Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दुर्गा बराइली
२०७७ चैत २७ शुक्रबार ०९:२२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समाज विभाजनको मूल जड

Read Time : > 3 मिनेट
दुर्गा बराइली
२०७७ चैत २७ शुक्रबार ०९:२२:००

कुनै पनि समाज किन विभाजित हुन्छ ? समाजमा द्वन्द्वको अवस्था किन सिर्जना हुन्छ ? यस प्रश्नको जवाफ सरल छैन । यसको जवाफ खोज्न सर्वप्रथम नेपाली समाजको जातीय तहगत संरचनाको निर्माण कसरी हुन पुग्यो, त्यो हेर्नुपर्छ । वर्णाश्रम व्यवस्थाद्वारा निर्मित जातको तहगत संरचनाले नेपाली समाजका हरेक क्षेत्रमा वा राज्यका अंगहरूमा घुसेर पिँधसम्म पुगी विभिन्न जातिबीच फुट पैदा गरी एक–अर्कामा विभाजन गराएको छ ।

समाजको विद्यमान विभाजन, जातीय उत्पीडन एवं विभेदको मूल कारण जात वा वर्णव्यवस्था नै हो । आज नेपाली समाजको बनोट उच्च जातीय तहगत संरचनाद्वारा निर्माण भएकाले र जातीय दम्भ एवं अहंकारवादी सोच, चिन्तन तथा प्रवृत्तिहरू झांगिँदै र मौलाउँदै गएकाले नेपाली समाज विघटनको दिशातर्फ उन्मुख भइरहेको छ । एक्काइसौँ शताब्दीको ज्ञान, विज्ञान, डिजिटल प्रविधि र परिवर्तन एवं रूपान्तरणको युगमा आइपुग्दा हामी कहाँ अल्झिरहेका छौँ ? हाम्रो उल्झन केमा छ ? के हामी यस प्रकारको जड चिन्तनलाई भत्काउन सक्दैनौँ ? हामीले मूलभूत रूपमा चर्चा गर्नुपर्ने विषयहरू यिनै हुन् । 

यसरी भयो तहगत संरचनाको निर्माण : वर्णव्यवस्था हिन्दू धर्मको आधारशिलामा निर्मित र संरक्षित छ । जात के हो वा जाति के हो भन्नेबारे विभिन्न मत वा धारणा पाइन्छन् । पोर्चुगिज भाषा ‘कास्टा’बाट आएको यो शब्दको अर्थ मत–भेद वा जाति भन्ने हुन्छ । जाति नेपाली वा भारतीय समाजको एक महŒवपूर्ण सांस्कृतिक परिघटना हो । जाति शब्द हिन्दू समाजको एक महत्वपूर्ण संस्था हो । इस्वी १६६५ मा ग्रेसिय डी ओरेटोले जाति शब्दको सर्वप्रथम प्रयोग गरेका थिए । जाति एक बन्द संरचना पनि हो । जब कुनै शिशु जन्मिन्छ, उसको जात आमा–बाबुको जातबाटै राखिन्छ ।

वर्णाश्रम व्यवस्थाद्वारा निर्मित जातको तहगत संरचनाले नेपाली समाजका हरेक क्षेत्रमा वा राज्यका अंगमा घुसेर पिँधसम्म पुगी विभिन्न जातिबीच फुट पैदा गरी एक–अर्कामा विभाजन गराएको छ

 शिशुले पछि चाहेर पनि आफ्नो जात फेर्न सक्दैन । वर्णव्यवस्थाको निर्माण र उत्पत्ति कसरी भयो ? कसरी वर्णव्यवस्थामा आधारित समाजको निर्माण हुन पुग्यो ? यसबारे बुझ्न केही सभ्यता र जातिहरूका बारेमा चर्चा गर्नुपर्ने हुन्छ । केही विद्वान्हरूका अनुसार पहिला आर्यहरू डैन्ब्यु नदीको आसपास अस्ट्रिया–हंगेरीको मैदानमा बसोवास गर्थे । केही जानकारहरूका अनुसार आर्यहरूको आदिम वासस्थान दक्षिण रुस थियो । अधिकांश विद्वान्हरूका मतअनुसार आर्यहरू एसियाको मैदानी भागमा रहन्थे, मध्यएसियाबाट मेसोपोटामियाको सभ्यतालाई जितेर आफ्नो राज्य स्थापित गर्न पुगे । बेबिलोन (अहिलेको इरान, इराक)का इतिहासमा आर्य ‘मिटन्नी’नामबाट प्रसिद्ध छ । 

