मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जुल्स कोरटेनहर्स्ट
२०७७ चैत २७ शुक्रबार ११:३५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु संकटको समाचार अब प्रथम पृष्ठमा

Read Time : > 4 मिनेट
जुल्स कोरटेनहर्स्ट
२०७७ चैत २७ शुक्रबार ११:३५:००

‘मिडिया म्याटर्स’को पछिल्लो रिपोर्टअनुसार अमेरिकी कर्पोरेट मिडियामा जलवायु परिवर्तनको कभरेज सन् २०२० मा ५३ प्रतिशतले घट्यो

जलवायु परिवर्तनको समस्याविरुद्ध बिस्तारै ‘जित्नु’ हार्नुबराबर हो । यो समस्या समाधान गर्न हामीसँग अहिलेको समय सबैभन्दा महत्वपूर्ण मानिन्छ । खासमा जलवायुसम्बन्धमा केही दशकअघि नै कदम उठाउन सुरु गरेको भए अहिले धेरै हतारो हुँदैनथ्यो । तर, अघिल्लो पुस्ता आर्थिक वृद्धिको पक्षमा यति केन्द्रित भए कि उनीहरूले वातावरणमाथिको क्षतिलाई पूर्ण बेवास्ता गरे । अब हाम्रो पुस्तासँग समय खेर फाल्ने छुट छैन । अहिले हामी चुक्यौँ भने मानवको अस्तित्वमै प्रश्नचिह्न उठ्ने खतरा छ । जलवायु परिवर्तनलाई रोक्न सक्ने गरी हस्तक्षेपकारी कदम चाल्न हामीसँग थोरै समय रहेको यस संवेदनशील घडीमा जलवायु परिवर्तनका असरबारे मानिसलाई बुझाउनु अत्यन्त महत्वपूर्ण हुन्छ । 

जलवायु परिवर्तन आफैँले धेरै समस्या लिएर आउँछ । सँगसँगै, यसले पहिलेदेखिका हाम्रा समस्यालाई थप विकराल बनाइदिन्छ । उत्तरी ध्रुवनजिक रहेको जमिनको सतह नै जमेको हुन्छ । यी जमेको जमिनमा कैयौँ प्राचीन भाइरस र ब्याक्टेरिया रहेको वैज्ञानिकले बताएका छन् । उष्णता बढेसँगै पर्माफ्रोस्ट पग्लन थालेकाले ती जीवाणु मानिस र अन्य जीवसम्म आइपुग्ने डर बढेको छ । यसले भविष्यमा नयाँ–नयाँ महामारीको सम्भावना बढेर जान्छ । जलवायु परिवर्तनले निम्त्याउने नकारात्मक असरले समाजको तल्लो वर्गलाई बढी असर गर्ने भएकाले आर्थिक असमानता बढ्नेछ । अर्थात्, भविष्यमा कोरोना भाइरसजस्ता महामारीदेखि विश्वव्यापी असमानतासम्म विकराल हुनेछ । 

पश्चिमी समाजमा जलवायु परिवर्तनलाई नस्विकार्ने ठूलो समूह विद्यमान छ । विशेषतः अमेरिकी राजनीतिमा जलवायु परिवर्तनको विषयलाई राजनीतीकरण गरिएको छ । त्यहाँका धेरै कन्जरभेटिभले जलवायु परिवर्तनलाई षड्यन्त्रको सिद्धान्त मान्छन् । यो विश्वास बढाउन पेट्रोलियम उद्योगको पनि उल्लेख्य भूमिका छ ।

जलवायु परिवर्तनसम्बन्धी जनचेतना विगतको तुलनामा बढेको छ । तर, अझै समस्याको गम्भीरताको अनुपातमा ज्ञान बढेको पाइँदैन । यो ज्ञानको खाडल पुर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निभाउन सक्छ । तथ्यमा आधारित भएर जिम्मेवारीपूर्वक जलवायु परिवर्तनको चित्र प्रस्तुत गर्ने दायित्व पत्रकारिता क्षेत्रको काँधमा आएको छ । यसका लागि जलवायुसम्बन्धी रिपोर्टिङ तथा विश्लेषणको मात्रा वृद्धि गर्नुपर्छ । अन्यथा, आममतदाताले समस्याको गाम्भीर्यलाई बुझ्न सक्दैनन् । जसले गर्दा स्रोत परिचालन गर्ने ल्याकत भएका नीतिनिर्मातामाथि आवश्यक दबाब सिर्जना हुँदैन । 

