्तिको अनिवार्य नियमलाई अस्वीकार गर्ने गर्छ । एक देशमा मात्रै समाजवाद स्थापना हुन सक्तैन भन्ने दृष्टिकोण अगाडि सार्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि वर्गसंघर्ष र क्रान्तिलाई अनिवार्य मान्ने माक्र्सवादी मान्यतालाई अस्वीकार गर्छ । लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अस्वीकार गर्छ । पार्टीभित्र छुट्टै गुटबन्दी अभ्यास गरेर आफ्नो शक्ति आर्जन गर्छ, संगठनात्मक विधिलाई अस्वीकार गर्छ । दक्षिणपन्थी अवसरवादले सर्वहारा श्रमजीवीको भूमिकालाई क्रान्तिमा निर्णायक ठान्दैन । 

विश्व कम्युनिस्ट आन्दोलनभित्र देखा परेको दक्षिणपन्थी अवसरवादका विरुद्ध कार्ल मार्क्स, एंगेल्स र लेनिनले तीव्र वैचारिक संघर्षको नेतृत्व गरे । सन् १८६४ मा गठन भएको पहिलो, सन् १८८९ मा गठन भएको दोस्रो र सन् १९१८ मा गठन भएको तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय केन्द्रभित्र दक्षिणपन्थी अवसरवादका विरुद्धको संघर्षले मार्क्सवादको सत्यतालाई झन् तिखार्ने काम गर्‍यो । रुसी क्रान्तिका क्रममा लेनिनले दक्षिणपन्थी अवसरवादको विचारका वाहक नरोदवाद र मेन्सेविकका विरुद्ध भीषण ढंगले वैचारिक संघर्ष गरेकै परिणामस्वरूप रुसमा फरवरी क्रान्ति हुँदै अक्टोबर क्रान्ति सफल भएर समाजवाद स्थापना गर्न सफलता प्राप्त भएको थियोे । 

नवौँ महाधिवेशनले ‌पुँजीवादी क्रान्ति सम्पन्न भएको र समाजवादी क्रान्ति गरेर समाजवाद स्थापनाको दिशामा अगाडि बढ्ने कार्यदिशा पारित गरे पनि राजनीतिक प्रतिवेदनमा असहमति जनाएका ओली नै अध्यक्षमा निर्वाचित भए

स्टालिनको निधनपछि सत्ता र पार्टीमा खुस्चेभ नेतृत्वमा आए । उनले समाजवाद निर्माणको अभियानमा संशोधनवाद र दक्षिणपन्थी अवसरवादी बाटो लिए । रुसी कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनमा खुस्चेभले प्रस्तुत गरेको महान् बहस नाम दिइएको प्रतिवेदनले स्टालिनका योगदानलाई नामेट पारेर वर्ग समन्वयवादी धारबाट कम्युनिस्ट पार्टीलाई सञ्चालन गर्ने दृष्टिकोण अगाडि सार्‍यो । यहीबीच, सन् १९६० मा विश्वका कम्युनिस्ट पार्टीहरूको सम्मेलन भयो । त्यस सम्मेलनमा खुस्चेभले अब सर्वहारा वर्गको होइन, सम्पूर्ण जनताको राज्य, शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण समाजवादको पक्षमा वकालत गरे । त्यो लाइनलाई माओले खुलेर विरोध गर्दै मार्क्सवादी लेनिनवादी सिद्धान्त र आदर्शबाट कम्युनिस्ट पार्टी सञ्चालन गर्नुपर्ने भन्दै वर्गसंघर्ष र सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वको पक्षमा जोडदार विचार राखे । यही बहस र विवादले नै विश्व कम्युनिस्ट आन्दोलनमा दुई धारा समाजवादी चीन र खुस्चेभको संशोधनवादी धारा देखा पर्‍यो । यसपछि विभिन्न देशका कम्युनिस्ट आन्दोलनमा अन्तरसंघर्ष सुरुआत भयो । यही अन्तरसंघर्षले कम्युनिस्ट पार्टीहरू विभाजित र पुनर्गठित पनि भए ।

