१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २७ शुक्रबार ११:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेठबाट दोर्दी खोला  जलविद्युत्को उत्पादन सुरु हुने

Read Time : > 1 मिनेट
२०७७ चैत २७ शुक्रबार ११:२५:००

२७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले जेठमा विद्युत् उत्पादन गर्ने भएको छ । गत भदौमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको निर्माण अवधि १० महिनापछि धकेलिएको प्रवर्द्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका इन्जिनियर एवं आयोजनाको साइट इन्चार्ज दीपक ज्ञवालीले बताए । उनका अनुसार कोभिड–१९ का कारण निर्माण कार्य प्रभावित भएको हो । 

त्यसपछि फागुनबाट विद्युत्को परीक्षण उत्पादन थाल्ने योजना थियो, त्यो मिति सरेर जेठमा पुगेको हो । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको निर्माणकार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । उनका अनुसार बाँधको संरचना निर्माण सकिएको छ । पावर हाउसको ९५ प्रतिशत काम सकिएको र इलेक्ट्रोनिक मेकानिकलको काम भइरहेको छ ।

आयोजनामा २७ सय ७० मिटर सुरुङ र ३ हजार २ सय मिटर पाइपलाइन हुनेछ । पानीको बहावमा आधारित (रन अफ रिभर) प्रकृतिको उक्त आयोजना ०७१ फागुनबाट निर्माण सुरु भएको थियो । पछिल्लो समय आयोजनाको निर्माण कार्य ०७४ असारसम्म सक्ने लक्ष्य लिइएको थियो । भूकम्प, नाकाबन्दी, वर्षा, आयोजना निर्माणका क्रममा आन्तरिक समस्या, प्रसारण लाइन अभाव, कोरोनाका कारणले निर्माण कार्य तीन वर्ष ढिला सम्पन्न हुने कार्यकारी निर्देशक ढकालले बताए । 

आयोजनाको दोर्दी गाउँपालिका–६, ढोडेनी र ८ बन्सारबीचको दोर्दी खोलामा बाँध निर्माण गरिएको छ । बेँसीसहर नगरपालिका–११, चितीको रामचोकबेँसीनजिकै मस्र्याङ्दी नदी–किनारमा विद्युत्गृह निर्माणाधीन छ । उत्पादित विद्युत् उदीपुरस्थित निर्माणाधीन १ सय ३२ केभीको सबस्टेसनमा जोडिनेछ । आयोजनाका साइट इन्चार्ज ज्ञवालीका अनुसार आयोजनाको ग्रस हेड २ सय १२ मिटर छ ।

आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघन्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणलाई भने १४२ दशमलव ३१ गिगावाट प्रतिघन्टा विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ । आयोजनाले प्राधिकरणसँग चलनचल्तीको दरअनुसार हिउँद (सुक्खा याम) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो । ०६९ असार १ गते पिपिए गरेको आयोजनाले २ वर्षपछि निर्माण थालेको थियो । 

गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५ दशमलव ७ प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव ३० प्रतिशत र स्थानीय र सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको सेयर छ । यसका लागि प्राइम कमर्सियल बैंकको अगुवाइमा ७ वटा बैंक र एउटा जलविद्युत् विकास तथा लगानी कम्पनीको बैंक तथा वित्तीय संस्थाको ७५ प्रतिशत ऋण र प्रवर्द्धकको ३५ प्रतिशत इक्विटी रहनेछ । आयोजना निर्माणको कुल लागत ४ अर्ब ६१ करोड पुग्ने अनुमान गरिएको छ ।