इसाको १५०० को आसपासमा मेसोपोटामियाको सभ्यतालाई नष्ट गर्ने तिनै आर्यका पुर्खा थिए । जसले भारतबाट मूल निवासी द्रबिडलाई हराएर वेदको रचना गरे । इसाको १५औँ देखि एक हजार आसपासको समयलाई वैदिक सभ्यताको काल भनिएको थियो । दशौँ अध्यायलाई पुरुषशुक्त वा मण्डल पनि भनिन्छ । दशौँ अध्याय सबै मण्डलभन्दा नवीन हो, जसमा एक विराट परमपुरुष परमात्मा वा ईश्वर भनिएको छ । जसको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, पेटबाट वैश्य र पैतालाबाट शूद्र उत्पन्न भयो भनिएको छ । त्यसैका आधारमा समाज अघि बढिरहेको छ ।

ऋग्वेदपश्चात दोस्रो ऐतिहासिक आधार उपनिषद रहेको छ । उपनिषद दुई प्रकारको छ– एक ः बृहत् उपनिषद, दुई ः छान्दुम उपनिषद (क) कर्म वा सेवा बृहत् उपनिषद जसलाई वृर्दानृत्य उपनिषद भनिन्छ । जसका अनुसार ब्रह्माले सबैभन्दा पहिला ब्राह्मणको उत्पत्ति गरे । ब्राह्मणले आफ्नो क्षमताअनुसारको काम ठीक ढंगले नगरेपछि क्षत्रीको उत्पति गरे । क्षत्रीले पनि उक्त ब्रह्माको आज्ञा पालन नगरेका कारण वैश्यको उत्पत्ति गरे र अन्त्यमा वैश्य पनि आफ्नो जिम्मेवारी पूरा गर्न अक्षम भएपछि शूद्रको उत्पत्ति गरियो भनेर उपनिषदमा उल्लेख रहेको छ । जुन कुरा अहिलेसम्म लुकाइएको छ ।

सत्व गुण ब्राह्मण, रजो गुण क्षत्री र वैश्य, तमो गुण शूद्र भनिएको छ । यसरी हेर्दा वर्णव्यवस्था व्यक्ति स्वभाव र जन्मका आधारमा मात्र नभई गुण र कर्मका आधारमा हुने बताइएको छ । हिन्दू धर्मशास्त्रका अनुसार वर्णव्यवस्था गुण एवं चरित्रका आधारमा निर्माण भएको हो । जसले आर्य र उच्च जातिमाथि प्रश्न तेस्याइदिएको छ । शास्त्रीय मान्यताअनुसार वर्ण शब्दको अर्थ वरण वा चुन्ने भन्ने हुन्छ । वर्ण शब्दको सर्वप्रथम ऋग्वेदमै प्रयोग भएको थियो, जसको अर्थ हुन्छ रङ वा व्यवसाय चुन्ने । 

गुणका आधारमा ब्राह्मणलाई सत्व गुण भएको मानिन्छ, जसको वर्ण श्वेत वा सेतो हुन्छ । त्यसो हो भने नेपाल र भारतमा समाजलाई जात र धर्मको नाममा विभाजन गरी सत्ताको बागडोर सम्हाल्दै अर्बांैको भ्रष्टाचारको कलंक लागेको व्यक्तिाई शूद्रको श्रेणीमा राख्ने कि नराख्ने ? यो निकै गम्भीर प्रश्न हो । शूद्रलाई कालोको प्रतीक मान्ने हो भने उनीहरूलाई कसरी निच, कुजात, शूद्र, दास, दस्यु, तल्लो जात र अछुत भन्न मिल्छ ? जसलाई आज समाजले शूद्रको रूपमा व्यवहार गर्छ, उनीहरूले नै सिंगो समाजमा इमानदारीका साथ श्रम गरेर देश निर्माणमा अहोरात्र खटेका छन् । अब उनीहरूलाई उच्च श्रेणीमा राख्ने कि नराख्ने ? उनीहरूलाई सत्ताको मालिक बनाउने कि नबनाउने ? यी प्रश्न हाम्रो सामु उभिएको छ । 

