१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १७ मंगलबार ०६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

चीनबाट आठ लाख डोज खोप आयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १७ मंगलबार ०६:३६:००

छिमेकी चीनले अनुदानमा दिएको आठ लाख र भारतले नेपाली सेनालाई सहयोगस्वरूप पठाएको एक लाख गरी नौ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनबाट सोमबार बिहान र भारतबाट आइतबार बेलुका खोप आएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छिन् । नेपाल वायुसेवा निगमको जहाजले बेइजिङ पुगेर चिनियाँ खोप ल्याएको हो । यो खोप चिनियाँ सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । राजदूत यान्छीले दुई देशका नेताहरू र सम्बन्धित अधिकारीहरूको संयुक्त प्रयासमा खोप आएको बताइन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्दै

‘यो खोपमा चिनियाँ जनताको नेपाली जनताप्रति मैत्रीपूर्ण भावनाको प्रतिबिम्बन छ । एक–अर्कालाई चाहिएका वेला हुने सहयोगको यो अर्को उदाहरण हो । यसले नेपाल–चीन रणनीतिक सहयोगात्मक साझेदारीमा आधारित उच्चस्तरीय सम्बन्धलाई दर्साउँछ,’ राजदूत यान्छीले भनिन् ।

राष्ट्रपति सीको वचनबद्धताअनुसार चीनले विश्वका अन्य मुलुकहरूमा झैँ नेपालमा पनि खोप सहयोग गरेको राजदूत यान्छीको भनाइ थियो । उनले नेपाललाई थप खोप आपूर्तिका लागि सहजीकरण गर्ने पनि वचनबद्धता पनि व्यक्त गरिन् । चीनले नेपालसहित ८० देशलाई खोप अनुदानमा दिएको राजदूत यान्छीले बताइन् । चीनले ४३ देशमा खोप निर्यात (बिक्री–वितरण) गरेको उनले बताइन् । 

त्यस्तै, भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड– १९ विरुद्धको एक लाख डोज खोप पठाएको छ । ‘भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज खोप काठमाडौं आइपुगेको छ, यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम छ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने ।