मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ३० सोमबार १०:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुम्लामा राजस्व संंकलन लक्ष्यभन्दा बढी, आठ महिनामा साढे १९ करोड संकलन

Read Time : > 1 मिनेट
२०७७ चैत ३० सोमबार १०:३०:००

चालू आर्थिक वर्षको ८ महिनामा जुम्लामा राजस्व संकलन उत्साहजनक देखिएको छ । जुम्लामा चालू आवको फागुनसम्म १९ करोड ५८ लाख ३७ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतले बताए ।

उनका अनुसार ८ महिनामा १३ करोड ७५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । उनले भने, ‘चालू आवमा जुम्लामा २५ करोड ६० लाख १० हजारबराबर राजस्व संकलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्म मात्रैको राजस्व संकलन गर्दा जेठसम्मको लक्ष्य पुगेको छ ।’

जुम्लामा आन्तरिक राजस्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजस्व संकलन उत्साहजनक भएको उनको भनाइ छ । जुम्लाका ९ हजार १ सय ७० जनाले व्यावसायिक प्यान लिएका छन् । जसमध्ये १ हजार १ सय ४१ जना व्यवसायी भ्याटमा दर्ता भएका छन् । ७ हजार ५ सय २५ जनाले हालसम्म व्यक्तिगत प्यान लिएको तथ्यांक छ ।

कुन शीर्षकमा कति राजस्व ?
आन्तरिक राजस्व कार्यालय जुम्लाले विभिन्न २५ शीर्षकमा कर संकलन गरेको छ । कर्णालीका जुम्ला, मुगु र कालिकोट कार्यक्षेत्र रहेको कार्यालयले ८ महिनामा साढे १९ करोड राजस्व संकलन गर्नुले कर्णालीमा आर्थिक गतिविधि बढेको स्पष्ट छ । तथ्यांकअनुसार सबैभन्दा बढी परामर्श तथा ठेक्कातर्फको मूल्य अभिवृद्धि कर ६ करोड ४९ लाख ३५ हजार संकलन भएको छ ।

पारिश्रमिक करतर्फ ४ करोड १७ लाख ३२ हजार, एकलौटी फर्म तथा व्यक्तिगत आयकरतर्फ ३ करोड ५७ लाख १६ हजार, सामाजिक सुरक्षातर्फ १ करोड ६७ लाख ३९ हजार राजस्व संकलन भएको छ ।त्यस्तै, पुँजीगत लाभकरतर्फ ३५ लाख ३४ हजार, प्राइभेट लिमिटेडतर्फको मुनाफा करतर्फ २६ लाख ६० हजार, सम्पत्ति, बहाल तथा पट्टा करतर्फ ३५ लाख १ हजार, ब्याजमा लाग्ने करतर्फ २६ लाख ४४ हजार २ सय र अन्तःशुल्क मदिरातर्फ ४३ लाख ५६ हजार ८ सय गरी विभिन्न २५ शीर्षकबाट साढे १९ करोड बढी राजस्व कोभिडकै बीच संकलन भएको छ ।

अझै व्यवसायी तथा आमनागरिकलाई करको दायरामा ल्याउन गाउँ–गाउँमा करदाता शिक्षा सञ्चालनको तयारीमा रहेको कर अधिकृत युवराज बस्नेतले जानकारी दिए ।