मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भृकुटीमण्डपमा रहेको ढुंगेधारामा पानी खोलेर मेलम्ची खानेपानी वितरणको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी
शान्ति तामाङ काठमाडाैं
२०७७ चैत २१ शनिबार ०६:०१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भृकुटीमण्डपको ढुंगेधारामा मेलम्चीको पानी, धारा खोलेर राष्ट्रपतिद्वारा उद्घाटन 

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७७ चैत २१ शनिबार ०६:०१:००

उपत्यकाका १५ हजार धारामा मेलम्चीको खानेपानी

काठमाडौंमा वितरण भएको ६ दिनपछि मेलम्ची खानेपानीको औपचारिक रूपमा उद्घाटन गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा रहेको ढुंगेधारामा पानी खोलेर उद्घाटन गरेसँगै मेलम्ची खानेपानी वितरण परीक्षण सफल भएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नयाँ वर्षको पूर्वसन्ध्यामा मेलम्चीको खानेपानी काठमाडौंवासीलाई उपहार हुन पुगेको भन्दै मेलम्चीवासीको सामाजिक, आर्थिक उत्थानमा ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् । ‘नयाँ वर्षको पूर्वसन्ध्यामा मेलम्ची खानेपानी काठमाडौंवासीलाई उपहार हुन पुगेको छ । यसबाट जनताको खुसी बढेको छ,’ उनले भनिन्, ‘अब मेलम्चीवासीको सामाजिक, आर्थिक उत्थानमा ध्यान पुर्‍याउन आवश्यक छ । मेलम्ची खानेपानी आयोजनाबाट आपूर्ति हुने पानीबाट काठमाडौं उपत्यकामा पानीको आपूर्ति धेरै हदसम्म सहज हुनेछ । आयोजना विस्तार र सुदृढीकरणमा सम्बन्धित निकायको ध्यान आकर्षित गर्न चाहन्छु ।’

उनले मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकार तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भुल्न नहुने बताइन् । ‘यो खुसी मनाइरहँदा मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकारलाई धन्यवाद भन्न चाहन्छु । प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंमा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको हो,’ उनले भनिन्, ‘त्यहीबाट देशको नेतृत्व तहलाई आयोजनालाई कार्यान्वयन गर्न प्रेरणा मिलेको हो । परियोजनाको निर्माण कार्य ठोस रूपमा हुन त्यसपछि पनि एक दशक प्रतीक्षा गर्न पर्‍यो । यसपछिका सरकारहरूले विभिन्न चरणमा निर्माण कार्य सम्पन्न गराए ।’ 

गत ३० असारमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको गेट नम्बर १७ मा दुर्घटना भएपछि आयोजनाका गेटको डिजाइन पुनरावलोकनपछि सुधार गरेर सुन्दरीजलमा पानी खसालिएको थियो । १० फागुनबाट २६० लिटर प्रतिसेकेन्डका दरले सुरुङमा पानी पठाई आरम्भ गरिएको थियो । पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । २७ र २८ फागुनमा महाशिवरात्रिको अवसर पारेर बागमतीमा पानी हालिएको थियो ।
 
तीन वर्षमा याङ्ग्री र लार्केको पानी उपत्यकामा आउने 

मेलम्चीको पानी काठमाडौंमा परीक्षण सफल भएसँगै याङ्ग्री र लार्केको काम द्रुतगतिमा अगाडि बढाउन प्रधानमन्त्री केपी ओलीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । ‘याङ्ग्री र लार्केको पानी यही टनेलबाट आउने हो । मुख्य रूपमा टनेलको काम सम्पन्न भएको छ । हाम्रो तदारुकताको हिसाबले पनि अब लामो सयम लिन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब तीन वर्षमा याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याउँछौँ । यसका लागि मन्त्रालय र सम्बन्धित विभागलाई यस सम्बन्धमा तदारुकताका साथ काम अगाडि बढाउन निर्देशन पनि दिन चाहन्छु । ढिलामा पनि त्योभन्दा धेरै समय लगाउनुहुँदैन । किनभने मुख्य काम सकिएको छ ।’ प्रधानमन्त्री ओलीले मेलम्ची भन्नेबित्तिकै मानिसले नपत्याउने विषय बनेको भन्दै अब अविश्वास गर्नुपर्ने र काम हुँदैन कि भनेर शंका गर्नुपर्ने अवस्था नभएको बताए । 

आयोजनाको अवधि पहिलो चरणमा आर्थिक वर्ष ०५५/५६ मा सुरु भई ०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, पछिल्लो संशोधनबाट आर्थिक वर्ष ०७७/७८ सम्म सम्पन्न गर्ने र दोस्रो चरण आर्थिक वर्ष ०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको सुरु लागत अनुमान १७ अर्ब रहेकोमा संशोधित अनुमान ३१ अर्ब पुगेको छ ।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्ग्री र लार्के नदीबाट दैनिक थप १७–१७ करोड लिटर पानी ल्याउने लक्ष्य छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले काठमाडौंको बढ्दो जनसंख्यालाई मागअनुसारको पानी आपूर्ति गर्न दोस्रो चरणका काममा लागिसकेको बताए ।

