मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुकुम्बासीका घर भत्काउँदै दमक नगरपालिकाका डोजर । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०७७ चैत २८ शनिबार ०६:४२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीको गृहनगरमा विपन्नमाथि अत्याचार : सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी बस्तीमा डोजर 

Read Time : > 3 मिनेट
२०७७ चैत २८ शनिबार ०६:४२:००

चार दशकदेखि ओत लागेको घर डोजरले भत्काएपछि दमक–७ हाटखोला र पञ्चमुखीका २० सुकुम्बासी परिवार खुला आकाशमुनि 

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी वस्तीमा डोजर चलाइएको छ । शुक्रबार घर भत्काइएपछि दमक– ७ हाटखोला र पञ्चमुखीमा बसिरहेका २० परिवार सुकुम्बासीको उठीवास लागेको छ । झन्डै चार दशकदेखि बसिरहेका उनीहरूको व्यवस्थापन गर्न नगरपालिकाको चासो छैन। 

सुकुम्बासीलाई घरविहीन बनाएर नगरपालिकाले हाटखोलामा ४० करोड लागतमा साततले ‘सपिङ कम्प्लेक्स’ बनाउँदै छ । त्यसको डिपिआरसमेत तयार भइसकेको दमकका मेयर रोमनाथ ओलीले बताए । पञ्चमुखीमा पनि व्यापारिक भवन बनाउने नगरपालिकाको योजना छ । 

नगरपालिकाले सुकुम्बासीका घर भत्काउने सूचना १५ दिनअघि जारी गरेको थियो । तर, प्रतिकार हुने डरले शुक्रबार बिहान करिब सयजना नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दुवै बस्तीमा खटाइयो । र, कडा सुरक्षाबीच तीनवटा डोजर लगाएर सुकुम्बासीका घर भत्काइए । ‘वैकल्पिक व्यवस्था हुनुपर्छ’ भनेर आवाज उठाउने बस्तीका ६ जनालाई बिहान पक्राउ गरेर साँझ मात्रै छाडिएको छ ।

हाटखोलामा १५ र पञ्चमुखीमा पाँच घर भत्काइएका छन् । निरीह सुकुम्बासी आफ्ना घर भत्काएको टुलुटुलु हेर्न विवश भए । ३५ वर्षदेखि हाटखोलामा बसिरहेका मिठु तामाङ अन्तिमसम्म घरजग्गा नछाड्ने अडानमा थिए । त्यही भएर छिमेकी र परिवारका सदस्यले सम्झाउँदासमेत उनले घरभित्रको सामान निकालेका थिएनन् । तर, राज्यका सामु उनको केही चलेन । ‘हामीले न्याय कसरी पाउने ? ०४२ सालदेखि यहाँ बसिरहेको छु । अहिले आएर नगरपालिकाले प्रहरी लगाएर लखेट्ने ?’ मिठुले भने, ‘यो सरकार कसका लागि हो ?’

बस्तीमा नगरपालिकाले डोजर चलाउँदै छ भन्ने खबर हाटखोला र पञ्चमुखीमा बिहानै पुगिसकेको थियो । नगरपालिकाले डोजरभन्दा अघिअघि सुरक्षाकर्मी पठायो । उनीहरूले बस्ती नै घेरा हाले । ठूलो संख्यामा सुरक्षाकर्मी अगाडि उभिएपछि सुकुम्बासीले केही बोल्न सकेनन् । घर आफैँ भत्काउने भन्दै डोजर नलगाइदिन मात्रै उनीहरूले अनुनय गरे । ‘सर ! घर हामी आफैँ भत्काउँछौँ । डोजर लगाउँदा काठपात बिग्रन्छ । आफैँ भत्काउँदा अलिअलि भए पनि जोगिन्छ नि !’ सुकुम्बासी लक्ष्मी मगर भन्दै थिइन् । तर, प्रहरीले उनको कुरै सुनेन, बस्तीमा डोजर चल्यो । मक्किएका काठका घर एकैछिनमा खल्र्यामखुर्लुम भए । 

