मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १८ बुधबार १०:०८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पत्रकार होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १८ बुधबार १०:०८:००

उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिस छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन् । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरूको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । यिनै नेपाली युवालाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो ‘सनैया’ ।

कार्की एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरूको रिपोर्टिङमा संलग्न छन् । त्यस क्रममा चार वर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ । कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए । यो किताब उनले खाडी क्षेत्रमा कार्यरत पाँच सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो ।

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीको कथा भन्न सकिन्छ । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवनगाथा हो यो पुस्तक । देश बनाउन परदेश हिँड्ने श्रमजीवीको कथा हो ‘सनैया’ । जसले अरबका चोक–चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेका जीवनको कथा पनि हो, ‘सनैया’ । 

किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट बजारमा उपलब्ध भएको छ । यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।