मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १७:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो भएर उभिनुपर्छ : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १७:०१:००

नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् । काठमाडाैंमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेका हुन् ।

उनले संस्था बलियो बनाउनेभन्दा व्यक्ति बलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको र देशका संवैधानिक संस्थाहरूलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए । 

‘२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिइसकेपछि पार्टीको तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु– एउटा आशंका छ कि तपाईंको पृष्ठभूमि हेर्दा, तपाईंको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरू बलियो बनाएर, पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्नभन्दा पनि व्यक्ति बलियो भयो भने  परिणाम आउँछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ । यो  भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु । त्यो भनिरहँदा यो नहोस् भन्ने थियो ।’

संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा लैजान्छ भन्ने अपेक्षा भए पनि विगतमा आशंका गरिएजस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे । संसद्, अदालत, संवैधानिक निकायहरू, आयोगहरू, प्रशासनलगायत सबैतर्फ अस्तव्यस्त रहेको भन्दै उनले स्थिर सरकारले दीर्घकालीन सोच राखेर नभई व्यक्ति केन्द्रित शक्ति एकीकृत गर्ने ढंगबाट अघि बढेको बताए । 

विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबर्जस्त विभाजन गर्ने प्रयास गरेको दाबी गरे । पछिल्लो समय ओली पक्षमा रहेका समूह विकासप्रेमी र ओलीको विपक्षमा उभिनेहरू विकासविरोधीको कित्तामा देखिएको तर्क गरे ।

उनले भने, ‘पपुलिस्ट लिडरको क्यारेक्टर एउटै हुन्छ । पपुलिस्ट लिडर देशको समस्याहरू अत्यन्तै सामान्य छन् । मभन्दा अगाडिका शासकहरू खराब र अयोग्य भएकाले गर्न नसकेको हो । तर, मसँग क्षमता छ त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ ।’ उनले वर्तमान सरकारले नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरे ।