मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
इन्गर यासिङ
२०७७ चैत २७ शुक्रबार १०:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

म्यानमार बालबालिकाका लागि असुरक्षित

Read Time : > 2 मिनेट
इन्गर यासिङ
२०७७ चैत २७ शुक्रबार १०:५३:००

सैन्य ‘कु’ भएयताको दुई महिनामा म्यानमारमा ४३ बालबालिकाले ज्यान गुमाएका छन्, उनीहरूले अत्यन्त आवश्यक सहयोग पनि पाइरहेका छैनन्

२७ मार्चमा म्यानमारको याङ्गुनमा एकजना १० वर्षका बालक १३ वर्षका आफ्ना साथीसँग खेलिरहेका थिए । बालकहरूमा विश्वका अन्य भागका बालबालिकामा जस्तै निर्दोषिता र चञ्चलता थियो । तर, खेलमा मग्न ती बालक केही क्षणमै सिर्जना हुन लागेको संकटबारे पूर्ण रूपमा बेखबर थिए । तिनले खेलिरहेको स्थानबाट केही पर भइरहेको प्रदर्शनलाई तितरबितर बनाउन एक्कासि सैन्य ट्रक आयो । र अन्धाधुन्ध गोली बर्साउन थाल्यो । गोलीबारीबाट त्रसित बालकहरू एकअर्काको हात समाएर भाग्न थाले । भाग्ने क्रममा १३ वर्षे बालकको टाउकोमा गोली लाग्यो र उनी ढले । जीवित बालक उम्किन भ्याएकाले बाँचे । पछि आफ्नो साथीको दाहसंस्कारमा १० वर्षका बालक पनि उपस्थित थिए । 

एउटा बालकले आफ्नो साथीको टाउकोमा गोली हानेको देख्नुपर्ने स्थिति कति भयावह होला ? २७ मार्चका दिन याङ्गुनमा मारिएका बालक फेब्रुअरीको कुपछि मारिएका ४३ बालकमध्ये एक हुन् । अब म्यानमार बालबालिकाका लागि सुरक्षित रहेन । पछिल्ला केही साताका घटनाक्रम हेर्दा बालबालिका तिनकै घरमा समेत सुरक्षित हुन छाडेका छन् । ‘सेभ द चिल्ड्रेन’ आबद्ध म्यानमारका मेरा सहकर्मीले बताएअनुसार कम्तीमा तीनजना बालबालिकालाई सेनाले घरभित्रै मारेको छ । घरमै मारिएका बालबालिका ७, ११ र १२ वर्ष उमेरका छन् । दुई साताअघि मारिएकी एक ६ वर्षीया बालिकाबारे विश्वभरका सञ्चारमाध्यमले महत्व दिएका थिए । 

बालबालिका प्राणघातक आक्रमणको सिकार हुनु दुःखद हो । सम्पूर्ण बालबालिकालाई हिंसामुक्त वातावरणमा हुर्किने अधिकार छ । सेनाको हातबाट यति धेरै बालबालिका मारिएबाट तिनले मानवजीवन र अन्तर्राष्ट्रिय कानुनप्रति पूर्ण बेवास्ता गरेको बुझ्न सकिन्छ ।

बालबालिकाहरू प्राणघातक आक्रमणको सिकार हुनु दुःखद कुरा हो । सम्पूर्ण बालबालिकालाई हिंसामुक्त वातावरणमा हुर्किने अधिकार छ । सेनाको हातबाट यति धेरै संख्यामा बालबालिका दैनिकजसो मरेबाट तिनले मानवजीवन र अन्तर्राष्ट्रिय कानुनप्रति पूर्ण बेवास्ता गरेको देखिन्छ । ‘सेभ द चिल्ड्रेन’ र उसका सहयात्रीले सम्भव भएसम्म क्षति पुगेका बालबालिकालाई सहयोग पुर्‍याउँदै आएको छ । संस्थाका कर्मचारीले हिंसा भोगेका बालबालिकालाई घटनास्थलमै गएर भावनात्मक सुरक्षा दिने गर्छन् । साथै उनीहरूले गम्भीर प्रकृतिको मानसिक स्वास्थ्यको खाँचो भएकाहरूलाई विशेषज्ञकहाँ रिफर गर्छन् । यस्तै एकजना १२ वर्षीया बालिकालाई हाम्रो टिमका सदस्यले सहयोग गरे । करेन राज्यको एक गाउँमा बस्ने ती बालिकाका दुई बहिनी (एक दुई वर्षकी, अर्की चार वर्षकी) सशस्त्र आक्रमणमा मारिए । यो दृश्य उनले आफ्नै आँखाले देखिन् । यसले उनको मानसिक स्थितिमै गम्भीर आघात पुर्‍याएको छ । 

कैयाैँ बालबालिकाहरूले परिवार सदस्य गुमाएका छन् । केही यो भयावह स्थिति बुझ्न सक्ने अवस्थामा छैनन् । आफ्ना पिता गुमाएकी एक बालिका पिता ‘सुतेको’ विश्वासमा छिन् । हामी बालबालिका तथा तिनका संरक्षकलाई संकटको समयमा आफ्नो मानसिक स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने भन्ने सल्लाह दिने डिजिटल सामग्रीको विकास गरिरहेका छौँ । असुरक्षा र कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका कडाइले धेरैजसो काम टाढैबाट गरिँदै छन् । धेरै बालबालिकाहरूले अत्यन्त आवश्यक सहयोग पनि पाइरहेका छैनन् । केही बालबालिकाले सामना गरिरहेको अदृश्य चोटहरूको अवस्था उस्तै भयानक छ । हिरासतमा रहेका दुई हजार ६०८ व्यक्तिमध्ये २० जना बालबालिका छन् । कारागार बालबालिकाको स्थान होइन । हिरासतको भोगाइले तिनको मनस्थितिमा ठूलो आघात पुर्‍याउँछ । विशेषतः पहिलेदेखि भय, वियोग र चोटसँग संघर्ष गरिरहेका बालबालिकामाथि पछिल्लो वातावरणले ठूलो आघात पुर्‍याएको छ । जेलमुक्त भएका बालबालिकामा अझै डरले जरा गाडेको छ । 

संसारका प्रत्येक युद्धमा बालबालिकाहरू अनाहकमा घानमा पर्छन् । तिनको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । म्यानमारका बालबालिकलाई सुरक्षा दिने एउटै मार्ग त्यहाँका सम्पूर्ण मानिसविरुद्धको हिंसा रोक्नु नै हो । सेभ द चिल्ड्रेनले थप बालबालिका हताहती वा मृत्यु हुनुअघि नै प्रदर्शनकारीमाथिको सांघातिक हमलालाई तत्कालै बन्द गर्न आह्वान गर्दै आएको छ । तर, बोलेर मात्र स्थिति बदलिनेवाला छैन, केही कारबाही चाल्नुपर्ने देखिन्छ । ‘सेभ द चिल्ड्रेन’ म्यानमारका बालबालिकाको सुरक्षा र भलाइका लागि हरसम्भव प्रयास गरिरहेको छ । तर, म्यानमारका नागरिकको जीवन र स्वतन्त्रताको रक्षाका लागि विश्वनेताले अग्रसरता लिनुपर्छ । 

(यासिङ सेभ द चिल्ड्रन इन्टरनेसनलकी चिफ एक्जेक्युटिभ अफिसर हुन्) 
अलजजिराबाट