मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत २४ मंगलबार २१:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव छिट्टै अघि बढ्छ : डा. भट्टराई 

Read Time : < 1 मिनेट
२०७७ चैत २४ मंगलबार २१:४४:००

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव छिट्टै अघि बढ्ने बताएका छन् । गृहजिल्ला गोरखामा मंगलबार पत्रकारहरूसँगको भेटमा उनले प्रधानमन्त्रीलाई हटाउन छिट्टै अविश्वास प्रस्ताव अघि बढ्ने बताएका हुन् । 

‘प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने त कुरै भएन । नैतिकता भएको मान्छेले मात्र राजीनामा दिन्छ । उहाँबाट त्यो अपेक्षा गर्नु मूर्खता हो,’ उनले भने, ‘त्यसैले उहाँलाई हटाउने तरिका भनेको अविश्वास प्रस्ताव नै हो । अब छिट्टै अविश्वास प्रस्ताव अघि बढाउँछौँ ।’ 

कांग्रेसले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिसकेकाले अविश्वास प्रस्ताव लैजाने ढोका खोलेको बताउँदै अब ढिला गर्न नहुने उनी बताउँछन् । ‘कांग्रेस, जसपा, माओवादी मिलेर र एमालेभित्र केपी ओलीसँग असहमत पक्षको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगमा अविश्वासको प्रस्ताव ल्याएर हटाउँछौँ ।’

संविधानमा भएअनुसार अविश्वास प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिनुपर्ने, तर माओवादीले सरकारबाट समर्थन फिर्ता नलिइसकेको हुनाले प्राविधिक रूपमा गृहकार्य गर्न केही ढिलाइ भएको उनले बताए । ‘प्रधानमन्त्री जो पनि हुन सक्छ । अहिले कुनै पार्टीको बहुमत छैन । धेरै ठूलो अन्तर पनि छैन । तीनै पक्षको दाबी रहन सक्छ, तर यही कारणले ओलीको लोकतन्त्रविरोधी अभियानलाई बल पुग्ने काम हुन दिँदैनौँ,’ उनले भने ।