मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामचरित्र साह
२०७७ चैत २९ आइतबार ११:०९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आयुर्वेदिक औषधिमा विषाक्त लिड

Read Time : > 5 मिनेट
रामचरित्र साह
२०७७ चैत २९ आइतबार ११:०९:००

हरेक आयुर्वेदिक औषधिमा सबैखाले गह्रौँ धातुको परीक्षण अनिवार्य गर्दै विषाक्त औषधि उत्पादकलाई कडा कारबाही गर्नुपर्छ 

एकजना वयष्क आफ्नो प्रजननसम्बन्धी समस्या (शुक्राणु संख्यामा कमी)को समाधान खोज्ने क्रममा एक लाइसेन्स प्राप्त आयुर्वेदिक चिकित्सकको सेवा लिन पुग्छन् । आयुर्वेदिक चिकित्सकले उनलाई सात प्रकारका विभिन्न आयुर्वेदिक औषधि तीन महिना सेवन गर्ने सल्लाह दिए । तर, ती औषधि सेवन गर्दै जाँदा उनको शुक्राणु संख्यामा वृद्धिको सट्टा स्वास्थ्यमा थकान, भोक नलाग्ने, वाकवाकी, पेट दुख्नेजस्ता नयाँ समस्याहरू थपिँदै गए । जबकि, औषधि सेवनपूर्व उनलाई बाँझोपनबाहेक अन्य कुनै समस्या थिएन । 

पेटदुखाइ असह्य हुँदै गयो, उपचारका लागि चारवटा अस्पताल भौँतारिँदासमेत प्रारम्भिक जाँचहरूले उनको रोगको वास्तविक कारण पता लगाउन सकेन । सिटिस्क्यान, अल्ट्रासाउन्ड आदिको रिपोर्ट एकदम ठीक थियो । सबै परीक्षणका नतिजा सामान्य नै थिए । तर, पेटको परीक्षणमा भने केही समस्या देखिएको थियो । रगतको परीक्षणमा हेमोग्लोबिनको मात्रा अलि बढी नै कम देखिएकाले रक्तअल्पताका केही लक्षण देखिएका थिए ।

रक्तअल्पता र पेटदुखाइबीच सम्बन्ध हुने भएकाले एकजना चिकित्सकले लिड (सिसा)को विषाक्तता हुन सक्ने सम्भावना औँल्याउँदै रगतमा लिडको स्तर जाँच गर्न आग्रह गरे । निजीस्तरमा सञ्चालित र रगतमा लिड जाँच्ने नेपालकै एक मात्र ल्याब सम्यक डाइग्नोस्टिक प्रालि जाउलाखेलमा परीक्षण गर्दा लिडको मात्रा अत्यधिक (८२.३ माइक्रोग्राम प्रतिडेसिलिटर) पाइयो । धेरै मात्रामा रगतमा लिड पाइएको अवस्थामा तुरुन्त अस्पताल भर्ना गरी चिलेसनथेरापी गर्नुपर्ने चिकित्सकीय आवश्यकता देखिएकाले उनलाई सोहीअनुसार उपचार गरिएको जर्नल अफ इन्टरनेसनल फेडेरेसन अफ क्लिनिकल केमेस्ट्री एन्ड ल्याबोरेटरी मेडिसिन २०२० मा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले हर्बल मेडिसिनहरूमा लिडको अधिकतम मात्रा १० पिपिएमसम्म तोकेकोमा ती बिरामीलाई सेवन गर्न दिइएका सातमध्ये ६ औषधिमा तोकेकोभन्दा निकै उच्च परिमाणमा लिड पाइएको थियो । जसमा ४.५३ देखि २०९.७ पिपिएमसम्म लिड पाइएको जर्नलमा उल्लेख छ ।

बिरामीको रगतमा लिडको स्तर उच्च पाइएपछि उक्त बिरामीले सेवन गरिरहेको औषधिहरूमा लिडको मात्रा परीक्षण गर्न प्रयोगशाला पठाइयो । ती औषधिमा लिडको परीक्षण ऐटोमिक एब्जरप्सन स्पेक्ट्रोमेट्री प्रविधिबाट परीक्षण गरिहेर्दा प्रायः सबैजसो औषधिमा लिडको मात्रा अत्यधिक पाइएकाले मानव सेवनका लागि ती औषधि अयोग्य थिए । विस्तृत जाँचबाट उनले सेवन गरेका तिनै सातथरी आयुर्वेदिक औषधि नै लिडको कारक भएको पाइयो ।