उनले आयोजनाका क्रमका सिकाइलाई आधार बनाएर दोस्रो चरणको याङ्ग्री र लार्के पथान्तरणको योजना बनाउने बताए । उनले निर्धारित समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासमेत गरे । 

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची खानेपानी उपत्यकामा वितरणको सफलतासँगै नेपालको खानेपानीको इतिहासमा स्वर्णिम युगको सुरु भएको बताए । ‘उपत्यकावासीको लामो समयदेखि प्रतिष्ठाको विषयलाई आजबाट अन्त्य गर्न पाएकोमा हामी हर्षविभोर भएका छौँ,’ उनले भने । उनले अहिले अस्थायी बाँधबाट पानी पठाउने काम भइरहेको भन्दै आगामी वर्षायाम अगावै स्थायी बाँध निर्माण सम्पन्न गरी पानी पठाउने बताए । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले समन्वयात्मक भूमिका निर्वाह नगरी महानगरले निर्माण गरेका सडक जानकारीविना नै भत्काएको आरोप लगाएका थिए । 

मेलम्चीको पानी आएसँगै वितरण सञ्जाल सहज
विश्व स्वास्थ्य संगठन एवं नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसारको पानी वितरण प्रणालीमा प्रवाह गरिनेछ । सुन्दरीजलमा प्रशोधित पानी काठमाडौं उपत्यकामा वितरण गर्न थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र नौवटा विभिन्न पानीपोखरीको निर्माण सम्पन्न भएको छ । थप एक पोखरी निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । पानी वितरण सञ्जालअन्तर्गत ११ सय २५ किलोमिटरमध्ये ११ सय किलोमिटर निर्माण सम्पन्न भएको छ । दुई सय किलोमिटरको परीक्षणसमेत भइसकेको छ । यी संरचनामा पानी परीक्षणका लागि मेलम्चीको पानी उपलब्ध भएपछि सहज भएको आयोजनाले बताएको छ ।

उपत्यकाको १५ हजार धारामा पुग्यो मेलम्चीको पानी
सुन्दरीजलमा उपलब्ध हुने १७ करोड लिटर पानी प्रशोधनका लागि साढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र छन् । तर, परीक्षण सफल भएसँगै शुक्रबारबाट काठमाडौंको धारामा साढे आठ करोड लिटर पानी वितरण सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको थियो ।

बिहीबारदेखि पोखरीमा हालिएको पानी शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएकोे थियो । पहिलो चरणअन्तर्गत केयुकेएलले उपलब्ध गराइरहेको एक लाख १० हजार घरधुरीका धारामा नयाँ प्रणालीमार्फत पानी आपूर्ति गर्ने योजना थियो । तर, अहिले ८० हजार घरधुरीमा धारा जडान गरिएको छ । त्यसमध्ये १५ हजार धारामा पानी आपूर्ति सुरु भएको छ । केही महिनाभित्र सम्पूर्ण परीक्षण सम्पन्न गरी नयाँ पाइपलाइनबाट चक्रपथभित्र पानी उपलब्ध हुने आयोजनाले जनाएको छ । 

नयाँ संरचनाका अतिरिक्त पुरानै वितरण प्रणालीमार्फत पानी आपूर्तिका लागि मौजुदा ६ वटा पानीपोखरी महांकाल, बालाजु, पानीपोखरी, मीनभवन, अनामनगर, खुमलटारमा छन् । ‘पानी वितरण गर्ने विधि नौलो र चुनौतीपूर्ण छ । हामी सिकाइको चरणमै रहेका छौँ । समान रूपमा पानी वितरण नभइरहेकाले क्षमायाचना गर्दै केही समय धैर्य गरिदिनुहुन अनुरोध गर्छौँ,’ आयोजना कार्यकारी निर्देशक खत्रीले भने । 

काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । 

अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कूल आपूर्ति ३० करोड लिटर पुग्नेछ । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन । 

यस्तो छ माग र आपूर्तिको अवस्था : केयुकेएलले सुक्खा मौसममा १३ करोड लिटर पानी आपूर्ति गर्दै आएको थियो । त्यसमा पनि झन्डै ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । शुक्रबार मेलम्चीको साढे आठ करोड लिटर थपिएर वितरण भएको छ । सुन्दरीजलका दुई प्रशोधन केन्द्रमध्ये साढे आठ करोड लिटर पानी प्रणालीमा जोडिन बाँकी छ । त्यसपछि केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पुग्नेछ । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन । काठमाडौंमा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ ।