मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ चैत १८ बुधबार १०:३८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो तामाकोसीको प्राविधिक परीक्षण धमाधम : वैशाखमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादनको तयारी

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ चैत १८ बुधबार १०:३८:००

- वैशाखसम्म आयोजनाको लागत ८३ अर्ब पुग्ने, असारसम्म पूर्ण सञ्चालनमा ल्याउने योजना

- ५ वर्षमा सक्ने लक्ष्यसहित साउन ०६७ मा निर्माण थालिएको आयोजना ११ वर्षमा 

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनपूर्वको प्राविधिक परीक्षणले गति लिएको छ । अहिलेसम्म गरिएका प्राविधिक परीक्षण सफल भइरहेकाले अब तोकिएको समयमै विद्युत् उत्पादन थालिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार वैशाखभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन थालिनेछ । अहिले ड्याम (बाँध)मा पानी राखेर बालुवा थिग्र्याउने कामको प्राविधिक परीक्षण भइरहेको छ । 

वर्ष दिनअघि नै बाँधको परीक्षण भइसकेकाले अहिले बाँधमा पानी हालेर बालुवा थिगार्ने परीक्षण भइरहेको हो । यसमा विशेष गरी हाइड्रो मेकानिकल गेटहरू परीक्षण भइरहेको छ । बाँधमा भरिएको पानीलाई अब घटाउँदै लैजाने तयारी छ । त्यसबाहेक अबको २ हप्ताभित्र परीक्षणमा देखिएका कमजोरीलाई सुधार गरिनेछ ।  

त्यसपछि वैशााखको दोस्रो हप्तासम्ममा सुरुङ (टनेल)मा पानी हाल्ने काम थालिनेछ । ‘यससँगै ढिलोमा वैशाख मसान्तसम्ममा पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन सुरु हुनेछ,’ प्रवक्ता डा. न्यौपानेले भने । नयाँ कार्यतालिकाअनुसार पहिलो युनिट चार्ज भएको २ हप्तामा अर्को युनिट चार्ज गरिनेछ । त्यसपछि ढिलोमा पनि असारसम्ममा सबै ६ युनिटबाट विद्युत् उत्पादन थालिनेछ । 

त्यसअघि चैत मसान्तभित्रमा पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य छ । अन्य परीक्षण पनि सकिनेछ । ढिलो नै भए पनि वैशाख पहिलो हप्ताभित्रमा विद्युत् उत्पादनपूर्वको सम्पूर्ण निर्माण र परीक्षणको काम सकिनेछ । 

यसअघि आयोजना व्यवस्थापनले मंसिरसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन थालिने तयारी थियो । तर, समयमा प्राविधिक काम नसकिँदा विद्युत् उत्पादन हुने म्याद २०७८ वैशाखसम्ममा सरेको छ । भारतीय ठेकेदार कम्पनीले समयमा डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन नसक्दा आयोजना ढिला भएको हो । आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप बनाउन ढिलाइ गरेको थियो । उसले माघसम्ममा पाइप जडान गर्नुपर्ने समयसीमा तोकिएको थियो । 

त्यसलाई पर्खिने हो भने थप ६ महिना ढिला हुने भएपछि डिजाइन नै परिवर्तन गरिएको थियो । विज्ञ, परामर्शदाता र ‘प्यानल अफ एक्सपर्ट’को राय–सुझाबअनुसार एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने ठाउँमा वैकल्पिक पाइप राखेर उत्पादन थाल्ने निर्णय गरेको थियो । चाँडै उत्पादन थाल्ने लक्ष्यका साथ पूर्वनिर्धारित डिजाइनलाई अन्तिम अवस्थामा आएर परिवर्तन गरिएको र यो पूर्वनिर्धारित डिजाइनमा जतिकै गुणस्तरीय रहेको उनको भनाइ छ ।

ब्याजसहित आयोजनाको लागत ८३ अर्ब 
निर्माण अवधि दोब्बरभन्दा बढीले बढेको आयोजनाको लागत ८३ अर्ब रुपैयाँ पुग्दै छ । चालू आवको दोस्रो चौमासिकसम्मको खर्च ८२ अर्ब रुपैयाँ पुगेको थियो । वैशाखसम्म करिब ८३ अर्ब रुपैयाँ खर्च हुने आयोजना प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । ‘त्यसमा ५३ अर्ब साँवा र ३० अर्ब ब्याज रहेको छ,’ उनले भने । 