विश्व स्वास्थ्य संगठनले हर्बल मेडिसिनहरूमा लिडको अधिकतम मात्रा १० पिपिएमसम्म तोकेकोमा ती बिरामीलाई सेवन गर्न दिइएका सातमध्ये ६ औषधिमा तोकेकोभन्दा निकै उच्च परिमाणमा लिड पाइएको थियो । ती आयुर्वेदिक औषधिमा कम्तीमा ४.५३ पिपिएमदेखि २०९.७ पिपिएमसम्म लिड पाइएको उक्त जर्नलमा उल्लेख छ । जसमा प्रवल पिष्टीमा ११.१८ पिपिएम, मुस्लिपाकमा ११.५४, चन्क्राशेखर रसमा १२.८९, भानरी १३.७४, सिद्ध मकरा धभाजा गुटीमा १०२.५३, र भाङ भस्ममा २०९.७० पिपिएम लिड पाइएको थियो । आयुर्वेदिक औषधिहरूमा अत्यधिक लिडका कारण बिरामीको रगतमा अत्यधिक मात्रामा घातक लिड पुगेको थियो । बिरामीलाई तिनको सेवन तुरुन्त बन्द गरी डी–पेनिसिलामाइन औषधिबाट चिलेसनथेरापी दिइएको थियो । जुन उपचारबाट बिरामीको रगतमा लिडको मात्रा घट्नुको साथै पेटदुखाइको समस्या समाधानमा पनि मद्दतगार भयो । 

नेपालमा आयुर्वेदिक औषधिहरूको सेवनबाट मानिसमा लिड विषाक्तता भएको यो त केवल एक प्रतिनिधि घटना मात्र हो । अधिकांश त परीक्षण नै हुँदैनन्, अध्ययन नै नभई बाहिर आउने पनि भएन । तसर्थ, आयुर्वेदिक औषधिहरूमा लिड विषाक्तताको निराकरण र समाधान तत्काल सम्बन्धित सबैबाट हुन जरुरी छ । आयुर्वेदिक औषधिमा लिड (सिसा)को मिसावट नियन्त्रण गरिएन भने यो जनस्वास्थ्यमा लिड विषाक्तताको भयावह स्रोत बन्दै जानेछ । पछिल्लो समयमा आममानिसमा आयुर्वेदिक औषधिप्रति रुचि बढ्दै गएको र विशेषज्ञको सिफारिसविनै पनि यस्ता औषधिको अत्यधिक प्रयोग हुन थालेको परिप्रेक्षमा आयुर्वेदिक औषधिहरू सुरक्षित रहेको परीक्षणहरूबाट पुष्टि हुन उत्तिकै जरुरी भइसकेको छ । 

आयुर्वेदिक औषधिमा किन र कसरी गरिन्छ लिडको प्रयोग ? : आयुर्वेदिक औषधि मुख्यतः दुई प्रकारका हुन्छन् । पहिलो, हर्बल जडीबुटीमा आधारित र दोस्रो रसशास्त्रमा आधारित । रसशास्त्रमा आधारित आयुर्वेदिक औषधिहरू परापूर्वकालदेखि प्रयोगमा आइरहेको छ । जसमा हर्बल जडीबुटीमा जानाजान मर्करी (पारो), लिड, आइरन, जिंकजस्ता विभिन्न धातु र माइकाजस्ता खनिज र मोती आदि मिसाइन्छ । रसशास्त्रीहरूका अनुसार आयुर्वेदिक औषधिहरू सही तरिकाले बनाउँदा र प्रयोग गर्दा आयुर्वेदिक उपचार एक सुरक्षित पद्धति हो । रसमा आधारित आयुर्वेदिक औषधिहरू बनाउँदा मिसाइएका भष्म (विभिन्न धातुका अक्साइडस्वरूप वा यौगिक)मा रहेका धातुहरूको विषाक्तता विभिन्न स्तरका शुद्धीकरण प्रक्रियामा पूर्णतया हटेर जाने तर्क रसशास्त्रीहरूको रहिआएको छ । तर, नेपाललगायत विभिन्न देशमा भएका विषाक्तताका घटना र आयुर्वेदिक औषधिहरूमा गरिएका धातुसम्बन्धी अध्ययनहरूले तिनमा विभिन्न विषाक्त धातुहरूको अवशेष अत्यधिक मात्रामा विद्यमान रहेको पाइएकोबाट मानव स्वास्थ्यमा नकारात्मक असर परेकोलाई नजरअन्दाज गर्न सकिन्न । यहाँसम्म कि रसशास्त्रमा आधारित नभएका आयुर्वेदिक औषधिहरूमा पनि वातावरणीय प्रदूषणका कारण विभिन्न धातुको अवशेष पाइने गरेका तथ्यांक पनि विद्यमान छ । यसको प्रमुख कारण औषधि उत्पादन पद्धतिमा गडबडी, गुण नियन्त्रणमा कमजोरी, अनियन्त्रित निकासी पैठारी र सम्बन्धित निकायहरूबाट आवश्यक परीक्षण र अनुगमन नहुनु रहेका छन् । सबै सरोकारवाला सरकारी निकाय र व्यवसायजन्य संघ–संगठनहरूबाट पनि यसमा व्यापक सुधारको आवश्यकता छ । 

