मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
२०७७ चैत २८ शनिबार ०९:०७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठ खेलाडी र प्रशिक्षक विभिन्न मानपदवीबाट सम्मानित

Read Time : > 2 मिनेट
२०७७ चैत २८ शनिबार ०९:०७:००

नेपाल सरकारले शुक्रबार खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका खेलाडी तथा प्रशिक्षकलाई विभिन्न मान पदवीबाट सम्मानित गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलाडी तथा प्रशिक्षकलाई सम्मानित गरेकी हुन् । फुटबलबाट सर्वाधिक तीन खेलाडी सम्मानित भएका छन् । ब्याडमिन्टन, एथलेटिक्स, भलिबल, बडिबिल्डिङ तथा करातेबाट समान एकजना सम्मानित भएका छन् । 

अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्राप्त सफलताले देशको गौरव बढाएको जनाउँदै सरकारले खेलाडी सम्मानित गरेको हो । सरकारले ३१ भदौ २०७६ मा संविधान तथा राष्ट्रिय दिवसको अवसरमा चार सय ४० जनालाई मानपदवीबाट सम्मानित गरिने निर्णय गरेको थियो । तर, कोभिड–१९ का कारण यो कार्यक्रम स्थगित गरियो । शुक्रबार एक समारोहबीच ती खेलाडी तथा प्रशिक्षक सम्मानित भए । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षकसमेत रहेका हरि खड्काले प्रवल जनसेवा श्री चतुर्थ पाएका छन् । नेपाली महिला फुटबल टोलीकी कीर्तिमानी स्कोरर सावित्रा भण्डारी पनि जनसेवा श्री चतुर्थबाटै सम्मानित भएकी छिन् ।

खड्काले आफ्नो फुटबल करिअर रानीपोखरी कर्नर टिम (आरसिटी) बाट १९९४ बाट सुरु गरेका थिए । विभागीय टोली नेपाल पुलिस क्लबबाट उनले सन् २००३ देखि ०६ सम्म खेले । खड्कासँग नेपालमा मात्र नभएर विदेशी क्लबबाट पनि खेलेको अनुभव छ । २००० मा भारतको महिन्द्रा तथा २००१ देखि ००२ सम्म मोहन बगानबाट उनले प्रतिस्पर्धा गरे । मोहन बगानबाट ३७ खेलमा दुई गोल गर्न सफल भए । 

नेपाली फुटबल इतिहासमा नीराजन रायमाझीसँगै खड्काले राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका छन् । सन् १९९५ देखि २००६ सम्म राष्ट्रिय टोलीमा रहँदा उनले ४१ अन्तर्राष्ट्रिय खेल खेले । खड्काकै प्रशिक्षणमा नेपालले १२औँ सागमा महिला फुटबलतर्फ रजत हात पारेको थियो । यसैगरी घरेलु महिला फुटबलकै एक नम्बर स्ट्राइकर भण्डारीले राष्ट्रिय टोलीबाट सर्वाधिक ३८ गोल गरेकी छिन् । 

उनले अनु लामाको कीर्तिमान तोडेकी हुन् । नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि दुईपटक जित्दा भण्डारी नै सर्वाधिक गोलकर्ताका रूपमा रहिन् । एपिएफमा उनी सन् २०१४ देखि आबद्ध छिन् । पछिल्लो समय उनी भारतको गोकुलम केरलासँग आबद्ध छिन् । उनले केरलाबाट सात खेलमा १९ गोल गरेकी छिन् । सन् २०१४ देखि महिला टोलीमा स्थान बनाएकी भण्डारीले ३४ अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् ।

भण्डारीले २०१४ मा सम्पन्न साफ महिला च्याम्पियनसिपमा डेब्यु गरेकी थिइन् । भूटानविरुद्धको खेलमा उनले एक गोल गरिन् । त्यसपछि २०१६ मा भारतमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा उनले श्रीलंकाविरुद्ध दुई गोल गर्न सफल भइन् । सोही वर्ष मलेसियाविरुद्ध भएको मैत्रीपूर्ण खेलमा उनले नेपालका लागि एक मात्र विजयी गोल गरेकी थिइन् । 

२०१६ को साफ महिला च्याम्पियनसिपमा उनले भुटानमाथि ६ गोल तथा माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी थिइन् । यसैगरी फुटबलबाटै सम्मानित हुने अनन्त थापा पुलिस क्लबमै आबद्ध छन् । राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहेका थापा प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित भए । 

पछिल्लो दुई वर्ष उमेर समूहको अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलमा तहल्का मच्चाइरहेका नेपालका प्रिन्स दाहालले प्रवल जनसेवा श्री पञ्चमबाट सम्मानित भए । दाहाल हाल विश्व ब्याडमिन्टन संघले जारी गरेको उमेर समूहको विश्व वरीयताको तेस्रो स्थानमा छन् । ब्याडमिन्टनको विश्व वरीयतामा शीर्ष तीनभित्र रहने उनी एक मात्र नेपाली खेलाडी हुन् । 

उनले एकैपटक आठ स्थान फड्को मार्दै तेस्रो स्थान प्राप्त गरेका हुन् । दाहालले १० हजार चार सय वरीयता अंक जोडेका छन् । उनको करिअरमा सबैभन्दा ठूलो सफलता नै दुई वर्षअघि दुबईमा सम्पन्न दुबई ओपन अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता नै हो । यस प्रतियोगितामा उनले ऐतिहासिक प्रदर्शन गर्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय एकल उपाधि दिलाएका थिए ।

उनले फाइनलमा भारतका शीर्ष वरीयताका विकास प्रभुलाई २१–१९, १३–२१ र १६–२१ मा हराएका थिए । यसैगरी २०२० को योनेक्स जर्मन जुनियर च्याम्पियनसिपमा उनी प्रिक्वार्टरफाइनलसम्म पुगे । नेदरल्यान्ड्समा भएको योनेक्स डच अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा उनी अन्तिम १६ बाटै बाहिरिए । २०२० मै नेपालमा सम्पन्न प्रेसिडेन्ट कपमा उनले भारतका मेरावा लुवाङलाई हराउँदै उपाधि हात पारे ।

करोतका मन्देकाजी श्रेष्ठले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा दोहोरो स्वर्णपदक जिते । सागको एकै संस्करणमा नेपाललाई करातेबाट दुई स्वर्ण जित्ने उनी एक मात्र खेलाडी हुन् । श्रेष्ठ चतुर्थ पदवीबाट सम्मानित भएका हुन् । यसैगरी राष्ट्रिय क्रिकेट पुरुष टोलीका सिनियर खेलाडी सोमपाल कामी जनसेवा प्रथम श्रेणी विभूषणबाट सम्मानित भएका छन् । 

अलराउन्डर खेलाडी कामीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा हङकङविरुद्ध उनले अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गर्न अवसर पाए । सन् २०१४ मा उनले युएईविरुद्ध लिस्ट ए डेब्यु गरे ।

भलिबलका पूर्वराष्ट्रिय खेलाडी भरत शाह, एथलेटिक्सका प्रशिक्षक यादव र बडिबिल्डर महेश्वर महर्जन प्रवल जनसेवा श्री चतुर्थबाट विभूषित भएका छन् । राष्ट्रपतिबाट सम्मानित भएकाहरूले सामाजिक सञ्जालमा धन्यवाद र खुसी व्यक्त गरेका छन् ।