Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २० शुक्रबार ०९:१०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पछिल्लो एक महिनाकै सबैभन्दा धेरै सेयर कारोबार 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २० शुक्रबार ०९:१०:००

१६ फागुनमा सेयर बजारमा ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । सो दिनयता कारोबार रकम ६ अर्बको हाराहारीमा रहँदै आएको थियो । तर, बिहीबारको ७ अर्ब २५ करोड ९ लाख रुपैयाँको कारोबार हुँदा पछिल्लो एक महिनाको सबैभन्दा बढी सेयर कारोबार भएको हो । बिहीबार धितोपत्र र ऋणपत्र गरी २ सय १८ कम्पनीको १ करोड ४३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा उक्त रकमबराबरको कारोबार भएको हो । 

बिहीबार नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ बिन्दुमा पुगेको छ । सो दिन ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ बिन्दुमा पुगेको छ । बिहीबार ९ वटा समूहको सूचक सकारात्मक र ४ समूहको सूचक नकारात्मक छन् । सकारात्मक सूचक हुनेमा ट्रेडिङ समूह सबैभन्दा बढी ८ दशमलव ६३ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको सूचक ३ दशमलव २६ प्रतिशतले बढेर दोस्रो स्थानमा छ । होटेल तथा पर्यटन, जीवन बिमा, लगानी समूहका सूचक नकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर रहेको छ । कम्पनीको सेयर मूल्य १८ रुपैयाँ घटेर ८ सय ८० मा कारोबार हुँदा ३० करोड २२ लाखको खरिद–बिक्री भएको छ । दोस्रो स्थानमा कारोबार हुनेमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट ४ सय ४४ रुपैयाँको दरले २४ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो धेरै खरिद–बिक्री गर्ने कम्पनीमा अपी पावर कम्पनी रहेको छ । कम्पनीकोे ३ सय ४० रुपैयाँको दरले २४ करोडको किनबेच भएको छ ।

बिहीबार कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा बढी सान्जेन जलविद्युत्का लगानीकर्ताले कमाएका छन् । कम्पनीले मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्दै ३ सय ८५ रुपैयाँमा कारोबार भएको छ । दोस्रो मूल्य बढ्नेमा युनाइटेड फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको ९ दशमलव ९५ प्रतिशतको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । ४ सय २० रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको छ । नेप्सेको प्रतिबन्धका कारण चार दिनपछि कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत बढेर १८ सय ५७ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, वमी माइक्रो फाइनान्सको ९ दशमलव ९४ प्रतिशतले सकारात्मक सर्किट लाग्दा १३ सय ७१ रुपैयाँमा कारोबार भएको छ । एनआइसी एसिया लघुवित्तको ९ दशमलव ९४ प्रतिशत बढेर ८ सय ७४ रुपैयाँमा कारोबार भएको छ । अजोड इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशतले बढेर १ हजार ३१ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको ९ दशमलव १६ प्रतिशतले बढेर १३ हजार ३ सय १७ रुपैयाँमा कारोबार भएको छ । श्री इन्भेस्टमेन्ट फाइनान्सको ९ दशमलव ७८ प्रतिशतले बढेर २ सय ४७ रुपैयाँमा कारोबार भएको छ । 

यस दिन सबैभन्दा धेरै गुमाउने कम्पनी हाइड्रो इलेक्ट्रिसिटी रहेको छ । कम्पनीको सेयर मूल्य ५ दशमलव ५३  प्रतिशतले घटेर ४ सय ४४ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, दोस्रो घट्ने कम्पनीमा सानिमा जनरल इन्स्योरेन्सको ३ दशमलव ९९ प्रतिशतले घटेर ७ सय ४५ रुपैयाँ भएको छ । चन्द्रागिरि हिल्स यस दिन ३ दशमलव ३० प्रतिशतले घटेर २ हजार ५० रुपैयाँमा किनबेच भएको छ ।

किसान लघुवित्तको कारोबार फुकुवा
नेपाल स्टक एक्सचेन्जले किसान लघुवित्त वित्तीय संस्थालाई कारोबार गर्न फुकुवा गरेको छ । नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ पठाएपछि बुधबार नेप्सेले बिहीबारबाट कारोबार गर्न फुकुवा गरेको हो । लघुवित्तले बजारलाई प्रभाव पार्ने कुनै पनि किसिमको मनसाय नभएको जवाफ पठाएको थियो । 

संस्थाको पुँजीकोष पर्याप्त नभएकाले हकप्रद सेयर जारी गर्न सम्बन्धित निकायसँग परामर्श गरेर मात्र अघि बढ्ने निर्णय भएको, सो दिन बिदा परेकाले हकप्रद सेयर निष्कासनसहितको साधारणसभाको सूचना प्रकाशित भएको र परामर्शपछि उक्त प्रस्ताव हटाइएको लघुवित्तले जवाफ दिएको छ ।