आयुर्वेदिक औषधि व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था : कुनै पनि औषधिको नियमन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभाग छ । औषधि ऐन २०३५ अनुसार आयुर्वेदिक औषधिहरू उत्पादन, आयात, निर्यात, बिक्री–वितरण, भण्डारण र सेवनका लागि असुरक्षित, अप्रभावकारी वा गुणस्तरहीन भए तिनको नियन्त्रण तथा नियमन गर्ने प्रमुख जिम्मेवार निकाय औषधि व्यवस्था विभाग हो । त्यस्तै, यस सन्दर्भमा महŒवपूर्ण जिम्मेवारीसहितको निकायको रूपमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग छ, जसले आयुर्वेदिक सेवासम्बन्धी योजना बनाउने, सूचना व्यवस्थापन गर्ने, निरीक्षण गर्ने, आयुर्वेदिक सेवासम्बन्धी कामहरूको अनुगमन तथा मूल्यांकन गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने हो । 

नेपालमा आयुर्वेदिक औषधिको सेवनबाट मानिसमा लिड विषाक्तता भएको यो एक प्रतिनिधि घटना मात्र हो । अधिकांश त परीक्षण नै हुँदैनन्, अध्ययन नै नभई बाहिर आउने पनि भएन । तसर्थ, आयुर्वेदिक औषधिमा लिड विषाक्तताको निदान र समाधान तत्काल सम्बन्धित सबैबाट हुन जरुरी छ ।

औषधि ऐनअनुसार कुनै पनि औषधि उद्योगले उत्पादन गरेको प्रत्येक औषधि बिक्री–वितरणअघि तोकिएबमोजिम विभागमा दर्ता गराई औषधि दर्ता प्रमाणपत्र लिनुपर्छ । त्यसैगरी, औषधि पैठारी गर्न चाहने फर्म वा उद्योगले आफूले पैठारी गर्न चाहेको अनुज्ञापत्र प्राप्त कम्पनीको प्रत्येक औषधि पैठारी गर्नुअघि तोकिएबमोजिम विभागमा दर्ता गराई दर्ता प्रमाणपत्र लिनुपर्ने हुन्छ । औषधिको निकासी वा पैठारी गर्नका लागि पनि सिफारिस प्राप्त गरेको हुनुपर्छ । औषधि ऐनअनुसार हरेक औषधि तोकिएबमोजिम अनिवार्य रूपमा सेवनका लागि जनसुरक्षित, प्रभावकारी र गुणस्तरीय भएको हुनुपर्ने कानुनी व्यवस्था छ । कुनै पनि व्यक्तिले असुरक्षित, अप्रभावकारी र निम्न गुणस्तरको औषधिहरूको उत्पादन, बिक्री–वितरण, आयात, निर्यात, भण्डारण वा सेवन गर्न÷गराउन नहुने पनि कानुनमा उल्लेख छ । सेवनका लागि असुरक्षित र निम्न गुणस्तरका औषधिहरू बिक्री–वितरणका लागि कसैगरी बजारमा पुगिसकेको भए पनि उत्पादक वा उत्पादक कम्पनीको ऐजेन्टमार्फत बजारबाट तत्कालै फिर्ता लिनुपर्ने व्यवस्था ऐनमा छ । यस्ता औषधिबाट कुनै व्यक्तिको मृत्यु भएमा वा स्वास्थ्यलाई हानि हुन गएमा औषधिको उत्पादन गर्ने व्यक्ति÷कम्पनी जवाफदेही हुने र हानि हुन गएबापत सो व्यक्तिलाई र मर्नेको हकमा हकदारलाई तोकिएबमोजिम क्षतिपूर्ति उत्पादकले दिनुपर्ने व्यवस्था कानुनमा छ ।

अनिवार्य एवं आवश्यक सुधारका उपाय : नेपालमा लाइसेन्सप्राप्त आयुर्वेद चिकित्सकबाट सुझाएका विभिन्न आयुर्वेदिक औषधिहरूमा अत्यधिक मात्रामा विषाक्त लिड (सिसा)को मिसावट पाइनु डरलाग्दो संकेत हो । यस्ता औषधिको सेवनबाट बिरामीको शरीरमा घातक लिडको विषाक्तता बढ्दै गइरहेको घटना नेपालमै पहिचान भइसकेको छ । अत्यधिक लिडबाट प्रभावित कैयौँ आयुर्वेदिक औषधि सेवनकर्ता गम्भीर बिरामी हुन सक्ने सम्भावना छ, अध्ययन र उचित परीक्षणको कमीका कारण जानकारीमा नआएको मात्र हो । 

