१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत १७ मंगलबार ०६:०४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु मैदानमा ३७ वर्षपछि उपाधि

Read Time : > 3 मिनेट
२०७७ चैत १७ मंगलबार ०६:०४:००

बंगलादेशलाई २–१ ले पराजित गर्दै सिनियर फुटबल टोलीले उचाल्यो ट्रफी

किर्गिस्तान र बंगलादेश सहभागी थ्री नेसन कपको उपाधि जितेपछि नेपाली राष्ट्रिय टिम । यो खेलसँगै राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेलेका पूर्वकप्तान विराज महर्जनले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । उनलाई सहकर्मीहरूले सम्मान गरेका थिए ।

सिनियर राष्ट्रिय फुटबल टोलीले झन्डै चार दशकपछि घरेलु मैदानमा उपाधि जितेको छ । थ्री नेसन कपअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गर्दै ट्रफी उचालेको हो । 

यसअघि सिनियर टोलीले सन् १९८४ मा दशरथ रंगशालामै भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)को उपाधि जितेको थियो । त्यतिखेर पनि नेपालले बंगलादेशलाई नै पराजित गरेको थियो । 

उपाधि पक्का भएपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरे । ‘हामीले पछिल्लो सय दिन नियमित मिहिनेत गरेका छौँ । खेलाडीहरूले प्रशिक्षकले भनेजस्तै प्रदर्शन गरे । यो जितको श्रेय नेपाली टोलीलाई नै जान्छ,’ उनले भने, ‘उपाधि जित्दा खुसी लागेको छ ।’ 

दक्षिण एसियाली फुटबलमा परम्परागत प्रतिद्वन्द्वी बंगलादेशसँग नेपालले तीन प्रतियोगिताको फाइनल खेल्दा दुईमा उपाधि जित्न सफल भएको छ । सन् १९९९ मा नेपालमै आयोजना भएको साफको आठौँ संस्करणमा पनि नेपालले फाइनल बंगलादेशसँग खेलेको थियो । यद्यपि, उक्त खेल बंगलादेशले १–० ले जितेको थियो । 

नेपालले दुई वर्षअघि दशरथ रंगशालामै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबलतर्फको स्वर्णपदक जितेको थियो । तर, आठौँ संस्करणपछि सागमा यू–२३ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । 

थ्री नेसन कप साफ च्याम्पियनसिप स्तरको प्रतियोगिता होइन । तीन टोली (किर्गिस्तानको यू–२३ टोलीसहित) मात्रै सहभागी प्रतियोगिता हो । तर, कोरोना महामारीले सिथिल नेपालीमा यही प्रतियोगिताको उपाधिले पनि केही खुसी दिएको छ । सोमबार हजारौँ दर्शकले स्टेडियममै पुगेर नेपालले उपाधि जितेको खुसियाली मनाए । 

फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार हजार आठ सय २६ टिकट बिक्री गरेको थियो । जसमध्ये चार हजार पाँच सय २६ साधारण प्यारापिट र तीन सय भिआइपी प्यारापिटतर्फको टिकट बिक्री भएको थियो । त्यसबाहेक एन्फाले ठूलो संख्यामा पास वितरण गरेको थियो ।

नेपाली सिनियर टोलीले जितेको यो समग्रमा पाँचाैँ उपाधि हो । नेपालले छैटौँ साफ (१९८४)मा उपाधि जितेको थियो । त्यसपछि एकैपटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र मलेसियामा भएको एसियाली फुटबल महासंंघ (एएफसी) सोलिडारिटी कपको उपाधि जितेको थियो । 

उपाधिसँगै नेपालले आफ्नो अन्तर्राष्ट्रिय गोल र जितविहीन यात्रालाई पनि १७ महिना १९ दिनपछि टुंग्याएको छ । नेपाल पछिल्लो सात खेलदेखि अन्तर्राष्ट्रिय जित र गोलविहीन थियो । 

संजोगको निर्णायक प्रदर्शन
पछिल्लो सात अन्तर्राष्ट्रिय (किर्गिस्तानको यू–२३ टोलीविरुद्धको खेलसहित) खेलमा एक गोलसम्म गर्न नसकेको सिनियर टोलीले सोमबार फाइनलमा भने दुई उत्कृष्ट गोल ग-यो । यो दुवै गोलमा मिडफिल्डर संजोग राईको निर्णायक भूमिका रह्यो । 

पहिलो गोल उनी आफैँले गरे । दोस्रो गोलमा उनले उत्कृष्ट अवसर मिलाइदिए । खेलको १८औँ मिनेटमा सुनील बलले प्रहार गरेको कर्नर बललाई बंगलादेशका खेलाडीले डी बक्स लाइननजिक रहेका संजोगतर्फ प्रहार गरेका थिए । त्यही बललाई संजोगले गोलमा परिणत गरे । 