आयोजना थालनी हुँदा ब्याजबाहेक ३५ अर्ब रुपैयाँमा आयोजना सम्पन्न गर्ने उल्लेख थियो । आयोजना थालनी गरिएको आर्थिक वर्ष ०६५/६६ मा सम्पन्न हुँदासम्म ब्याजसहित अयोजनाको लागत ४८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो 

तर, अहिले ब्याज र अमेरिकी डलरको अधिमूल्यनबाहेक नै ५३ अर्ब रुपैयाँ लागत पुगेको छ । आयोजनाको वित्तीय व्यवस्थापन हुँदा १ अमेरिकी डलरको मूल्य ७२ रुपैयाँ रहेको र आयोजना सम्पन्न भइसक्दा अधिकतम ८० रुपैयाँ पुग्ने प्रक्षेपण थियो । तर, अहिले त्यसमा धेरै ठूलो परिवर्तन आउँदा पनि लागत बढेको, तर अन्य आयोजनासँग तुलना गर्दा अत्यधिक नभएको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । अहिले पनि प्रतिमेगावाट १७ करोड हाराहारीमा रहेको छ । काम लगभग सकिएकाले अब ब्याज र कर्मचारीमा हुने खर्च मात्र आयोजनाको लागत बढाउन  सहायक रहनेछन् । 

गत आव ०७६/७७ को चैतमा काम सम्पन्न हुँदा आयोजनाको लागत ७३ अर्ब ६८ करोड पुग्ने आकलन थियो । चैत ०७६ मा आयोजना सम्पन्न गर्दा लागत ५१ अर्ब ९४ करोड र निर्माण अवधिको ब्याज २१ अर्ब ७४ करोड गरी कुल लागत ७३ अर्ब ६८ करोड हुने अनुमान गरिएको थियो । ०७२ को भूकम्प र ठेकेदारको ढिलाइका कारण आयोजनाको समय लम्बिँदा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक नै ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ संशोधित अनुमान थियो । त्यसपछि निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधन गरियो । 

आयोजना निर्माण थालिएको ११ वर्ष
५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले १० वर्ष ९ महिनामा हिँडिरहेको छ । तर, आयोजना पछिल्लो प्रगति अवस्थाले ११ वर्ष पूरा नभई आयोजना पूर्ण सञ्चालनमा आउने देखिँदैन । ४ सय ५६ मेगावाट क्षमताको आयोजनाबाट अघिल्लो आर्थिक वर्ष सरकारले ०७७ असारमा ७६ मेगावाटको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्य तय गरेको थियो । संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य भने ०७६ को चैतभित्र पूरा गर्ने लक्ष्य थियो । 

यसकारण ढिलाइ भयो ?
आयोजना ढिलाइ हुनुमा सबैभन्दा पहिला भूकम्पले अवरोध गर्‍यो । त्यसपछि नाकाबन्दीले पनि असर गर्‍यो । पछिल्लो समयमा भने कोभिडले पनि ठूला आयोजना प्रभावित भए । त्यसमध्ये पेनस्टक पाइप जडानमा भएको ढिलाइ पनि आयोजनालाई पछि धकेल्ने एउटा प्रमुख कारण हो । तोकिएको समयभन्दा ढिलो गरी माथिल्लो र तल्लो ठाडो सुरुङमा १ सय ३४ पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य तुहिएको थियो । ०७६ असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । तर, साढे ४ महिना ढिला पेनस्टक पाइप जडान सम्पन्न भएको थियो । ३ सय ५ मिटर लामो माथिल्लो सुरुङमा ६१ पेनस्टक पाइप जडान गर्ने काम १४ असारमा सम्पन्न भएको थियो । माथिल्लो ठाडो सुरुङ जडान कार्य लट २ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामानको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले गरेको हो । 

यसअघि ३ सय ६७ मिटर अग्लो तल्लो सुरुङमा पेनस्टकको अन्तिम पाइप जडान कार्य गत जेठमा सम्पन्न भएको थियो । तल्लो ठाडो सुरुङमा ७३ वटा पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको ३ सय ७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट ३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरेको हो । त्यस्तै, दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएको टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।