मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार ०९:३४:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

विष्णुबहादुर मानन्धर : एउटा विद्रोहीको निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार ०९:३४:००

पुराना कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको ८९ वर्षको उमेरमा हिजो निधन भएको छ । मानन्धर नेपाली पहिलो छिमलका सक्रिय राजनीतिक अभियन्तामध्येका एक थिए । उनले ००७ साल वरपरबाट राजनीति आरम्भ गरेका थिए । पहिले नेपाली कांग्रेसबाट राजनीति थालेको भए पनि उनले पछि नेपाल कम्युनिस्ट पार्टीतिर झुकाब राखे र कम्युनिस्ट पार्टीको सदस्यता लिए । कम्युनिस्ट पार्टीमा लाग्नुअघि नै रौतहटको किसान आन्दोलनसँग जोडिएका मानन्धर नेपालमा त्यतिवेलाको मस्कोपन्थी र पेकिङपन्थी भनेर चिनिने कम्युनिस्ट विभाजनका समयमा डा. केशरजंग रायमाझीसँगै मस्कोपन्थी बाटोमा लागेका थिए । ०३७ पछि आफ्नै नेतृत्वमा कम्युनिस्ट पार्टी पुनर्गठन गरेका मानन्धरले त्यसपछि नेपालमा उदारवादी राजनीतिकै एउटा हिस्साका रूपमा कम्युनिस्ट पार्टीले काम गर्नुपर्छ भन्ने मान्यता राखेर काम गरे । 

पहिलो पुस्ताका आदर्शवादी नेताको अवसानले नेताहरूमा नैतिक दबाब सिर्जना हुने अवस्था पनि गुम्दै जानेछ, मानन्धरको मृत्युले त्यतै संकेत गर्छ
 

०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाको एउटा हिस्साका रूपमा रहेको मानन्धर समूहलाई तत्कालीन माले र मसालले जहिले पनि दक्षिणपन्थी अवसरवादी भनेर आलोचना गर्थे । आन्दोलनपछि गठित सरकारमा उनको पार्टीका तर्फबाट नीलाम्वर आचार्य मन्त्री भए, चाहेको भए मानन्धर आफैँ मन्त्री हुन सक्थे, तर उनले त्यो चाहना देखाएनन् । त्यसपछि पनि उनको पार्टी विभिन्न समयमा सरकारमा गयो, तर मानन्धर आफैँ जहिले पनि बाहिर बसेर अरूलाई अवसर दिइरहे । विष्णुबहादुर मानन्धरको दलमा रहेका कैयन नेताहरू पछि नेकपा (एमाले) र नेपाली कांग्रेसमा आबद्ध हुन पुगे र त्यहीँबाट उनीहरूले आफ्नो राजनीतिलाई अघि बढाए । तर, उनले आफ्नो बाटो र विचार त्यागेनन् । एउटा विचार, आदर्शबाट निर्देशित भई जहिले पनि शान्त र खुला राजनीतिप्रति, बहुलवादप्रति प्रतिबद्ध रहेर उनले नेपालका पुराना पुस्ताका राजनीतिज्ञहरूले गरेको त्याग र उत्सर्गको पाटोलाई बोकिरहे । 

उनी पहिलो पुस्ताका जीवित थोरै नेतामा पर्थे । कम्युनिस्ट आन्दोलनका वैचारिक अवैचारिक विवादका कारण कहिले आलोचनामा र कहिले प्रशंसामा पर्दा पनि आफ्नो मूल विचारबाट अविचलित रहेर उनले एउटा आदर्शपूर्ण जीवन बिताए । उनी नेपालको राजनीतिक विकास पढ्नका लागि एउटा जिउँदो इतिहास पनि थिए । ०३६ सालपछि तीव्र विकास भएको दलाल र नोकरशाही पुँजीको विकासले वर्गोत्थान भएको राजनीतिक सत्ताका लागि हुने छिनाझपटी, अवसरवादी खेल र षड्यन्त्रका उनी साक्षी थिए । यतिवेला नेपालको राजनीतिमा, खासगरी वामपन्थी राजनीतिमा एउटा विकृत चित्र सलबलाइरहेको छ । को वामपन्थी हो र को होइन, को कम्युनिस्ट भनिन लायक हो र होइन, वामपन्थी समाजवादी या कम्युनिस्ट हुनु र पुँजीवादवादी उदारवादी हुनुका बीच के भेद छन् भन्नेसम्म छिमिल्याउन नसक्ने अवस्था सिर्जना भएको छ । 

राजनीति सेवाका लागि होइन, वैयक्तिक शक्ति र स्रोत आर्जनका लागि गरिने झगडामा रूपान्तरित भएको छ । षड्यन्त्र नै कार्यनीति र सत्ता नै रणनीति भएको छ । यस्तो वेला पहिलो पुस्ताका आदर्शवादी नेताको अवसानले नेताहरूमा नैतिक दबाब सिर्जना हुने अवस्था पनि गुम्दै जानेछ । मानन्धरको मृत्युले त्यतै संकेत गर्छ । विद्रोह केवल सत्तासँगको असन्तोष र पौँठेजोरी खेलाई मात्र होइन । बरु सत्तानिकट पुग्दा पनि सत्ताको लोभ र मातबाट टाढा बस्नु पनि हो । विष्णुबहादुर मानन्धर त्यस्तै एकजना अदार्शवादी नेता थिए । उनीप्रति हार्दिक श्रद्धाञ्जली ।