मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २८ शनिबार ०९:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल इकोनोमिक ओलम्पियाडमा ६९ विद्यार्थी सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २८ शनिबार ०९:४०:००

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले २०१९ मा एक कांस्य र २०२० मा दुई कांस्य जितेको थियो

नेपाल इकोनोमिक ओलम्पियाड (एनइओ) नेसनल च्याम्पियन–२०२१ शुक्रबारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतिस्पर्धा काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसिएम) ललितपुरमा आयोजना भएको हो । 

एनइओका अध्यक्ष अर्जुन सापकोटाका अनुसार प्रतियोगिता प्लस टू, ए लेबल अध्ययनरत इकोनोमी, बिजनेस र फाइनान्सको क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । यस वर्ष नेपाल इकोनोमिक ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धामा नेपालका सात प्रदेशका ५० भन्दा बढी संस्थाका ३ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये ६९ विद्यार्थी राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न छानिएका छन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट हुन सफल ५ विद्यार्थीले जुलाईमा युनिभर्सिटी अफ लाटभियामा आयोजना हुन गइरहेको इन्टरनेसनल इकोनोमिक ओलम्पियाडमा भाग लिन पाउनेछन् ।  

ललितपुरमा आयोजित राष्ट्रिय प्रतिस्पर्धा अर्थशास्त्र विषयमा परीक्षा र बिजनेस केस एनालिसिस गरी दुई चरणमा गरिने संस्थाकी सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाले बताइन् । उनका अनुसार अर्थशास्त्रको परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको छ । यस प्रतियोगितामा सहभागीहरूलाई विभिन्न सेमिनार र विज्ञहरूले इकोनोमिक्स, फाइनान्स र बिजनेसका विषयमा प्रशिक्षण दिनेछन् । 

संसद् मीनेन्द्र रिजाल, वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, अर्थशास्त्री डा. विश्व पौडेल, गुणाकर भट्ट, अच्युत वाग्ले, सूर्यराज आचार्य, प्रा.डा. कुसुम शाक्यलगायतले अर्थशास्त्र, वित्त र व्यवसायका विभिन्न पक्षहरूमा आ–आफ्नो विचार प्रस्तुत गर्ने संस्थाकी प्रवक्ता महर्जनले बताइन् । उनका अनुसार अर्थशास्त्र र वित्त क्षेत्रमा प्रतिभाशाली विद्यार्थी छनोट गरेर उनीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । सहभागीहरूले आफ्नो तार्किक, आलोचनात्मक र बौद्धिक क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धा गर्नेछन् । 

नेपालले सन् २०१९ देखि अन्तर्राष्ट्रिय इकोनोमिक ओलम्पियाडमा भाग लिन थालेको हो । पहिलोपटक सहभागी हुँदा नेपालले एउटा कांस्य पदक जितेको थियो भने २०२० मा दुई कांस्य पदक जित्न सफल भएको थियो । ‘कोभिड महामारीका कारण २०२० को प्रतियोगिता अनलाइनमार्फत आयोजना भएको थियो,’ प्रवक्ता महर्जनले भनिन्, ‘यस वर्ष क्षेत्रीय र राष्ट्रिय प्रतिस्पर्धामा विद्यार्थीहरू भौतिक रूपमा उपस्थित भएरै सम्पन्न हुँदै छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने अनलाइनबाटै हुने आयोजकले जानकारी दिएको छ ।’