खुस्चेभले विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी एवं दक्षिणपन्थी विचारधारा फैलाएको ३० वर्ष पुग्दानपुग्दै सन् १९९० मा सोभियत संघमा गोर्वाचोभको नेतृत्वमा कम्युनिस्ट पार्टी विघटन भयो । समाजवादी व्यवस्थाको ठाउँमा पुँजीवादको पुनरुत्थान भयो । संशोधनवादी एवं दक्षिणपन्थी धारले समाजवाद निर्माणको सवालमा चुनौती खडा गरिदियो । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको नेतृत्वको सवाल र वर्गसंघर्षको सवाललाई बेवास्ता गरेर शान्तिपूर्ण सहअस्तित्व र वर्ग समन्वयको लाइन समातेका कारण नै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद मौलायो ।

नेपालमा पुष्पलालको अगुवाइमा ००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपश्चात्को पहिलो महाधिवेशनदेखि नै पार्टी स्थापनाका प्रस्थापनाहरूमा संशोधनवादी धारा देखा परेको हो । रुसमा १९६० मा भएको कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालबाट केशरजंग रायमाझी गएका थिए । रुसबाट आएपछि उनले रुसी संशोधनवादी धाराबाट पार्टीलाई अगाडि बढाउने लाइन अगाडि सारे । तर, दोस्रो महाधिवेशनमा पुष्पलालले अगाडि सारेको कार्यनीति पारित भयो, महासचिवमा भने राजापरस्त रुझान राख्ने केशरजंग निर्वाचित भए । ०१७ सालामा राजा महेन्द्रले फौजी कदम चालेपछि राजनीतिक दलहरू प्रतिबन्धित भए । केशरजंग रायमाझीले राजापरस्त नीति लिए । ०१७ फागुनमा नेपाल कम्युनिस्ट पार्टीको भारतको दरभंगामा बैठक भयो । त्यो प्लेनममा पुष्पलालले पुनस्र्थापनाको राजनीतिक लाइन अगाडि सारेका थिए भने रायमाझीले संवैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको लाइन र मोहनविक्रम सिंहले संविधानसभाको लाइन लिए । प्लेनमले पार्टीको तेस्रो महाधिवेशन गर्ने फैसला गर्‍यो । ०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनमा पुष्पलालले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा अडिग रहने र संसद् पुनर्स्थापनाका लागि संघर्ष गर्ने विचार अघि सारे, तुल्सीलालको कतै पनि रुझान नराख्ने र सर्वसत्तासम्पन्न संसद्को नीति रह्यो भने रायमाझीले खुस्चेभको नीतिलाई अगाडि सारे । जसकारण तेस्रो महाधिवेशनले रायमाझीलाई पार्टीबाटै निष्कासन गर्‍यो ।

बीसको दशकमा दक्षिणपन्थी अवसरवादविरुद्धको वैचारिक संघर्षबाट विभाजित कम्युनिस्ट आन्दोलन तीसको दशकबाट को–अर्डिनेसन केन्द्र, केन्द्रीय न्युक्लियस हुँदै विभिन्न धाराबाट गठन, पुनर्गठन र एकीकरण हुँदै अगाडि बढ्यो । पचासको दशकमा आइपुग्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कम्युनिस्ट आन्दोलनमा मुख्य धाराको रूपमा विकास भए । ०६२–६३ को गणतान्त्रिक आन्दोलनका क्रममा नेकपा एमालेभित्र दक्षिणपन्थी रुझान प्रकट भयो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा लिएको स्थितिमा केपी ओलीलगायत केही नेतृत्वले गणतन्त्रमा जान असहमति नै प्रकट गरेको स्थिति थियो । अझ अगाडि बढेर केपी ओलीले त ठेला गाडा चढेर अमेरिका पुग्न नसकिने, गणतान्त्रिक आन्दोलनबाट राजतन्त्रको अन्त्य सम्भव नहुने भन्दै प्रकारान्तरले गणतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाउने दृष्टिकोण अगाडि सारे । 

