मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १७ मंगलबार ०८:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई दशकपछि भन्सार एजेन्ट नियुक्ति गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १७ मंगलबार ०८:५९:००

भन्सार विभागद्वारा ६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त माग, असारभित्रै नियुक्ति गरिने

करिब दुई दशकपछि सरकारले भन्सार एजेन्ट नियुक्ति गर्ने तयारी गरेको छ । ०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । भन्सार विभागले सोमबार ६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त माग गरेको हो । दरखास्त दिने अन्तिम म्याद १२ वैशाखसम्मलाई तोकिएको छ । ढिलोमा आगामी असारभित्र नियुक्ति प्रक्रिया सम्पन्न गरिने विभागका प्रवक्ता शिशिर घिमिरेले बताए । 

दुई दशकदेखि भन्सार एजेन्ट नियुक्ति नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिएका थिए । व्यवसायीले चाहेका वेला भन्सार एजेन्ट नपाउने, समयमै मालवस्तु पास नहुने, एजेन्टले गुणस्तरीय काम नगर्ने, महँगो सेवाशुल्क लिने, तौलअनुसार शुल्क निर्धारण गर्ने तथा सिन्डिकेट गर्नेलगायतका समस्या देखिएको व्यवसायी तथा कर्मचारीहरूले गुनासो गर्दै आएका थिए । 

बढ्दो अन्तर्राष्ट्रिय व्यापार, थपिएका भन्सार नाका तथा निष्क्रिय भन्सार एजेन्टलाई समेत मूल्यांकन गरेर भन्सार एजेन्ट थप गर्ने प्रक्रिया थालिएको प्रवक्ता घिमिरेले बताए । ‘पछिल्ला दुई दशकमा विभिन्न कारणले भन्सार एजेन्ट नियुक्ति हुन सकेको थिएन,’ उनले भने, ‘बढेको व्यापार तथा भन्सार नाकाको तुलनामा भन्सार एजेन्ट संख्या अपुग भएको गुनासो पनि आएको छ, सोही कारण हामीले एजेन्ट थप गर्ने प्रक्रिया सुरु गरेका हौँ ।’

निकासी–पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्न सक्छन् । भन्सार एजेन्टलाई आयात–निर्यात हुने मालवस्तुको धनीसरहसमेत मानिने गरिन्छ । तर, भन्सार एजेन्ट बन्न भने विभाग वा कार्यालयबाट अनुमतिपत्र लिनुपर्छ । विभागले समय–समयमा सार्वजनिक सूचना प्रकाशनमार्फत दरखास्त मागेर लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको इजाजतपत्र दिन सक्ने भन्सार ऐन, २०६४ (२०७६ दशौँ संशोधन)को व्यवस्था छ । सोही व्यवस्थापअनुसार विभागले एजेन्ट नियुक्ति प्रक्रिया अघि बढाएको हो । 

सरकारले हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । चालू आर्थिक वर्षमा १ सय ६९ जना भन्सार एजेन्टले अनुमतिपत्र नवीकरण गरेका छन् । नाका र व्यापार बढेअनुसार भन्सार एजेन्ट नियुक्ति नहुँदा त्यसको स्वाभाविक असर भन्सार जाँचपासमा देखिने गरेको छ ।

अहिले १ सय ७० जना एजेन्ट र तिनका ३ सय ५० हारहारी प्रतिनिधिले भन्सारमा सहजीकरण गरिरहेको भन्सार एजेन्ट महासंघ नेपालका निवर्तमान अध्यक्ष डा. शान्ताकुमार शर्माले बताए । ‘बढेको व्यापार तथा नाकाको हिसाबले भन्सार एजेन्ट थप गर्ने सरकारी तयारी स्वागतयोग्य छ,’ उनले भने, ‘तर, हाम्रा अनुभवी प्रतिनिधिहरूलाई समेत ग्राह्यता दिनुपर्छ भन्ने संघको धारणा छ ।’