जलवायु परिवर्तनबारे वैज्ञानिक तथ्यांक र ज्ञानको कुनै अभाव छैन । तर, विज्ञानको जटिलताका कारण तिनलाई केही सीमित विज्ञले मात्र बुझ्न सक्छन् । बाँकी आमसर्वसाधारणलाई यस विषयमा स्पष्ट पार्ने जिम्मेवारी पत्रकारिता क्षेत्रले लिन सक्छ । तर, अहिलेको सन्दर्भमा जलवायु परिवर्तनका सबै पक्षबारे जानकार पत्रकारको संख्या थोरै छ । हामीलाई थप संख्यामा पर्यावरण र यसका विभिन्न पक्ष अनि तिनमा किन परिवर्तन आइरहेको छ भन्ने कुराबारे जानकार पत्रकारहरूको आवश्यकता छ । यी प्रतिबद्ध तथा जुझारु पर्यावरण पत्रकारले जलवायु संकटको वास्तविक चित्र ठूलो समुदायमाझ पुर्‍याउन सक्छन् । मानव जीवनका सम्पूर्ण पक्ष तथा यस ग्रहका सबै कुरालाई प्रभावित बनाउने मुद्दा भएकाले जलवायु परिवर्तन अब ‘न्युजबिट’ मात्र रहेन । भावी दिनमा स्वच्छ, कार्बन उत्सर्जन नगर्ने ऊर्जातर्फको संक्रमणमा सम्पूर्ण विश्व अर्थतन्त्र प्रभावित हुनेछ । यस रूपान्तरणबाट हाम्रो रोजगारी, उपभोग शैली मात्र होइन, हाम्रा सम्बन्धहरूसमेत प्रभावित हुनेछन् । यस विषयमा आममानिसमा धेरै अनिश्चितता र केही भय छ । यसको निवारणका लागि पर्यावरण पत्रकारले महत्वपूर्ण भूमिका खेल्नेछन् । 

अहिलेका लगभग सबैजसो महत्वपूर्ण न्युज स्टोरीलाई जलवायु संकटको सन्दर्भका बुझ्ने समय आएको छ । आखिरमा यसले जीवनका हरेक पक्षलाई प्रभावित बनाउनेछ । यो चुनौतीको खबर लेख्ने–बोल्ने पत्रकार यसका सम्पूर्ण पक्षलाई समेट्न सक्षम हुनुपर्छ । साथै, उनीहरू उत्कृष्ट व्याख्याता पनि हुनुपर्छ । उनीहरू भावी प्रविधि, विद्युत् ग्रिड, आवागमन, भवन र उद्योगबीचको सम्बन्ध, विषम मौसमले उब्जनीमा पुर्‍याउने क्षति, विश्वव्यापी सप्लाई चेन अवरोध र वित्तीय जोखिमबीचमा सम्बन्ध पहिल्याउन सक्ने हुनुपर्छ । 

जलवायु परिवर्तनजस्तो महत्वपूर्ण मुद्दाले अहिलेभन्दा बढी स्वतन्त्र रिपोर्टिङको माग गर्छ । सटिक, सही र भावोत्तेजक रिपोर्टिङ तथा विश्लेषणविना आममतदाताले समस्याको गाम्भीर्यलाई बुझ्न सक्दैनन्, जसले गर्दा स्रोत परिचालन गर्ने ल्याकत भएका नीतिनिर्मातामाथि आवश्यक दबाब सिर्जना हुँदैन । 

अहिले पनि धेरै राम्रा पत्रकारले जलवायु संकटका समाचारहरू रिपोर्टिङ गरिरहेका छन् । तिनकै प्रयासले यो मुद्दामा अहिलेको जनचेतना विकास भएको हो । पश्चिमी समाजमा जलवायु परिवर्तनलाई नस्विकार्ने एउटा ठूलो समूह विद्यमान छ । विशेषतः अमेरिकी राजनीतिमा जलवायु परिवर्तनको विषय नै राजनीतीकरण भएको छ । त्यहाँका धेरै कन्जरभेटिभ (रिपब्लिकन) मतदाताले जलवायु परिवर्तनलाई ‘कन्स्पिरेसी थियोरी’ मान्छन् । यो विश्वास बढाउन पेट्रोलियम उद्योगहरूको पनि भूमिका छ । तर, जलवायु विषयमा हालसम्म लेखिरहेकाले यी समूहले प्रचार गरेको झुट र जाली तर्कलाई गलत ठहराउन ठूलो मिहिनेत गरेका छन् । तर, अझै पनि जलवायुसम्बन्धी महत्वपूर्ण मुद्दामा थप गहन कभरेज आवश्यक छ । यसका लागि जलवायु पत्रकारिता क्षेत्रमा थप विकासको आवश्यकता छ । स्विडिस पर्यावरण अभियन्ता ग्रेटा थर्नवर्गले भने जस्तै जलवायु संकटविरुद्धको संघर्षमा ‘सबैको साथ चाहिन्छ । सबैलाई स्वागत गर्नुपर्छ ।’ 

