१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ चैत २९ आइतबार १०:३५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिके राउतको आरोप : मधेसकेन्द्रित दलले प्रदेश २ लाई जंगल राज्य बनाउन लागे

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ चैत २९ आइतबार १०:३५:००

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसवादी दलले प्रदेश २ लाई जंगल राज्य बनाउन लागेको आरोप लगाएका छन् । जनमत पार्टीको प्रथम महाधिवेशनलाई शनिबार जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा सम्बोधन गर्दै उनले मधेसी जनताको बलिदानीले शासन सत्तामा पुगेका मधेस केन्द्रित दलहरू मधेसमा जंगल राज्य बनाउन लागेको बताएका हुन् ।

वीर मधेसी सहिदहरूको सपना पूरा गर्न तथा जनता राज्य स्थापना गर्न अब हुने निर्वाचनमा जनमत पार्टी बलियो रूपमा प्रस्तुत हुने दाबी गर्दै राउतले भने, ‘जनमत पार्टीका हरेक कार्यकर्ताहरू अहिलेदेखि निर्वाचनको तयारीमा जुट्नुस्, घरघरमा गएर जनतालाई वर्तमान अवस्थाबारे बताउनुस् ।’

सांगठनिक रूपमा आफ्नो पार्टी कमजोर भए पनि जनता राज्य स्थापनाका लागि मनोबल उच्च राखेर अहिलेदेखि नै संगठन विस्तारमा जुट्न उनले निर्देशनसमेत दिए । राउतले भने, ‘हामी सांगठनिक हिसाबले छोटो छौँ । तर, जनताको हामीप्रति आशा र भरोसा छ । परिवर्तनका लागि जनमत पार्टीको विकल्प छैन । त्यसकारण पनि उच्च मनोबलका साथ जनताको बीचमा जानुपर्छ ।’

जनमत पार्टीका अध्यक्षमा राउतको मात्रै उम्मेदवारी
जनमत पार्टीको अध्यक्ष सिके राउत नै हुने भएका छन् । पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि उनको एकल उम्मेदवारी परेकाले पुनः अध्यक्ष हुने निर्वाचन समितिका संयोजक सञ्जयकुमार सिंहले जानकारी दिए । 

पार्टीमा उपाध्यक्षको सातवटा पद छुट्याइएको छ । उम्मेदवारी भने चारजनाको मात्रै परेको छ । उपाध्यक्षका लागि मो.अब्दुल खान, ई. वसन्तकुमार कुशवाहा, ई. दीपककुमार साह र ई. नरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका हुन् ।

महासचिवमा चन्दनकुमार मिश्रको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा कसैले पनि उम्मेदवारी नदिएको सिंहले बताए । सचिव बढीमा सातजना राख्न पाइनेमा ई.सुरेन्द्रनारायण यादवले मात्र उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य खुलातर्फ २३ सिटमा ४६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, गैरआवासीय मधेसी संघमा चार सिटका लागि पाँचजना र महिला १५ सिटमा मात्र १३ जनाले उम्मेदवारी दिएका छन् । शनिबार महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । मतगणना आइतबारदेखि हुने निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा पाँच हजार प्रतिनिधि र त्यतिकै संख्यामा स्वयंसेवक सहभागी भएको संयोजक सिंहले बताए ।