मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार ०८:२६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

कोभिडसँग खेलाँची नगरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार ०८:२६:००

कोरोना महामारीले एक वर्षयता विश्वलाई लखेटिरहेको छ । युरोपका कतिपय देशमा तेस्रो लहर चलिरहेको छ । ब्राजिल पछिल्लो सयम संक्रमणको चर्को दबाबमा छ । फ्रान्सले त केही साताका लागि फेरि लकडाउन घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाजस्ता खोपमा अग्रता लिइरहेका देशले पनि थप चुनौती व्यहोर्दै छन् । भारत पछिल्लो महिना दोस्रो लहरको चपेटामा छ । दैनिक ५० हजारभन्दा बढी संक्रमित हुने र चार सयभन्दा बढीको मृत्यु हुने अवस्थामा पुगेको छ । यता नेपालले पनि पछिल्लो दुई सातादेखि दोस्रो लहरको सामना गरिरहेको छ । परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा बढीलाई कोरोना देखिन थालेको र यसपालि १८ वर्षमुनिका बालबालिका संक्रमितको १० प्रतिशत देखिनु थप चुनौतीको विषय बनेको छ । 

अत्यन्त भिडभाड हुने र जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ सतर्कता अपनाएर, गतिविधि नगर्न बाध्यात्मक अवस्था सिर्जना गरेरै भए पनि पछिल्लो लहरको संक्रमणलाई नियन्त्रण गर्नु जरुरी छ

यद्यपि नेपाल खोप सुविधा पाउने र लगाउने जनसंख्याको हिसाबले राम्रो स्थानमा पर्छ । मंसिरदेखि घट्दै गएको र मानिसले यसबाट डराउन छाडेको जस्तो देखिएकै समयमा हुन थालेको यो वृद्धिले थप जटिलता निम्त्याउने देखिन्छ । लकडाउन हटेपछि र संक्रमणको दरका साथै कोभिडबाट मृत्यु हुनेको संख्या घट्दै गएपछि आममानिसमा कोरोनाप्रतिको भय निकै घटेको देखिएको थियो । विद्यालयलगायत मानिसको बढी जमघट हुने स्थान खुल्न थालेका थिए । राजनीतिक दलका भेला र कार्यक्रम, भोज तथा पिकनिकहरू, बजार र पसलहरूमा कोरोनाबाट संक्रमित हुन सकिन्छ भन्ने सोच पातलिँदै गएको देखिन्थ्यो । त्यसैले मास्क र सेनिटाइजरको प्रयोगमा कमी आएको थियो । 

उता भारतमा बढ्दै गएको संक्रमणका कारण नेपालमा भारतबाट आउने मानिसमा संक्रमण दर बढ्दै गएको पाइएको छ भने भारतीय सीमावर्ती क्षेत्रमा संक्रमण फैलिँदो छ । विद्यालय पनि संक्रमणका जोखिमयुक्त क्षेत्रमा बदलिएका छन् । र, सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आममानिसले भिडभाडमा जान डराउन छाड्नु र आवश्यक सुरक्षाका उपाय अपनाउन छाड्नु नै हो । दैनिक ५० भन्दा कम भइसकेको संक्रमण दर फेरि बढेर १५० भन्दा बढी हुन थालेको छ । यो अवस्था बढ्दै गयो भने फेरि पनि हाम्रो आर्थिक तथा सामाजिक क्रियाकलाप खुम्चिन सक्ने अवस्थामा हामी धकेलिनेछौँ । पर्यटन र मनोरञ्जन क्षेत्र, होटेल र रात्रिजीवनमा आधारित व्यवसाय अहिले पनि संकटमा छन् । 

यसका प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा पनि अनुभव गरिएकै छ । गतवर्ष झन्डै दुई प्रतिशतले नकारात्मक रहेको आर्थिक वृद्धि यस वर्ष दुई प्रतिशतमाथि पुग्ने भनी हालै विश्वबैंकले गरेको प्रक्षेपण असफल हुन सक्छ । यो अवस्था धेरै तन्किन दिनुभन्दा तत्काल सुरक्षाका उपाय अपनाउनतिर आमनागरिकलाई तयार पार्नु जरुरी छ । अत्यन्त भिडभाड हुने र जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ सतर्कता अपनाएर, गतिविधि नगर्न बाध्यात्मक अवस्था सिर्जना गरेरै भए पनि पछिल्लो लहरको संक्रमणलाई नियन्त्रण गर्नु जरुरी छ । यसपालिको प्रकृति हेर्दा अब १८ वर्षमुनिका बालबालिकालाई संक्रमण फैलिन नदिन थप सुरक्षात्मक उपाय अपनाउनुपर्ने देखियो । बरु यसका लागि दुई साता विद्यालय बन्द गर्दा राम्रो होला ।