Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत २९ आइतबार १९:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा नेपाल समूहको समानान्तर कमिटी

Read Time : > 2 मिनेट
२०७७ चैत २९ आइतबार १९:४२:००

एमालेको माधव नेपाल समूहले सुदूरपश्चिममा प्रदेश र जिल्ला तहमा समानान्तर कमिटी गठन गरेको छ । नेता भीम रावलको अध्यक्षतामा धनगढीमा दुई दिनसम्म भएको नेपाल समूहको विस्तारित बैठकले प्रदेश र जिल्ला कमिटीहरू गठन गर्नुका साथै वडा तहसम्म कमिटीहरू पुनर्गठन गर्ने निर्णय गरेको छ । 

सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई तोकिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले अन्य तीन नेतासहित रावललाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । बैठकका निर्णयबारे धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै रावलले एमालेलाई पुनर्जीवित गर्न वडा तहसम्मै कमिटीहरू पुनर्गठन गरिने बताए । 

कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ र डोटीमा चक्रबहादुर मल्लको अध्यक्षतामा जिल्ला कमिटी गठन भएका छन् । यस्तै, डडेल्धुरामा डा. तारा जोशीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । अछाममा शेरबहादुर कुँवर, बैतडीमा महादेव भट्ट, बाजुरामा गगन रावल र बझाङमा दिलबहादुर सिंहलाई जिल्ला अध्यक्ष तोकिएको छ । दार्चुलामा भने जिल्ला अध्यक्ष पछि तोकिने उक्त समूहले जनाएको छ । 

सुदूरपश्चिमका नौमध्ये दार्चुला, बैतडी र बाजुराबाहेक अन्य ६ जिल्लामा पहिलेकै अध्यक्षलाई जिम्मेवारी दिइएको छ । ओलीले ६ जिल्लामा नेपाल समूहका अध्यक्षलाई हटाएर आफूनिकटलाई जिम्मेवारी दिएका छन् । ओलीले कैलालीमा रतन थापालाई अध्यक्ष तोकेका छन् । एमाले हुँदा अध्यक्ष सोडारी रहेका वेला थापा उपाध्यक्ष थिए । कञ्चनपुरमा ओलीले माओवादीबाट गएका वीरबहादुर थापालाई अध्यक्ष बनाएका छन् । डोटी, बझाङ, अछाम र डडेल्धुरामा पनि निर्वाचित अध्यक्षलाई हटाएर ओलीले आफूनिकटलाई जिम्मेवारी दिएका थिए । 
    
जिल्ला अध्यक्षहरूलाई नै जिल्ला कमिटीलाई १५ दिनभित्र पूर्णता दिन निर्देशन दिइएको छ । सुदूरपश्चिममा जिल्लादेखि वडासम्म पार्टीको नवौँ महाधिवेशनअघिका कमिटीलाई नै ब्युँताइने नेता रावलले बताए । नवौँ महाधिवेशनका वेला चुनिएका प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष र अन्य पदाधिकारी नै आधिकारिक भएको नेता राववले दाबी गरे । ‘एमालेको नीति, सिद्धान्तको रक्षाका निम्ति पुराना कमिटी ब्युँताएका हौँ,’ रावलले भने, ‘वडा तहसम्मै कमिटीहरू बनाउँछौँ ।’ 

अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । ओलीले विधि र विधानविपरीत पार्टी कब्जा गर्न खोजेको भन्दै नेपाल–खनाल समूहले देशभर समानान्तर कमिटीहरू गठन गर्न थालेको छ ।
 
ओलीनिकट नेतालाई कारबाही
आन्तरिक विवादले एमाले विभाजनउन्मुख भएका वेला नेपाल समूहले समानान्तर कमिटीहरू गठन गर्नुका साथै ओली पक्षका नेताहरूलाई कारबाही गर्न थालेको छ । नेपाल समूहको प्रदेशको विस्तारित बैठकले प्रदेश अध्यक्ष कर्ण थापालाई कारबाही गरेको छ । पार्टीको विधान र नियमावली उल्लंघन गरी पार्टी विभाजनमा लागेको भन्दै थापालाई सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । उनलाई एक वर्षसम्म पार्टीको सदस्यताबाट हटाउन पनि बैठकले केन्द्रलाई सिफारिस गरेको इन्चार्ज रावलले जानकारी दिए ।

प्रदेश पार्टी कार्यालयमा गुन्डागर्दी गरेको र तोडफोडमा उत्रिएको आरोप थापामाथि लगाइएको छ । पार्टी कार्यालय प्रयोगको विषयमा विवाद हुँदा रावल र थापा पक्षबीच यसअघि झडपसमेत भएको थियो ।
    
ओलीले थापालाई पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी दिएका छन् । दुई पार्टी एकीकरणअघि रावल प्रदेश इन्चार्ज र थापा सहइन्चार्ज थिए । नेकपा हुँदा रावल इन्चार्ज र थापा अध्यक्ष थिए । ओलीले पार्टीको प्रदेश सचिवमा नियुक्त गरेका कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्रसिंह रावललाई पनि अराजक गतिविधिमा नलाग्न खनाल–नेपाल समूहले निर्देशन दिएको छ । प्रदेश इन्चार्ज रावलले पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाही गर्न जिल्ला कमिटीहरूलाई निर्देशन गरिएको बताए । 
    
सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि ओलीले रावललाई हटाएर माओवादीबाट गएका लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएका छन् । खनाल–नेपाल समूहले भने प्रदेश इन्चार्ज भट्टलाई अस्वीकार गर्दै छुट्टै समानान्तर कमिटी गठन गरेको छ । 

‘एमाले सदस्यसमेत नरहेका व्यक्तिलाई ल्याएर इन्चार्ज बनाउने कुरा हामी स्विकार्दैनौँ,’ रावलले भने, ‘पार्टीको आधिकारिक प्रदेश इन्चार्ज मै हुँ ।’ ओलीले आफूहरूमाथि गरेको कारबाही अवैधानिक रहेको उनले बताए । ‘महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर बनाइएको महाधिवेशन आयोजक कमिटी अवैध हो । त्यसैले अवैध कमिटीको अध्यक्ष पनि अवैध छन्,’ उनले भने, ‘अवैध अध्यक्षले गरेको कारबाही मान्य हुँदैन ।’