मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १९ बिहीबार १५:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन सकेन : विश्वप्रकाश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १९ बिहीबार १५:३५:००

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रूपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरू कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने बताए ।

उनले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुंगाे गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरूले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रूपमा संसद् सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रूपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारका लागि ढोका खुल्ने अवस्था हुन्छ । त्यो वेलामा सत्तासमीकरणको विषय ठीक समयमा परिपक्व ढंगले एउटा परिस्थितिको विकास भएर जान्छ । अनि सरकार बन्न सक्छ ।’

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने संकेत प्रस्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि बताए ।