घर भत्काइएका सुकुम्बासीहरू खुला आकाशमुनि पुगेका छन् । कहाँ बस्ने र के खाने भन्ने चिन्ताले उनीहरूलाई सताएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने उनीहरू घर भाडा तिर्न सक्ने अवस्थामा पनि छैनन् । ‘नगरपालिकाले केही भनेको छैन । अब कहाँ जाने होला ?’ सीता नेम्वाङले भनिन्, ‘कहीँ केही छैन । ओत लाग्ने घर पनि भत्काइदिए । भाडामा बस्न पैसा छैन ।’ 

डोजर लगाउनुअघि हाटखोलास्थित सुकुम्बासी बस्तीमा पुगेका सशस्त्र र नेपाल प्रहरी । 

चुनावका वेला बसोवासको व्यवस्था गर्ने आश्वासन बाँडेका नेताहरूले नै आफूहरूलाई सडकमा पुर्‍याएको सुकुम्बासीहरूको गुनासो छ । ‘चुनावमा हामीलाई नेताले भर्‍याङ बनाए । हाम्रा नारा उठाएर भोट दिउँ–दिउँ लाग्ने बनाए,’ सुकुम्बासी गीता नेपालले भक्कानिँदै भनिन्, ‘तर, सत्तामा पुगेपछि पहिलो प्रहार हामीमाथि नै गरे । प्रधानमन्त्री पनि हाम्रै ठाउँको हुनुहुन्छ । फेरि पनि किन आज हामीलाई घरविहीन बनाइयो ? राज्यले किन लखेट्यो ?’ अधिकांश सुकुम्बासी तीन दशकभन्दा बढी समयदेखि यहाँ बसोवास गर्दै आएका छन् । 

प्रहरीले नियन्त्रणमा लिएका ६ जनालाई साँझ ७ बजे मात्रै छाडेको छ । बिहान ७ बजेतिर विमला विक, धनी बराइली र छबकुमारी लिम्बूलाई नियन्त्रणमा लिइएको थियो भने घरहरू भत्काउने क्रममा दिलबहादुर शंकर, राम सम्बाहाम्फे र शर्मिला लिम्बूलाई पनि पक्राउ गरिएको थियो । ‘हामीले आवाज उठाउन पनि नपाउने हो ? विनाकारण किन थुनियो ?’ प्रहरी हिरासतबाट छुटेपछि विमलाले भनिन् । इप्रका दमकका डिएसपी नवराज कार्कीले भने घर भत्काउने काममा अवरोध गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए । 

एक वर्षअघि पनि यहाँका केही घरमा डोजर चलाइएको थियो । त्यतिखेर नगरपालिकाले सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासन दिएको थियो । तर, अहिलेसम्म गरेको छैन । ‘मलाई एक वर्षअघि यहाँबाट खेदायो । म यहीँ जन्मिएको थिएँ । तर, जग्गा तेरो होइन भनेर घर भत्काइदियो,’ पप्पु चौधरीले भने, ‘म ठेला चलाएर पाँचजनाको परिवार चलाउँदै आएको छु । अहिले भाडामा बस्छु । घरभाडा तिर्न पनि मुस्किल परेको छ ।’

नगरपालिकाले सुकुम्बासीलाई घरविहीन बनाएर हाटखोलामा ४० करोड लागतमा साततले ‘सपिङ कम्प्लेक्स’ बनाउँदै छ । त्यसको डिपिआर पनि तयार भइसकेको मेयर रोमनाथ ओलीले बताए । त्यस्तै, पञ्चमुखीमा पनि व्यापारिक भवन बनाइने उनले बताए । एमालेबाट निर्वाचित दमकका मेयर रोमनाथ नातामा प्रधानमन्त्री ओलीका भतिजा हुन् । उनले अधिकांश निर्णय प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर गर्ने गर्छन् ।

मेयर ओलीले भने घर भत्काइएकाहरू सुकुम्बासी नभएको दाबी गरे । ‘सुकुम्बासीहरूलाई त पोहोर साल नै नमुनाबस्तीमा लगेर राखेका छौँ । यहाँ त सबै आफ्नो घर भएका छन्, उनीहरू सुकुम्बासी होइनन्,’ उनले भने, ‘अब उनीहरू आ–आफ्नो घर गएर बस्छन् । नगरपालिकाले यहाँ सपिङ कम्प्लेक्स बनाउँछ ।’

राज्यले सुकुम्बासी बनाएका पदमबहादुर !

