मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २७ शुक्रबार ११:००:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत भन्सार जाँच चौकी निर्माण रफ्तारमा

Read Time : > 1 मिनेट
२०७७ चैत २७ शुक्रबार ११:००:००

जग्गा अधिग्रहणको १५ वर्षपछि निर्माण सुरु भएको नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी)ले रफ्तार समातेको छ । भारत सरकारले ठेक्कामार्फत काम थालेपछि निर्माणले गति लिएको भवन डिभिजन समन्वय इकाइ कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले बताए ।

८७ बिघा क्षेत्रफल ओगट्ने आइसिपी निर्माणका लागि सरकारले ०६६/६७ मै नौ करोड ३९ लाख रुपैयाँ मुआब्जा दिएर जमिन अधिग्रहण गरेको थियो । तर, लामो समयसम्म निर्माण कार्य अघि बढ्न सकेको थिएन । ‘जमिन अधिग्रहण भएको १५ वर्ष हुन लाग्दा पनि निर्माणको काम सुरु हुन नसक्दा आशा मरिसकेको थियो,’ इन्जिनियर भुसालले नयाँ पत्रिकासँग भने, ‘भारत सरकारले ठेक्का दिएर निर्माण कार्य सुरु भएपछि आशा जागेको छ ।’ उनले २६ फेब्रुअरी ०२१ देखि निर्माणको काम सुरु भएको जानकारी दिए । 

आइसिपी निर्माणको जिम्मा लिएको कम्पनीले मजदुर र आयोजनाका अन्य कर्मचारी बस्ने भवन निर्माण गरिसकेको छ । ‘पछिल्लो समय कामको प्रकृति हेर्दा आशा जागेको छ,’ उनले भने । भारत सरकारको एक अर्ब ४७ करोड भारतीय रुपैयाँ अर्थात् दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा आइसिपी निर्माण भइरहेको छ । 

भारत सरकारले ९ जुन २०२२ मा निर्माण सक्ने गरी सम्झौता गरिएको इन्जिनियर भुसालले बताए । उनले भने, ‘निर्माण गर्नुपर्ने संरचना त धेरै छन्, तर कामको रफ्तार राम्रो देखिएकाले समयमा सम्पन्न हुने देखिन्छ ।’ भारत सरकारले नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गरिदिने प्रतिबद्धतासहित सन् २००५ मा दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेका थिए । विराटनगर र वीरगन्जको निर्माण पूरा भई सरकारले स्वामित्व ग्रहण गरिसकेको छ । 

प्रगति देखेर आशावादी छु : प्रजिअ कुरुम्बाङ
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिएको बताए । केही अघि निर्माणबारे बुझ्न निर्माणस्थल पुगेका प्रजिअ करुम्बाङले प्रगति देखेर आफू आशावादी भएको बताए । ‘निर्माणमा भएको प्रगतिबारे ठेकेदार कम्पनीले दिएको जानकारी सुन्दा र भइरहेको प्रगति देख्दा खुसी लाग्यो,’ उनले भने । आइसिपीका लागि सडक निर्माण पनि धमाधम भइरहेको छ । आइसिपीदेखि झन्डै तीन किलोमिटर सडकमा माटो कटानको काम करिब सम्पन्न भएको छ ।