मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
सुनीता खनाल
२०७५ फाल्गुण ४ शनिबार ०६:४४:००
Read Time : > 4 मिनेट
साहित्य

कहाँ हुन्छ मिलन त्यसै भाग्यमै नलेखेपछि...

Read Time : > 4 मिनेट
सुनीता खनाल
२०७५ फाल्गुण ४ शनिबार ०६:४४:००

०७१ असोज २ गते साँझ ढल्दै थियो । उनलाई त्यो साँझ घरमा खाना खान मन लागेन । ‘कतै घुम्न जाऊँ है आज ?’ श्रीमान्सँग आग्रह गरिन् । व्यस्त दैनिकीले केही असर त पारिवारिक जीवनमा पारेकै थियो । पति यादवले गीताको कुरालाई सहजै स्विकारे । आफ्नो साधन घरमै राखेर दुवै निस्के पैदल यात्रामा । जीवनका उकाली ओरालीका कुरा गर्दै बाटोमा हिँडिरहेका थिए । योजनाअनुसार एक घन्टाको वाकिङपछि राम्रो रेस्टुरेन्टमा खाना खानु थियो उनीहरूलाई ।

अकस्मात् एक युवक मोटरसाइकल हुइँक्याउँदै उनीहरूतिरै हानिए । मोटरसाइकलको बत्ती बलेको थिएन । गीतादम्पतीले आवाज मात्र सुने, देख्न सकेनन् । महाराजगन्ज चोकनजिकै मोटरसाइकल उनीहरूमाथि बजारियो । गीतालाई त कम चोट लाग्यो तर पति अचेत अवस्थामा पुगे । घरबाट निस्कँदा देखेको सपनामा आँधी आयो । डिनरका लागि हिँडेका गीतादम्पती अस्पतालको आकस्मिक कक्षमा पुगे । त्यतिवेला गीता निकै मर्माहत बनिन् र पतिका निम्ति दोस्रो जिन्दगीको भिख मागिरहिन् । 

६ घन्टापछि श्रीमान्को होस आयो । केही दिनको उपचारपछि उनीहरू घर फर्किए । उनले पाएको त्यो दोस्रो जिन्दगीमा परिवार बडो खुसी थियो । फेरि नयाँ सपनामा मुस्कुराउँदै थियो यात्रा । तर, त्यसको दुई वर्ष पुग्न नपाउँदै यादवलाई फेरि जघन्य रोगले आक्रमण ग-यो । पहिलो चरणमै भएकाले उपचार सफल पनि भयो । डेढ वर्षपछि रोग फेरि बल्झियो । फेरि उपचार सुरु भयो । तर, गीता पहिलेजस्तो कमजोर बनिनन् । आफ्नो प्रेम र साथले रोगलाई नै कमजोर तुल्याउन तल्लीन छिन् उनी । जति नै संघर्ष किन नहोस्, जिन्दगीको मुस्कुराहट ओठबाट चुहिएको छैन उनको । 

काभ्रेस्थित एक गाउँमा सामान्य परिवारमा जन्मिइन् गीता त्रिपाठी । भारतमा आइकम गरेर फर्केका बुबा वेधराज थपलिया गाउँमै आएर भगवती माविका शिक्षक बनेका थिए । बुबा र आमा असाध्यै मिल्थे । बुबा छोराछोरी लिएर गाउँको घरमा बस्थे । आमा बेसीमा खेतिपाती सम्हाल्थिन् । हप्तामा एकपटक उनीहरूको भेट हुन्थ्यो । तर, आफ्नो व्यावहारिक जीवन सम्हाल्ने गजबको तरिका थियो उनीहरूको । आमाभन्दा सोह्र वर्ष जेठा थिए बुबा । तर, उनीहरूको प्रेम कुनै प्रेमजोडीको भन्दा कम थिएन । ‘प्रेमले परिवार बडो व्यवस्थित पार्दो रहेछ । जस्तै अभाव पनि अभाव नै होइन जस्तो लाग्थ्यो,’ बाल्यकाल सम्झिन्छिन् उनी । 

