मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मणिलाल विश्वकर्मा
२०७५ फाल्गुण ३ शुक्रबार ११:११:००
Read Time : > 1 मिनेट
प्रदेश

चुरे क्षेत्रमा जंगली हात्तीको आतंक

 घर भत्काउने, अन्न खाने र खेती नष्ट गर्न थालेपछि स्थानीय रातभर जाग्राम

Read Time : > 1 मिनेट
मणिलाल विश्वकर्मा
२०७५ फाल्गुण ३ शुक्रबार ११:११:००

चुरे जंगलसँग जोडिएका सिरहाका गाउँबस्तीका बासिन्दा एक सातादेखि जंगली हात्तीको आतंकबाट पीडित छन् । राति–राति समूह बनाएर आउने जंगली हात्तीले घर भत्काउने, अन्नपात खाने, खेतबारीमा नोक्सान पुर्‍याउने गरिरहेको स्थानीयले बताएका छन् । 

ज्यानकै जोखिम बढेपछि पीडित स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । सिरहाको लहान नगरपालिका–१९ लग्राहामा मंगलबार बिहान करिब ४ बजेतिर आएको हात्तीको समूहले स्थानीय दुई दलित परिवारको घर भत्काइदिएको छ । ‘एक बच्चासहित आएको पाँच हात्तीको समूहले ओत लाग्ने झुपडीसमेत भत्काइदियो,’ पीडित सुन्दर सदायले नयाँ पत्रिकासँग भने, ‘झुपडी घर पनि नरहेपछि चिसोमा छोराछोरीको बिचल्ली भएको छ ।’ ६५ वर्षीया एकल महिला खजनी सदायको झुपडी पनि हात्तीले भत्काइदिएका छन् । अहिले उनी छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी छिन् । 

थाङ्ग्राको मकै खाए, खेतीसमेत नष्ट गरे
जंगली हात्तीले गोलबजार नगरपालिका–३ मा पर्ने जमदह, मुसहर्निया र गोलाका ६ जनाको भान्साघर, शौचालय भत्काएका छन् । यस्तै, खेतबारीमा लगाएको गहुँ, टमाटर खेती नष्ट गरेका छन् । वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार सोमबार बिहान करिब साढे ३ बजेतिर आएका हात्तीले गोला गाउँका लक्ष्मण राईको थांग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएका छन् । त्यस्तै, प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करिब ३० केजी चामल खाएका छन् । चिनीमाया तामाङ र गोपाल बुढाथोकीको भान्साघर भत्काएका छन् ।

स्थानीय रमेश साह तथा कृष्णदेव साहको १० कठ्ठा क्षेत्रफलको गहुँ खेती र दुई कठ्ठामा गरिएको टमाटर खेती नष्ट गरेको वडाध्यक्ष मोक्तानले जानकारी दिए । वडाध्यक्ष मोक्तानका अनुसार मंसिरमा पनि जंगली हात्तीले जमदहका तीनजनाको घर भत्काएको थियो भने घरमा भएको धान–चामल खाएको थियो । धनगढीमाई नगरपालिका–१३ अन्तर्गत उत्तरी भेगको भुल्किया जोगी डाँडाका राजेन्द्र लामा तथा सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान–चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङले बताए । 

अढाई महिनादेखि आतंक
सिरहाको उत्तरी क्षेत्रमा प्रायः हरेक वर्ष दिउँदपछि पूर्वी भेगबाट चुरे जंगल हुँदै आउने जंगली हात्तीले स्थानीयवासीको घर भत्काइदिने, बालीनाली खाइदिने गरेका छन् । मंसिरको तेस्रो हप्तादेखि सप्तरीको सुरुंगा नगरपालिका–१ पिप्रा पश्चिम, २ हर्दिया र ४ मधुपट्टि गाउँबाट सुरु भएको वितण्डा अढाई महिनासम्म उस्तै छ । त्यहाँबाट चुरे जंगल हुँदै सिरहा आएको हात्तीको समूह रातको समयमा गाउँ पसेर वितण्डा गर्न थालेको लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए ।  

हात्तीको समूहले वितण्डा गर्न थालेपछि मंगलबार डिभिजन वन अधिकृत उपेन्द्रप्रसाद पटेल, दुईजना सहायक वन अधिकृत र ६ जना सशस्त्र वनरक्षकको समूहले सिरहाको जमदह, मुसहर्निया, गोला, भुल्किया, लग्राहालगायत गाउँमा पुगेर स्थानीय बासिन्दासँग छलफल गरेको थियो ।