Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २९ आइतबार ०७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीन सातामा तीन विदेशी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २९ आइतबार ०७:५६:००

५ चैत : ग्रिनकफीका नाममा ठगी गरेको आरोपमा रसियन नागरिक इगोर कुट्स सिआइबी हिरासतमा

१७ चैत : अमेरिकी नागरिक मिचेल नोर्मान टेलर बाल यौन दुराचारको आरोपमा पोखराबाट पक्राउ

१७ चैत : ठमेलमा मेगा बैंकको एटिमएम बुथबाट डाटा ह्याक गर्न लागेको सूचनाका आधारमा चिनियाँ नागरिक वाङ सिओलु पक्राउ

....            .....

कोरोना महामारीका वेला पनि अपराधको उद्देश्य राखेर विदेशी नेपाल आउने क्रम रोकिएको छैन । पछिल्लो तीन सातामा फरक–फरक किमिसको अपराधमा तीन विदेशी पक्राउ परेका छन् । बाल यौन दुराचार, एटिएम ह्याकिङ तथा ठगीजस्ता अपराधमा पक्राउ परेका उनीहरू अहिले प्रहरी हिरासतमा छन् । 

अमेरिकी नागरिक

विदेशीलाई सरकारले ‘अनअराइभल भिसा’मा रोक लगाएकै छ । त्यसका बाबजुद केही विदेशी भने पर्यटक भिसामा नेपाल आएका छन् । त्यसमध्ये एक हुन्, अमेरिकी नागरिक मिचेल नोर्मान टेलर । ६६ वर्षीय मिचेल गत २१ मार्चमा नेपाल आएका थिए । नेपाल आएलगत्तै उनी पोखरा पुगे । घुम्नका लागि होइन, पोखरामा उनको स्वार्थ अर्कै थियो । सामाजिक सञ्जालमार्फत पोखराका केही बालबालिकासँग उनले चिनजान गरेका थिए । उनीहरूसँग यौन गतिविधिका लागि उनी नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरन्तर पिछा गरेर उनलाई गत १७ चैतमा पोखरा– १८ सेदीस्थित होमस्टेबाट पक्राउ गरेको हो । पक्राउ परेका टेलर पेसाले अधिवक्ता हुन् । यसअघि उनी दुईपटक नेपाल आएका थिए । पहिलोपटक सन् २०१८ अक्टोबरमा र दोस्रोपटक २०१९ अप्रिलमा । 

दोस्रोपटक नेपाल आउँदा उनले पोखराका तीन बालकलाई यौन दुराचार गरेको र तीनैजनाको प्रहरीमा जाहेरी परिसकेको सिआइबीका एसपी गंगा पन्तले बताइन् । ‘यसपटक पनि उनी बाल यौन दुराचारका लागि पोखरा गएको देखिन्छ,’ एसपी पन्तले भनिन् ।

टेलरबारे विदेशबाटै प्रहरीले सूचना पाएको थियो । ‘सुरुमा पीडित खोज्नै गाह्रो भएको थियो,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालमार्फत नै पीडित खोजेका हौँ, तीनजना पुष्टि भयो, अरू पनि पीडित हुन सक्छन् ।’ सहयोगका नाममा कमजोर आर्थिक अवस्था भएका बालबालिकासँग नजिकिने र उनीहरूलाई आफ्नो कोठामा लगेर दुराचार गर्दै आएको सिआइबीले जनाएको छ । उनलाई फिलिपिन्सको प्रहरीले समेत गत वर्ष पक्राउको प्रयास गरेकोमा उनी भाग्न सफल भएका थिए । 

रसियन नागरिक
विशेष किमिसको ग्रिनकफीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका रसियन नागरिक इगोर कुट्स तीन सातादेखि सिआइबी हिरासतमा छन् । नयाँ बजारका आशिष महर्जनसँग मिलेर उनले ठगी गरेका थिए । 

उनीहरूले ग्रिनकफीको नियमित सेवनले नाटकीय रूपमा मोटोपन घटाउने भन्दै भ्रमपूर्ण विज्ञापन गरेर ठगी गर्दै आएको सिआइबीले जनाएको छ । प्रतिकेजी नौ सय ७० रुपैयाँमा नेपालकै ग्रिनकफी खरिद गरेर उनीहरूले किलोको २० देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए । खुसिबुस्थित टिम वान सप्लायर्समार्फत ग्रिनकफी बिक्री गर्दै आएका थिए । यस्तो कफीको नियमित सेवनबाट कुनै डाइटिङ र विनाव्यायाम सातामा १३ किलोसम्म तौल घट्ने भन्दै भ्रममा पारेर ठगी गरेका थिए । 

चिनियाँ नागरिक
नेपालमा अपराध नै गर्ने उद्देश्यले आएका पछिल्ला विदेशी हुन् चिनियाँ नागरिक वाङ सिओलु । गत १७ चैतमा उनलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । ठमेलमा रहेको मेगा बैंकको एटिमएम बुथबाट डाटा ह्याक गर्न लागेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एटिएम ह्याकिङमा संलग्न गिरोहले उनलाई नेपाल पठाएको हालसम्मको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह बताउँछन् । ‘गिरोह चीनमै रहेको बुझिएको छ,’ उनले भने, ‘उनको मोबाइलमार्फत हामीले थप सूचनाको विश्लेषण गरिरहेका छौँ ।’