विद्यमान औषधि ऐन र सोसँग सम्बन्धित विभिन्न नियमावली एवं कार्यविधिहरूमा यी र यस्ता घातक धातुयुक्त आयुर्वेदिकलगायतका औषधिहरूलाई नियमन तथा नियन्त्रण गर्ने पर्याप्त र प्रस्ट प्रावधानहरू छन् । तर पनि आमउपभोक्ताले विषाक्त औषधि सेवन गर्नुपरिरहेको स्थितिले कानुन व्यवहारमा लागू नभएको प्रस्ट गर्छ । यसमा सम्बन्धित सरकारी निकायहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र पेसागत संघ–संस्थाहरू नेपाल आयुर्वेद चिकित्सा परिषद्, सिभिल आयुर्वेद चिकित्सक संघ नेपाल, आयुर्वेद चिकित्सक संघ नेपाल र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजलगायतबाट यथाशीघ्र निराकरणको अपेक्षा छ । 

लिड विषाक्तताको घटना र यसको मुख्य स्रोतमा पहिचान भइसकेका आयुर्वेदिक औषधिलाई कतै कसैबाट कुनै पनि बहानामा छुट दिनु हुन्न । सबै सम्बन्धित सरकारी निकायहरूमा खासगरी स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग एवं सम्बन्धित पेसागत संघसंस्थाहरू यथाशीघ्र अगाडि आएर यी आयुर्वेदिक औषधिहरूमा लिडलगायतका गह्रौँ धातुहरूको मिसावटका समस्या र यससँग सम्बन्धित जनस्वास्थ्यमा देखिएका समस्यालाई आत्मसात् गरी निराकरण र समाधान गर्नुपर्छ । ताकि, कुनै पनि औषधि जनस्वास्थ्यमा गह्रौँ धातुको विषाक्तता र स्वास्थ्यमा अनपेक्षित क्षतिको बढ्दो स्रोत हुनबाट वेलैमा रोकियोस् । तसर्थ, आयुर्वेदिक औषधि र यसमा आधारित चिकित्सा पद्धति सम्बन्धित सरकारी निकायहरूबाट खास गरी स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागद्वारा प्राथमिकताका आधारमा प्रभावकारी ढंगले नियमन हुन अनिवार्य भइसकेको छ । 

विषाक्त आयुर्वेदिक औषधिका उत्पादकविरुद्ध कडा कारबाही गरिनुका साथै सबै आयातित एवं नेपालमै उत्पादित हरेक आयुर्वेदिक औषधिमा सबैखाले सम्भावित गह्रौँ धातुहरू (लिड, क्याडमियम, कपर, क्रोमियम, आर्सेनिक, मर्करी, जिंक, निकेललगायत)को परीक्षण अनिवार्य गरिनुपर्छ । साथै, औषधिमा घातक रसायनहरू नियमन गर्नेसम्बन्धी ऐन कानुनमा यथेष्ट प्रावधानको व्यवस्थासँगै आयुर्वेदिक औषधिहरूका लागि गह्रौँ धातुसम्बन्धी मापदण्ड पनि यथाशीघ्र तोकी प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्न–गराउन आजको टड्कारो आवश्यकता छ । यसका लागि जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सम्बन्धित सबै निकायसँग अनुसन्धानमा आधारित रहेर बहस पैरवी र पृष्ठपोषण गरिरहेको छ ।

आयुर्वेदिक चिकित्सा पद्धतिअन्तर्गतका सरकारी तथा निजी आयुर्वेद अस्पताल र क्लिनिकहरूबाट चिकित्सकीय सेवा पाई आयुर्वेदिक औषधि सेवन गरिरहेका सबै बिरामीको शरीर र रगतमा गह्रौँ धातुहरूको अनिवार्य परीक्षणको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यथाशीघ्र गरिनु उचित हुन्छ । यसका लागि कम्तीमा हरेक प्रदेशमा मानव शरीरमा लिडलगायतका सबैखाले गह्रौँ धातुहरूको परीक्षण गर्न सक्ने आवश्यक उत्तम उपकरणयुक्त प्रयोगशाला एवं यथेष्ट तालिमप्राप्त जनशक्ति, वार्षिक बजेटसहितका पूर्वाधारहरूको विकास आवश्यक छ । आमजनतामा यसबारे व्यापक जनचेतना जागाउन तिनै तहका सरकारी निकाय, निजी र अन्तर्राष्ट्रिय विकास सहयोग निकायहरूको सहयोग एवं सहकार्य पनि उत्तिकै जरुरी छ । यसबाट आयुुर्वेद चिकित्सा पद्धति अझै मर्यादित हुनुका साथै यसमा संलग्न जनशक्ति, उद्योगधन्दा सबैको भविष्य सुखद र सुरक्षित हुन जान्छ । 

(साह वातावरण वैज्ञानिक हुन्)