संजोगले राष्ट्रिय टोलीबाट मात्रै दोस्रो आधिकारिक खेलमा गोल गर्न सफल भएका छन् । उनले यसै प्रतियोगिताअन्तर्गत बंगलादेशविरुद्ध नै गत शनिबार भएको समूहगत चरणको अन्तिम खेलमा ‘डेब्यु’ गरेका थिए । 

खेलको ४२औँ मिनेटमा अर्काे एउटा आकर्षक ‘मुभ’ बन्यो । रक्षक रञ्जित धिमालले दिएको बललाई संजोगले चलाखीपूर्ण तरिकाले बंगलादेशका प्रायः सबै खेलाडी ‘बिट’ हुने गरी अगाडि दिएका थिए । सोही बललाई विपक्षी गोलरक्षक अनिसुर रहमानसँग वान भर्सेस वानको अवस्थामा विशाल राईले गोल गरी नेपालको अग्रता पहिलो हाफमै दोब्बर बनाए ।

खेलको दोस्रो हाफमा बंगलादेशले एक गोल फर्कायो । कर्नरमार्फत आएको बललाई महबुबुर रहमानले उत्कृष्ट हेडिङ गोल गरेका थिए । ६ वर्षपछि आफ्नै राष्ट्रिय रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपाली टोलीले सोमबारको खेलमा भने सुरुवातबाटै सशक्त प्रदर्शन ग-यो । 

नेपालले सुरुवातबाटै एकपछि अर्काे उत्कृष्ट गोल अवसर सिर्जना गरेको थियो । यद्यपि, नेपालले सबै अवसर सदुपयोग गर्न भने सकेन । खेलको १३औँ मिनेटमै नेपालले एउटा उत्कृष्ट अवसर पाएको थियो । विपक्षी सबै खेलाडीलाई बिट गर्दै सिक्स यार्डभित्र आइपुगेको सुनीलको क्रस बललाई त्रिदेव गुरुङले रोकेका थिए । यद्यपि, उक्त बललाई उनले प्रहार गर्न पाएनन् । 

त्यसको चार मिनेटपछि नै सुनीलले नै क्रस गरेको बललाई सिक्स यार्ड बक्सबाट अनन्त तामाङको उत्कृष्ट हेडिङ बललाई बंगलादेशका गोलरक्षक अनिसुरले मुस्किलले रोकेका थिए । यस्तै, २९औँ मिनेटमा विपक्षी गोलरक्षक अघि बढेको अवस्थामा अञ्जन विष्टले फ्लिक गरेको बल गोलपोस्टनजिकैबाट बाहिरिएको थियो ।
आफूले आधिकारिक रूपमा कप्तानको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगितामै उपाधि दिलाएपछि किरण चेम्जोङले युवा खेलाडीको प्रशंसा गरे । ‘अहिले टोलीमा समावेश सबै युवा खेलाडीले उत्कृष्ट प्रदर्शन दिएका छन् । उनीहरूको प्रदर्शनबाट म प्रभावित छु,’ किरणले भने, ‘यदि, नियमित प्रशिक्षण भइरहने हो भने यो टोलीले अझै ठूला सफलता दिनेछ ।’

विराजले ७३ खेलपछि राष्ट्रिय टोलीबाट बिदा लिए

राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेलेका पूर्वकप्तान विराज महर्जनले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । यसअघि नै थ्री नेसन कप राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम केही समय खेलेर बिदा लिए । 

उनी खेलको ८६औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गर्दा कप्तान किरणले सम्मानस्वरूप कप्तानको ‘आर्म ब्यान्ड’ दिएका थिए । खेल सकिएपछि सहकर्मी खेलाडीहरूले उनलाई पालैपालो बोकेर मैदानको परिक्रमा गराएका थिए । त्यसपछि प्रधानमन्त्री केपी ओलीले एन्फाको लोगोसहितको ब्लेजर लगाइदिएर उनको सम्मान गरेका थिए । विराजले आफ्ना लागि यो अविस्मरणीय क्षण रहेको बताए ।

‘फुटबल खेल्न सुरु गर्दा यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । यहाँहरू सबैको साथ र सहयोगले यो सफलतासम्म आइपुगेको छु,’ सन्न्यासपछि विराजले भने, ‘यो बिदाइ मेरो जीवनकै अविस्मरणीय क्षण हुनेछ । यो क्षणलाई म कहिल्यै बिर्सनेछैन ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालानजिकैका विराज फुटबल माहोलमा हुर्किएका हुन् । उनका बुबा, काका र दाइ पनि आफ्नो समयका फुटबल खेलाडी हुन् । एन्फा एकेडेमी प्रशिक्षित उनले विभिन्न उमेर समूह हुँदै सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट एक गोलसमेत गरेका थिए । उनको नेतृत्वमा नेपालले १२औँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबलतर्फको उपाधि जितेको थियो । राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि घरेलु फुटबलमा भने उनी सक्रिय रहनेछन् ।