मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २८ शनिबार ०७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बादललाई सांसद पदबाट हटाउन माओवादीको पत्राचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २८ शनिबार ०७:३१:००

नेकपा माओवादी (केन्द्र)ले रामबहादुर थापा बादललाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाएको छ । थापाले दल त्याग गरेको भन्दै माओवादीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पदबाट मुक्त गरिदिन शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएको हो ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद तथा सरकारमा गृहमन्त्री बनेका थापा अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ ले राजनीतिक दल त्याग गर्न नहुने प्रावधान राखेको छ । संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले दल त्यागसम्बन्धी पत्र आइपुगेको जानकारी दिए । ‘दल त्यागसम्बन्धी पत्र आइपुगेको छ, संसद् सचिवालयले सूचना टाँसेपछि उहाँ पदमुक्त हुनुहुनेछ,’ सूचना अधिकारी धमलाले नयाँ पत्रिकासँग भने ।

संविधानअनुसार सदनमा सभामुख वा अध्ययक्षले दल त्यागसम्बन्धी सूचना पढेर सुनाएपछि वा संसद् सचिवालयले सूचना टाँसेपछि सांसद पदमा नरहने व्यवस्था छ । हाल राष्ट्रिय सभा अधिवेशन नचलेकाले संसद् सचिवालयले सूचना निकालेपछि थापाको सांसद पद सकिनेछ ।

तर, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना स्पेन भ्रमणमा रहेकाले उनी नेपाल फर्केपछि मात्रै सूचना निकालिने संसद् सचिवालयको भनाइ छ । अध्यक्ष तिमल्सिना १ वैशाखमा नेपाल फर्कनेछन् ।

यसअघि माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दल त्याग गरेकै कारणले पद मुक्त भइसकेका छन् । सभामुख सापकोटाले बिहीबार प्रतिनिधिसभामा दल त्यागसम्बन्धी सूचना पढेर सुनाएपछि उनीहरू पदमुक्त भएका हुन् ।