जातीय मुक्तिको आधार : नेपाली समाजमा भएको जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय समस्या जुन ढंगले अघि बढ्दै छ, त्यसको निरूपण गर्ने केही आधार छन् । पहिलो, सामाजिक न्याय र समानताका निम्ति प्रचुर मात्रमा उत्पादन र त्यसको न्यायोचित वितरण आवश्यक हुन जान्छ । त्यो सम्भावना आजको विज्ञान प्रविधिमा भएको असाधारण विकासले सम्भव तुल्याएको छ । दोस्र्र्रो, हिन्दू संस्कारमा आधारित धार्मिक एवं सांस्कृतिक विरासतलाई भत्काउने नयाँ रणनीति आवश्यक छ । तेस्रो, दीर्घकालीन राजनीतिक अस्त्र आवश्यक छ । ब्राह्मण, क्षत्री नेपाली समाजको जात व्यवस्था उन्मूलन गर्न किन चाहँदैनन् ? यो बुझ्न आवश्यक छ । यो हिन्दू एवं वैदिक धर्मशास्त्रको उपज हो । आज विश्वमै सबैजसो राजनीतिक शक्तिहरू जब आफू सत्ताको बागडोर सम्हाल्न पुग्छन्, त्यसलाई निरन्तरता दिन धर्म र जातलाई आफनो दीर्घकालीन राजनीति गर्ने अस्त्रको रूपमा प्रयोग गरिरहेका हुन्छन् । यो शृंखला आज पनि जारी छ । जसको परिणाम समाज खण्डित, विभाजित र अस्थिर भइरहन्छ । 

नेपालको राज्य व्यवस्था परिवर्तनका निम्ति थुप्रै आन्दोलन, संघर्ष र क्रान्तिहरू भएका छन् । ती आन्दोलन, संघर्ष केवल एउटा जाति र समुदायको मुक्तिका खातिर मात्र गरिएको थिएन । आमउत्पीडित वर्ग, समुदायको अधिकार र मुक्तिका निम्ति गरिएको संघर्ष थियो । अहिले पनि लोकतान्त्रिक शक्तिका पछि मात्र होइन, कम्युनिस्ट पार्टीहरूमा पनि जनजाति, दलित, मधेसी, मुस्लिम, थारूलगायतका उत्पीडितहरूको एउटा विशाल फौजको प्राणको त्यान्द्रो ती पार्टीभित्र अल्झिएको छ । तिनले पार्टीका शीर्ष नेतृत्वहरूलाई किन रानी माहुरीलाई जस्तो घेरिरहेका छन् ? हामी फेरि पनि अांशिक वा व्यक्तिगत लाभका निम्ति किन मुठ्ठी कसेर लागिरहेका छौँ ? हामीले दासत्वको जीवन कहिलेसम्म बाँचिरहने ? दलाल पुँजीवादी सत्ताका विरुद्ध धावा बोल्ने र समाजवादी व्यवस्था निर्माण गर्ने महान् प्रक्रियाको त्यो यात्राको थालनी गर्न केले हामीलाई रोकिरहेको छ ?

नेपालका शासक वा खस–आर्यहरू एक्काइसौँ शताब्दीमा आइपुग्दासमेत आफूलाई उच्च एवं श्रेष्ठताको कोटिमा राख्न चाहन्छन् । जात वा वर्णव्यवस्थामा आधारित राज्य व्यवस्था कायम राख्न चाहन्छन् । त्यसकारण, आमउत्पीडित जातीय, क्षेत्र, लिंग, वर्गका जनसमुदायबीच बृहत् एकता र ध्रुवीकरणको प्रक्रियाबाट मजबुत राजनीतिक शक्ति निर्माण गर्दै महान् क्रान्तिकारी आन्दोलनको अग्रदस्ताको भूमिकामा दृढतापूर्वक अग्रसर भई समाजवादी क्रान्तिको नेतृत्व गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढ्नु आमउत्पीडित वर्ग समुदायको मूल दायित्व हुन गएको छ ।