हाटखोलाका ७१ वर्षीय पदमबहादुर माझी शुक्रबार बिहान बेचैन थिए, अनुहारमा त्रास थियो । उनको घर पनि डोजरले भत्काउँदै थियो । आँखाभरि टिलपिल आँसु बनाएका पदमबहादुरको हातमा हरियो झोला थियो । झोलाभित्रका कागजातका प्रमाण भन्दै थिए– डोजर लगाउँदै गरेको १० कट्ठा १६ धुर जग्गा नगरपालिकाको होइन, पदमबहादुरको हो । कागज देखाउँदै उनी भन्दै थिए, ‘जग्गा मेरै हो, मलाई न्याय दिनुहोस् ।’ तैपनि उनकै अगाडि घरमा डोजर लगाइयो । सडकको पिँढीमा बसेर उनी टुलुटुलु हेरिरहे । 

नगरपालिकाले जग्गा हडपेर आफूलाई सुकुम्बासी बनाएको दाबी पदमबहादुरको छ । ०२१ सालअघिसम्म यो जग्गा उनकी हजुरआमा हरिमाया मझिनीको नाममा थियो । कित्ता नम्बर ६४२ को ११ कट्ठा चार धुर जग्गा उनको नाममा दर्ता थियो । त्यसमध्ये आठ धुर जग्गा उनले ०२९ मा स्थानीय आसबहादुर श्रेष्ठलाई बेचिन् । आसबहादुरले त्यहाँ पक्की घर बनाए । ०३८ मा भूमिसुधार कार्यालय झापाबाट आसबहादुरले उक्त जग्गा आफ्नो नाममा पास गरेको प्रमाण भेटिन्छ । आसबहादुरको निधनपछि जग्गा उनका छोरा जुद्धबहादुरको नाममा आएको छ । जुद्धबहादुरले आठमध्ये चार धुर जग्गा दमक नगरपालिकालाई बेचेका थिए ।

त्यही चार धुर किनेका आधारमा नगरपालिकाले आफ्नो दश कट्ठा १६ धुर पनि हडपेको दाबी छ पदमबहादुरको । ‘सरकारले नै मलाई सुकुम्बासी बनायो । यो जग्गा हाम्रो हो । अहिले नगरपालिकाले आफ्नो भन्दै घरहरू भत्काउँदै छ । हामीले बेचेको आठ धुरलाई आधार मानेर नगरपालिकाले सबै जग्गा नै आफ्नो बनायो,’ आफूसँग भएको कागज देखाउँदै उनले भने, ‘पहिला हाम्रो थिएन भने यी कागज कसरी बने ? ०४५ सालसम्म त मालपोत पनि तिरेकै थिएँ । त्यसपछि पो लिन छाडे त !’ हजुरआमा हरिमायाले आसबहादुरलाई जग्गा बेच्दादेखिका कागजपत्र उनीसँग छन् । 

तर, दमक नगरपालिकाका मेयर ओलीले नक्कली कागजात देखाएर पदमबहादुरले जग्गा लिन खोजेको बताए । ‘त्यो कागजको कुनै अर्थै छैन । कागज कसैले बनाएको हो । आधिकारिकता छैन । जग्गा उसको भएको भए त नगरपालिकाको नाममा हुने थिएन होला नि !’ मेयर ओलीले भने, ‘०३२ सालदेखि नगरपालिकाको नाममा फिल्डबुक भएको जग्गा हो, त्यो ।’