नेकपा एमालेमा छैटौँ महाधिवेशनदेखि नै ओलीले गुटबन्दीका गतिविधि सुरुआत गरेका हुन् । सातौँ महाधिवेशनमा गुटबन्दी त्यति झांगिन पाएन । तर, त्यसपछि मदन भण्डारी फाउन्डेसन खोलेर संस्थागत रूपले सुरुआत गरेको गुटबन्दीको अभ्यास आठौँ महाधिवेशनमा पनि परास्त भयो । नवौँ महाधिवेशनले ‌पुँजीवादी क्रान्ति सम्पन्न भएको र समाजवादी क्रान्ति गरेर समाजवाद स्थापनाको दिशामा अगाडि बढ्ने कार्यदिशा पारित गरे पनि राजनीतिक प्रतिवेदनमा असहमति जनाएका ओली नै अध्यक्षमा निर्वाचित भए । नीति एउटाले पेस गर्ने र पारित हुने, तर नेतृत्वमा अर्कै निर्वाचित हुनुले नै दोस्रो महाधिवेशनको पुनरावृत्ति गरेको हो । महाधिवेशनबाट निर्वाचित नेतृत्वले पारित कार्यदिशाअनुरूप पार्टीलाई अगाडि बढाउनुपर्ने अभिभारा थियो, तर नवौँ महाधिवेशनको कार्यदिशाअनुरूपको वैचारिक काम पार्टीभित्र हुन सकेन । पार्टीभित्र गुटबन्दीपूर्ण स्थिति रहेकै अवस्थामा एकताको सैद्धान्तिक, वैचारिक आधार र कार्यदिशाबारेमा पार्टीमा कुनै छलफल र जानकारी नदिई निर्वाचनबाट पार्टी विजयी भएमा प्रधानमन्त्री र एकताबाट पार्टी अध्यक्ष आफैँ हुने गरी माओवादीसँग एकताको सहमति ओली एक्लैले गरेको स्थिति थियोे । 

एकतापछि पार्टी सञ्चालनमा लेनिनवादी सिद्धान्त र विधानविपरीतका कार्यशैलीले दक्षिणपन्थी, विसर्जनवादी, अवसरवादी, विखण्डनकारी, व्यक्तिवादी, सर्वसत्तावादी सोच, गतिविधि र प्रवृत्ति प्रकट भए । त्यसले एकता मात्रै टुटाएन, नेकपा एमालेलाई नै गम्भीर संकटको स्थितिमा पुर्‍याएको छ । व्यक्तिवादी, गुटवादी, कम्युनिस्ट सिद्धान्तविपरीतका गतिविधि र नवउदारवादी अर्थनीतिको आडमा सरकारले अगाडि सारेको नीति, कार्यक्रम र बजेटले दलाल पुँजीवाद मौलाएको छ । अदालतको फैसलापछि नेकपा एमाले २ जेठ ०७५ को स्थितिबाट अगाडि बढ्न जरुरी थियो । तर, आफ्नो गुटनजिकका व्यक्तिलाई मात्रै बोलाएर विधानविपरीत विभिन्न निर्णय गरेर एमालेमै विखण्डन रोप्ने काम भएको छ । त्यसैले अब पार्टीभित्र हुर्केको बुर्जुवाकरण, व्यक्तिवाद, नेताविशेषको देवत्वकरण गर्ने प्रवृत्ति, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध व्यापक वैचारिक संघर्ष गर्दै पार्टीलाई समाजवादी क्रान्तिको अगुवाइ गर्न सक्षम बनाउने दिशामा एमाले पंक्ति अगाडि बढ्न आवश्यक छ । 

(खनाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)