अन्य विषयमा केन्द्रित स्थापित पत्रकारले पनि तिनको विज्ञताको क्षेत्रमा जहाँ सकिन्छ, त्यहाँ जलवायु चुनौतीबारे प्रकाश पार्न सक्छन् । अनुभवी जलवायु रिपोर्टरले नयाँ पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्छ । न्युयोर्कर म्यागजिनका चर्चित स्तम्भकार विल म्याक्किबेनले न्युयोर्करको आफ्नो स्तम्भमा यस्तै प्रयोग गरेका छन् । टिकटक, युट्युब वा अन्य कुनै पनि अनलाइन प्लाटफर्ममा प्रभावशाली उपस्थिति भएका व्यक्तिले आफ्नो पहुँचलाई जलवायुसम्बन्धी जनचेतना बढाउन प्रयोग गर्नुपर्छ । 

यही पृष्ठभूमिमा एक नयाँ ऊर्जा तथा जलवायु मिडिया प्लाटफर्म ‘क्यानरी मिडिया’ (डब्लुडब्लुडब्लू क्यानरमिडिया डटकम) सार्वजनिक भएको छ । रकी माउन्टेन इन्स्टिच्युटको आर्थिक समर्थन रहेको यस क्यानरी मिडियामा धेरै अनुभवी पत्रकारहरू आबद्ध भएका छन् । क्यानरी मिडियाले स्वच्छ ऊर्जा संक्रमणको विषयमा केन्द्रित समाचार पस्कने लक्ष्य लिएको छ ।

आजको मिडिया परिदृश्यमा विश्वसनीय स्वतन्त्र जलवायु पत्रकारिता प्रतिदिन महत्वपूर्ण बन्दै गएको छ । तर, अमेरिकी मिडियामा भने जलवायु विषयले कम महत्व पाएको देखिएको छ । मिडिया निगरानी गर्ने संस्था ‘मिडिया म्याटर्स’को पछिल्लो रिपोर्टअनुसार अमेरिकाका कर्पोरेट मिडियाले जलवायु परिवर्तनबारे गर्ने कभरेज सन् २०२० मा ५३ प्रतिशतले घट्यो । सन् २०५० सम्म ११ ट्रिलियन डलरको लगानी हुने प्रक्षेपण गरिएको स्वच्छ ऊर्जा क्षेत्रबारे समाचारको अभाव छ । जबकि, विगतका कुनै समयभन्दा बढी अहिलेको हामीलाई स्वच्छ ऊर्जाबारे सार्वजनिक ज्ञान वृद्धि गर्नुपर्ने आवश्यकता छ । मिडियाले स्वच्छ ऊर्जाबारे समाचार पस्किँदा तिनको व्यावसायिक रूप, प्रविधि र नीति तथा नियामक व्यवस्था छुटाउन हुँदैन । 

जलवायु संकटसम्बन्धी जनचेतनामा अहिलेसम्म भएको प्रगतिले पनि जलवायु पत्रकारिताको माग बढाएको छ । बृहत्तर विश्व समुदायमा पुग्ने प्रभावकारी तथा पहुँचयोग्य कभरेजविना स्वच्छ ऊर्जाका चुनौती या अवसर समयमै पहिचान हुन सक्दैन । जसले गर्दा त्यसतर्फको रूपान्तरणका लागि धेरै ढिला हुन सक्छ । सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्नका लागि सन् २०३० सम्ममा विश्वव्यापी कार्बन उत्सर्जनलाई ५० प्रतिशतमा झार्नुपर्नेछ । त्यसमा असफल भइयो भने हामीले विषम परिस्थितिका लागि तयारी हुनुपर्छ । त्यसपछि सम्पूर्ण सभ्यता नै जोखिममा पर्नेछ । 

कार्बन उत्सर्जनमुक्त भविष्यतर्फ अगाडि बढिरहेका व्यावसायिक नेतृत्वले एउटा ज्ञान हासिल गरेका छन्, यस परिवर्तनतर्फ जति छिटो कदम चाल्यो, उति नै बढी प्रतिफल हासिल हुन्छ । वल्र्ड इकोनोमिक फोरमको पछिल्लो रिपोर्टले पनि यही तथ्यलाई पुष्टि गरेको छ । हामीलाई वर्तमान संकटको गम्भीरतालाई पहिचान गर्ने थप धेरै नेतृत्वको आवश्यकता छ । एक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा यस्ता नेतृत्वको महत्व बढेको छ । तिनले मात्र स्वच्छ ऊर्जातर्फको संक्रमणलाई तीव्र बनाउन सघाउनेछन् । प्रभावकारी जलवायु पत्रकारिताले मात्र यो तथ्य आममानिसलाई बुझाउन सक्छ । यसका लागि अबका दिनमा जलवायु संकटको समाचारले पत्रिकाका पहिलो पृष्ठमा स्थान पाउनुपर्छ । 

कोरटेनहर्स्ट रकी माउन्टेन इन्स्टिच्युटका सिइओ हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य