Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको छ :  मन्त्री  भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार १३:५३:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दा पनि नीतिगत रूपमा समाधान गर्न सरकार लागिपरेको बताए ।

उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताए । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताए । उनले विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरूलाई आग्रह गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको भए पनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । निजी क्षेत्र नाफामुखी हुने र सोहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि बताए । तर, सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए । अनुगमन गर्दा आचारसंहिताभित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनै पनि उद्योगी–व्यवसायीको मानमर्दन नगर्न सरकारसँग आग्रह गरे । 

कार्यक्रममा उपस्थित उद्योगी–व्यवसायीहरूले पेट्रोलियम पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकाले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन् ।