एक छोरा र पाँच छोरीमध्येकी साइँली हुन्, गीता । जतिसुकै शिक्षित भए पनि छोरी मात्रैलाई सन्तान मान्न कन्जुस्याइँ गथ्र्यो समाज । त्यही सोचका कारण सन्तान धेरै जन्मिए । बुबाको सामान्य तलब र खेतिबालीले परिवार जेनतेन धानिथ्यो । जति नै अप्ठ्यारो किन नहोस्, उनीहरूको शिक्षामा सम्झौता गरेनन् बुबाले । उनी बुबासँगै बसेर भगवती माविमै पढिन् । बुबाको अनुशासित जीवनको गुण उनमा सर्दै गयो । आर्थिक अभावमा पनि अनुशासनले धेरै सपोर्ट गर्दो रहेछ भन्ने शिक्षा बुबाबाटै सिकिन् । त्यहीँबाट ०४५ सालमा एसएलसी उत्तीर्ण गरिन् उनले । 

जतिवेला उनी एसएलसी दिएर बसिरहेकी थिइन् । बुबालाई दमले बेस्सरी च्याप्यो । छोरीको विवाह गरिदिने रहर गरे उनले । गाउँस्थित उनकै विद्यार्थी यादव त्रिपाठीको कुरो लिएर आए विवाहका निम्ति । जो त्यतिवेलै व्यापार व्यवसायमा आबद्ध थिए । ०४६ वैशाखमा उनको विवाह भयो । त्यसको वर्ष दिनपछि बुबा बिते । २५ वर्ष लामो समय अध्यापनमै बिताएका बुबालाई दमले लिएर गयो । त्यो पीडाले गीतालाई अहिले पनि वेला–कुवेला तर्साउने गर्छ ।

०४६ सालमा उनी पद्मकन्या कलेजमा भर्ना भइन् । त्यहाँ राजनीति हुन्थ्यो । उनमा पनि राजनीतिक चेतना थियो । तर, पार्टीगत राजनीतिले तानेन । उनले नेपाली भाषा रोजेकी थिइन् । आइए, बिए र मास्टर्स पनि नेपालीमा नै गरिन् । स्कुले दिनमा नै उनी कविता लेख्थिन् । ०४५ सालको बिरुवा मासिकमा ‘स्वच्छता’ भन्ने प्रेम कविता छापिएपछि उनको साहित्यिक यात्रा सार्वजनिक हुन पुग्यो । धेरै सन्तानका कारण बुबाआमाको धेरै साथ पाइनन् गीताले । जसले उनलाई एकान्तप्रेमी बनाइदियो ।

स्कुलबाट घर फर्किएपछि रुखको छहारीलाई साथी बनाउँथिन् उनी । त्यहीँ बसेर गुनगुनाउँथिन् । पढ्थिन् । लेख्थिन् । भूपी शेरचनका गहन कविता कोर्समा पढ्थिन् । ‘के बुझ्थ्यो, त्यो बाल मस्तिष्कले खै तर म बहुत रमाउँथेँ,’ स्कुल सम्झिन्छिन् । सानैदेखि रेडियोमा किरण खरेललाई सुन्थिन् । गीतका शब्दलाई पर्गेल्थिन् । जसको प्रेरणाले उनलाई गीत लेख्न हुटहुटी भयो । गीत लेख्न थालिन् । लासमित राई, दीप श्रेष्ठ, स्वरूपराज आचार्य, प्राश्ना शाक्य, फत्तेमान राजभण्डारीलगायत थुप्रै चर्चित गायकले उनका शब्दमा स्वर भरिसकेका छन् ।

‘सुनेको त हल्लै नै हो विश्वास हुन्छ देखेपछि 
कहाँ हुन्छ मिलन त्यसै भाग्यमै नलेखेपछि ।’

फत्तेमानको स्वरमा रहेको आफ्ना यी शब्दहरूले उनी आफैँलाई बेस्सरी ऐंठन बनाउने गरेको अनुभव छ उनको । उनले थुप्रै गीतहरू लेखिसकिन् । धेरै चर्चित पनि भए । ‘एक्लै–एक्लै’(२०६१) र ‘सारांश’(०६५) गरेर दुई गीति एल्बम निकालिन् । त्यस्तै ‘थुँगा वनफूलका’ (०६१), दुई हरफ ओठहरू’ (०६४) गरी दुई गीतसंग्रह पनि प्रकाशित भए उनका । गीतालाई गीतसँगै कवितालाई पनि एउटै गोरेटोमा यात्रा गराउनु थियो । थुप्रै कविताहरू लेखिन् । ‘नृशंस पखालहरू’ (०६५) र ‘सिमलको गीत’ (०७२) गरी दुई कवितासंग्रह प्रकाशित गरिन् । उनको निबन्धकृति ‘म एक्लो र उदास उस्तै’ (०७०) र समालोचनाका दुई गरी जम्मा नौवटा साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । 

उनले धेरै विधामा हात हालिन् । तर, ‘कवि’को रूपमा आफूलाई चिनाउँदा जत्तिको खुसी अन्त कतै भेट्दिनन् उनी । ‘तिम्रो नाम पनि गीता, तिमी गीत नै लेख्न जन्मेको मान्छे हौ, गीत मात्रै लेख्नु । मेरो गीतको एउटा पाठक–स्रोता माधव घिमिरे पनि छन् भनेर सम्झनू,’ राष्ट्रकविको यो भनाइलाई उनी मनमा राख्छिन् । तर, कवितालाई आफूबाट अलग गर्न सक्दिनन् ।

हामी सानो छँदा 
जून बाल्थ्यौँ आँखामा 
र, पढ्न बस्थ्यौँ मिलेर–वरिपरि
लाल्टिनभन्दा उज्याला थिए आँखाहरू

हामी अक्षरको उज्यालोमा बाटो खोज्ने गथ्र्यौँ । (हामी सानो छँदा)
जब ०६६ सालमा एमफिल खुल्यो । उनले सम्झिइन्, ‘जिन्दगीका धेरै ढोका खुल्यो अब ।’ विभिन्न विषयमा रिसर्च गर्नु थियो उनलाई । आफूले गरेको रिसर्चले नेपाली साहित्यमा केही योगदान होस् भन्ने चाहन्थिन् उनी । नेपालीमा कहिल्यै नखोजिएको विषय अर्थात् ‘नेपाली कवितामा पर्यावरणीय चेतना’ भन्ने शीर्षक रोजिन् । गहन पर्यावरण र नारीवादी पर्यावरण गरी दुई तरिकाले संरक्षणवादी कोणबाट अध्ययन गरिन् उनले । कविताले पर्यावरणीय समस्याहरूलाई कसरी हेरेको छ ? उनको मुख्य खोज यतै थियो । यसै विषयमा हालसालै मात्र पिएचडी सकिन् उनले । 

लामो समय प्राइभेट कलेजहरूमा पढाइन् गीताले । दुई वर्षअघि खुला प्रतिस्पर्धाबाट स्थायीमा नाम निकालिन् र आरआर कलेजमा नेपाली पढाउन थालिन् । हरेक वर्षको एक सिजन घोस्ट राइटिङमा सिर्जनात्मक लेखनको कक्षा दिन्छिन् उनले । जहाँका थुप्रै विद्यार्थीहरू गीताबाट प्रभावित पनि छन् । उनले लामो समयदेखि समालोचना, कार्यपत्रमा टिप्पणी, कवितालगायतमा प्रज्ञा प्रतिष्ठानका काम गरिरहेकी थिइन् ।

जब उनको पिएचडी सकियो, एकेडेमीको छनोटमा परिन् उनी । प्राज्ञ बनिन् । तर, यति छिटै प्राज्ञ बन्छु भन्ने उनले कहिल्यै सोचेकी थिइनन् । ‘युवालाई पनि सँगसँगै लैजानुपर्छ भनेर नै प्रज्ञाले मलाई रोजेको होला,’ अनुमान गर्छिन् । एकेडेमीले उनलाई कविता विभागकै जिम्मेवारी दिएको छ । नारी साहित्यकारहरूको संस्था गुञ्जनमा कार्यकारी सदस्य र छिन्नलता गीत पुरस्कारमा पनि कार्यकारी छिन् उनी । पद्मकन्या स्वर्णपदक, उत्कृष्ट शिक्षक पुरस्कार, हरिहर शास्त्री शैक्षिक पुरस्कार (०७१), रेडियो नेपालको सर्वोकृष्ट गीत पुरस्कार(०६४) जस्ता पुरस्कार पाइसकेकी छिन् गीताले । 
सर्वोकृष्ट गीत :
‘रहर छ जिउन मलाई मेरै नामको जिन्दगानी
स्विकार छन् झेल्दै जान आफ्नो भागको घामपानी ।’

‘भान्छामा तरकारी डढिरहेको हुन्थ्यो । छोराको कपडा आइरन गर्दै हुन्थेँ । पतिको हतार उस्तै । आफ्नो कलास सुरु हुनै लाग्थ्यो । सोचेँ, यी सब किन गरिरहेछु म ? दुई छाक मात्र खान त यतिसारो नगरे पनि त हुन्थ्यो,’ उनको त्यही सोचले जन्माएको गीत थियो यो । श्रीमान् कविता लेख्न जान्दैनन् । तर, कविता साह्रै मन पराउँछन् । उनी कविता लेख्थिन् । श्रीमान् बडो गजबले वाचन गर्थे । गीता दम्पतीका एक छोरा छन्, समीप । जसलाई गीता छोरा मात्र मान्दिनन् । साथी ठान्छिन् । प्रेम मात्र गर्दिनन्, प्रेरणा लिन्छिन् । छोरा सानै थिए । उनले आफूले पढिसकेको डेविड बेगहामको किताब छोरालाई पढ्न दिइन् । जुन किताबबाट गीताले सम्पन्नतामा पनि मान्छे बिग्रँदैन रहेछ, यदि आफूमा प्रतिज्ञा भयो भने भन्ने ज्ञान पाएकी थिइन् ।

एक दिन उनले छोरालाई सोधिन्, तिमीले के सिक्यौ यो किताबबाट ? छोराको जवाफ थियो, ‘मैले दुइटा कुरा सिकेँ, उसले आफ्नो आमाको जन्मदिनमा पहिलो गोल हान्यो रे, दिस गोल फर माइ मम । त्यो गोल ठ्क्याक्कै पोस्टमा छिरेको थियो रे अनि अर्को मिडियाले भिक्टोरिया र डेविड बेगहामको सम्बन्धलाई उछाल पछाल पारिरहेको थियो रे ! तर उनीहरूले वास्ता गरेका थिएनन् ।

‘मिडियालाई चलाउनु भनेको पेट्रोलमा आगो सल्काउनु जस्तै हो । त्यसलै ऊ कराइरहन्छ हामीले हाम्रो काम गरिरहने हो ।’ यी दुई कुरा जतिवेला छोराबाट सुनिन् उनले । उनी त्यतिवेला त्यही अवस्थाबाट गुज्रिरहेकी थिइन् । छोराको त्यो कुराले ठूलो प्रेरणा दियो उनलाई । घरायसी जीवनले गर्दा केही सुस्ताएको कविता लेखनलाई फेरि ब्युँझाउँदै छिन् उनी । आफूसँगै थुप्रै साहित्यकारका लागि केही गर्न‘पर्ने दायित्वबोधले सताउँछ उनलाई ।उनी यतिवेला जीवनको पैंतालिसौँ सिँढी चढिरहेकी छन् । ०७० सालमा आमालाई पेटको क्यान्सरले लग्यो । बालुवाटारको आफ्नै निवासमा पति र छोराको साथमा बस्दै आएकी छिन् उनी । भन्छिन्, ‘म समाजको लायक कत्तिको छु, थाहा छैन तर मैले समयचाहिँ कहिल्यै खेर फालिनँ ।’