मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
यसै वर्ष रिलिज भएको ‘एउटा यस्तो प्रेम कहानी’को एक दृश्यमा शक्ति श्रेष्ठ र कविता मानन्धर
नवीन प्यासी काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०८:४२:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमाका लागि निराशामा गुज्रिएको वर्ष

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०८:४२:००

‘यस वर्ष नेपाली सिनेमामा लकडाउन भयो । सिनेमामा मात्रै होइन, हाम्रो चेतनामै लकडाउन भयो,’ निर्देशक मनोज पण्डित सुरुवातमै भन्छन् । ०७७ साल निराशाजनक रहेकोप्रति पण्डितको गुनासो त छँदै थियो, साथमा उनी सिने क्षेत्रको चेतनामा पनि प्रश्न गरिरहेका थिए । किनभने यस वर्ष सिनेमा त प्रदर्शन भएनन्, तर लफडाहरूले भने त्यसको अभाव परिपूर्ति गरिरह्यो । पण्डितको आसय यस्तो संकटको वेला सिने क्षेत्रलाई कसरी ब्युँताउने, राम्रो अवस्थामा कसरी फर्काउनेबारे छलफल हुनुपर्थ्यो । एक किसिमको आयातीत कथ्य शैलीले दिगमिगलाग्दो बनेको सिने क्षेत्रलाई कसरी नयाँ गोरेटोमा लैजाने, त्यसमाथि विमर्श हुनुपर्थ्यो । तर, गसिपमा मात्रै सीमित रह्यो नेपाली सिने क्षेत्र । विविध गसिपमा अल्झिएर स्टार (घोषित) कलाकारले आफ्नो स्टारडमको ढोल पिटेर हिँडे । ‘हाम्रो सिने क्षेत्र त्यही पुरानो व्यावसायिकताको गफमा अल्झियो । जसको औचित्य अब सकिएको छ, हामीले नयाँ बाटो पहिल्याउनुपर्ने बाध्यता आइलागेको छ । नत्र सिने क्षेत्र उकासिन धेरै नै कठिन छ,’ पण्डित भन्छन् । 

हो, नेपाली सिने क्षेत्रमा ‘खास’ सिनेमा प्रदर्शन भएनन् । अघिल्ला वर्षहरूमा पनि ‘खास’ सिनेमा आउने गरेका थिएनन् । हामीले खोजेको ‘खास’ सिनेमा दुई दशकअघिदेखि हो । हाम्रो पहिचान, सौन्दर्य खोजेको त्यतिवेलैदेखि हो । छिरिङरितार शेर्पा, नवीन सुब्बाहरू दुई दशकअघि नै ‘मुकुण्डो’, ‘नुमाफुङ’जस्ता सिनेमा लिएर आएका थिए । बीचमा लामो अन्तरालपछि आए मीन भाम, दीपक रौनियारहरू ‘कालो पोथी’, ‘सेतो सूर्य’जस्ता सिनेमा लिएर । यी सिनेमा तिनै हुन्, जो अहिले नेपाली सिनेमा भनेर सिनेप्रेमीले गर्व गर्छन् । 

‘मुकुण्डो’मार्फत फरक शैलीमा कथा भन्न खोजेको शेर्पाको भनाइ छ, ‘हामीले त्यतिवेलै नेपाली सिनेमाको नयाँ गोरेटो खोजेका थियौँ । तर, बीचमा हामी पनि बरालियौँ, अरू पनि बरालिए । दुई–चारजनाले ठूलो गोरेटो निर्माण गर्न कसरी सक्नु ?’ शेर्पाको आसय हो, दुई–चारजनाले सिनेमाको गोरेटो निर्माण गर्न सक्दैनन् । त्यसका लागि त लहर आउनुपर्छ । दर्शकलाई जोडिइरहन हरेक वर्ष त्यस्तो सिनेमा आइरहनुपर्छ । केही समयअघि शेर्पाले झैँ नयाँ पुस्ताका निर्देशक मीन भामले पंक्तिकारलाई भनेका थिए, ‘हाम्रोमा ग्याप भयो । सन् ०१५ मा मैले ‘कालोपोथी’ ल्याएँ, ०१६ मा दीपकले ‘सेतो सूर्य’ ल्यायो, त्यसपछिका वर्षमा अरू कसैले ल्याउनुपथ्र्यो ।’ त्यो ग्यापले निरन्तरता रोक्ने अथवा दर्शकलाई रोकिदिने शेर्पा र मीनको भनाइ हो । तर, त्यो जोखिम लिएर छुट्टै अनुहारसहितको नेपाली सिनेमा निर्माण गरेर निरन्तरता दिने हिम्मत कसको ? 

मनोज पण्डित, फिल्म निर्देशक

यो वर्ष दु:खद अवस्थामा गुज्रियो । एक किसिमको आशाविहीनतामा गुज्रियो । जे–जे घटनाको साक्षी भइयो, त्यसले झनै निराशा थपियो ।

