१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत २७ शुक्रबार ०६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिपुरासुन्दरी मन्दिरका लिंगा दुईपटक भाँचिए

Read Time : < 1 मिनेट
२०७७ चैत २७ शुक्रबार ०६:५०:००

पुजारी देवीकृष्ण उपाध्याय भन्छन्- 'यसले राज्यमा ठूलो अनिष्ट हुने संकेत देखाउँछ'

नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये पर्ने त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका काठका लिंगा भाँचिएका छन् । त्रिपुरासुन्दरी देवीका प्रतिमाका रूपमा रहेका लिंगा हावाहुरीका कारण मंगलबार राति र बिहीबार गरी दुईपटक भाँचिएका हुन् ।

मन्दिरमा रहेका भगवती, कालिका, विक्रम शाही महाराज र चण्डिकाका लिंगामध्ये भगवतीको लिंगा एक दिनको अन्तरमा दुईपटक भाँचिएको हो । लिंगा भाँचिएसँगै तत्कालै त्रिपुराकोटका स्थानीय मिलेर नयाँ लिंगा ठड्याएका थिए । जस्तोसुकै तीव्र हावाहुरी चले पनि विगतमा यस्तो घटना बिरलै मात्र हुने गरेको पुजारीहरू बताउँछन् ।

पुजारी देवीकृष्ण उपाध्यायले यसभन्दा अगाडि दुईपटक लिंगा भाँचिएको जानकारी दिए । ०५७ मा भगवती हराएको केही दिनमा लिंगा भाँचिएको र त्यसको एक वर्षपछि दरबार हत्याकाण्ड भएको उनको भनाइ छ । ‘त्योभन्दा अघि पनि एकपटक भाँचियो, त्यतिखेर पञ्चायत ढलेर बहुदल आयो, योपटक एकदिनको अन्तरको दुईपटक लिंगा भाँचियो, यसले राज्यमा ठूलो अनिष्ट हुने संकेत देखाउँछ,’ उनले भने । अहिलेसम्म चारपटक लिंगा भाँचिएको उपाध्यायले जानकारी दिए ।

लिंगा ढलेपछि नियमित गरिने नित्य हुने पूजाआजासमेत रोकिने भएकाले जताबाट भए पनि लिंगा जुटाएर हाल्नुपर्ने पुजारीहरू बताउँछन् । एउटै लिंगा २६ मिटर लामोसम्म ठड्याउने गरिएको छ । विजयादशमी र चैत्र अष्टमी गरेर वर्षमा दुईपटक अनिवार्य नयाँ लिंगा फेर्ने गरिन्छ ।