नेपाली सिने क्षेत्र साढे दुई सय करोड लगानी गर्न तयार छ । वर्षमा सय चलचित्र बन्छन् । वर्षमा साढे दुई अर्ब लगानी गर्छ । तर, सिनेमा बनाउँछ, जुन सिनेमाले नेपाली समाज र सौन्दर्यसँग दूरी बनाउँछ । यहीबीचमा आइपुग्छन् निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, दीपेन्द्र लामाहरू । जसले त्यही जगमा उभिएर आफूलाई फरक प्रमाणित गरिदिन्छन् । तर, वाार्षिक सय सिनेमाका सय निर्देशकमा ९६ निर्देशक खोई ? हल सञ्चालक नकिम उद्दिन भन्छन्, ‘हाम्रो सिनेमामा शिक्षित मान्छे कम छन् । त्यसैको परिणति हो यो । अहिले नेपाली सिनेमाले नयाँ गोरेटो खोजिरहेको छ, त्यो गोरेटो खन्न अग्रसर भएनौँ भने हाम्रो सिनेमा मात्रै मर्ने छैन, धेरै थोक मरेर जानेछ ।’ 

उद्दिन नेपाली सिनेमाको पुनर्परिभाषा आवश्यक देख्छन् । हिजोजस्तो सिनेमा बन्थे, अब त्यस्तै सिनेमा दर्शकको प्रिय बनिरहनेमा शंका छ उद्दिमको । तर, सानोतिनो परिवर्तनले त्यसलाई बदल्छ जस्तो लाग्दैन उनलाई । उनी ठूलो उथलपुथलको आवश्यकता देख्छन् । उद्दिम उनै हुन्, जसको हल एक वर्षदेखि बन्द छ । हलका पर्दा खोलिए पनि दर्शकका कुर्सी खाली छन् । हलको भाडा थपिएको थपियै छ । तर, यसको समाधान एउटै हो– राम्रो सिनेमा प्रदर्शन हुनुप-यो । तर, यसका लागि अहिले देखिएको परिदृश्यले केही गर्लाजस्तो छाँटकाँट देख्दैनन्, भन्छन्, ‘छक्कापन्जा चल्यो, त्यस्तै दर्जनौँ सिनेमा बनाइदिन्छन् । अनि कसरी आउँछन् र दर्शक हलसम्म ! निर्देशकले त नयाँ आइडियासहित कथा भन्नुप-यो । के हाम्रोमा कथाको खाँचो छ र ?’ उनी उदाहरण पनि दिन्छन्, कोरियन, इरानियन सिनेमाहरूको । तर, कथा खोज्नलाई सिर्जनशीलता र नयाँ दृष्टिकोण चाहिन्छ, त्यसैको अभाव देख्छन् उनी । 

दृष्टिकोणको विषय आउँदै गर्दा एक प्रसंग यहाँ उल्लेखनीय देखिन्छ । गत लकडाउनमा एक कलाकारलाई एक पत्रकारले ‘दाह्रा भएकी नायिका’ भनेर सम्बोधन गरे । उक्त सम्बोधनको सिने क्षेत्रका धेरै कलाकारले प्रतिरोध गरे । ती पत्रकारको कार्यक्रममै नजाने घोषणा गरे । तर, त्यो घटनाभन्दा थोरैअघि कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार भुवन केसीलाई दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनको त्यो विद्रोही आवाजमा भने कसैको आवाज निस्केन । सबैले मौनता साँधिदिए । सायद, यस्तै परिदृश्यबाट आजित भएर पण्डित भन्छन्, ‘हाम्रो चेतनामै लकडाउन भएको छ ।’ 

साथमा पण्डित थप्छन्, ‘यस वर्ष निराशामय बित्यो । हामीले हिँड्नुपर्ने अर्कै बाटो थियो, तर हामी अर्कै बाटोमा रुमल्लियौँ ।’ नरुम्मलिउन् पनि कसरी, विविध लफडा र बखेडामा गुज्रियो ०७७ साल । हलहरूमा माकुरोले जालो लगाए । हल सञ्चालकले कर्मचारीलाई तलब दिन सकेनन् । प्राविधिकहरू काठमाडौंमा बस्नै नसक्ने अवस्थामा पुगे । कत्ति त घर फिरे, जो अहिलेसम्म फिरेका छैनन् । ती प्राविधिकहरू उनीहरू नै थिए, जसले बीसौँ वर्षदेखि पसिना बगाएका थिए, कसैलाई सेलेब्रिटी बनाउनका लागि । उनै सेलेब्रिटीहरू भने विविध लफडाका कारण चर्चाको शिखरमा थिए । सिने क्षेत्र तहसनहस भएको थियो ।

यही समयमा संसारमा भने सिनेमाको अबको नयाँ भाष्यमाथि बहस भइरहेको थियो । छिमेकी भारतमै पनि सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि नयाँ प्रश्नहरू जन्मिएका थिए । नातावादका कारण अवसर पाएर राम्रा प्रतिभालाई छायामा पारेकाहरूले गाली खाइरहेका थिए । यही वर्ष ‘सिनेमा मन्थन’ नामक पुस्तक ल्याएका पण्डित भन्छन्, ‘यस वर्ष यस्तै दु:खद अवस्थामा गुज्रियो । एक किसिमको आशाविहीनतामा गुज्रियो । जे–जे घटनाको साक्षी भइयो, त्यसले झनै निराशा थपियो ।’ 

पण्डितको भनाइमा निर्देशक दीपेन्द्र के खनाल थप्छन्, ‘यो वर्ष त यसरी नै गयो, अझै अर्को वर्षको पनि आस छैन । तर, आशा गरौँ, राम्रो हुनेछ ।’ यस वर्षको यस्तै किसिमको उमुसमुकुसतालाई पर्गेल्न आफूले ‘चिसो मान्छे’ सिनेमाको स्क्रिप्ट र छयांकन सकेको र यही प्रोजेक्टले निराशा र आशाविहीनतालाई भुल्न सजिलो बनाएको खनालको भनाइ छ ।