मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गंगा पन्थी
२०७७ चैत १६ सोमबार ०८:५६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्ट आन्दोलनको नियति

Read Time : > 3 मिनेट
गंगा पन्थी
२०७७ चैत १६ सोमबार ०८:५६:००

पुष्पलाल श्रेष्ठलगायत चारजनाको अगुवाइमा ००६ सालमा स्थापित नेपालको कम्युनिस्ट आन्दोलनले सात दशक पार गरिसकेको छ । शैशवकालका कारण ००७ को क्रान्तिमा उल्लेख्य भूमिका खेल्न नसके पनि त्यसपछिका आन्दोलन र जागरणमा कम्युनिस्ट आन्दोलनले निर्वाह गरेको भूमिका सशक्त छ । व्यवस्था परिवर्तन र जागरणमा भूमिका खेलेको नेपालको कम्युनिस्ट आन्दोलनले टुटफुट र विभाजनको शृंखला नै खेप्नुप¥यो । कतिसम्म भने स–साना अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विवादलाई बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा समेत कम्युनिस्ट पार्टी विभाजित बने । 

कम्युनिस्ट आन्दोलनमा एकता र ध्रुवीकरणका प्रयासहरू नभएका होइनन् । कम्युनिस्ट न्युक्लियसको गठन, माले र माक्र्सवादीबीच एकता र नेकपा एमालेको जन्म, नेकपा मशाललगायत चारवटा पार्टी मिलेर नेकपा एकता केन्द्र बनी माओवादीमा रूपान्तरण यसका उदाहरण हुन् । ०७४ को आमनिर्वाचनमा कार्यगत एकता गरेका माओवादी र एमालेले तत्कालीन अवस्थामा कम्युनिस्ट आन्दोलनमा एकताको सन्देश दिन सफल भए पनि त्यो दिगो भएन । 

०३६ को विद्यार्थी आन्दोलनको जगमा भएको जनमतसंग्रह र ०४६ को जनआन्दोलनमा कम्युनिस्ट पार्टीहरूले उल्लेख्य भूमिका खेले भने १० वर्षे जनयुद्धको जगमा भएको ०६२÷६३ को आन्दोलनमा उनीहरू निर्णायक भूमिकामा पुग्न सफल पनि भए । जब कम्युनिस्टहरू सरकारमा पुगे, तब धरमराउन थाले ।

मनमोहन अधिकारी नेतृत्वको नेपालको पहिलो कम्युनिस्ट सरकारले केही आशा अवश्य पनि सञ्चार गराएको थियो । तर, त्यसपछिका सबै कम्युनिस्ट सरकारले आन्दोलनको मर्मलाई न्याय गर्न सकेनन् । समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य राखेको कम्युनिस्ट सरकारले न्यूनतम बुर्जुवा पार्टीको व्यवहार पनि प्रदर्शन गर्न सकेनन् । नवउदारवाद मात्र होइन, दलाल पुँजीवाद र डा. बाबुराम भट्टराईले भनेजस्तै त्यसको विकृत रूप ‘आसेपासे पुँजीवाद’मा नेपालको कम्युनिस्ट आन्दोलन नराम्रोसँग फस्न पुगेको छ । यो दलदलबाट सहजै बाहिर आउने देखिँदैन । 

विचार सिद्धान्त र कार्यदिशाको विषय : माओत्सेतुङ भन्नुहुन्थ्यो– विचार र कार्यदिशा ठीक हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्छ । तर, नेपालका कम्युनिस्ट पार्टीमा विचार र कार्यदिशाजस्तो गहन र महत्वपूर्ण पाटोमा दिलचस्पी देखिँदैन । विचार र कार्यदिशाको प्रश्नमा अधिकांश समय तदर्थवादमा चल्नु नै कम्युनिस्टको चरित्र बन्दै छ ।

कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालसँग अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका पर्याप्त अनुभवहरू अंगीकार गर्ने सुविधा थिएन । तर, ५०, ६० वा ७० को दशकमा आइपुग्दा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पर्याप्त अनुभव छन् । राज्यको विलोपीकरणसहितको शास्त्रीय माक्र्सवादले परिकल्पना गरेको काल्पनिक साम्यवाद हाम्रो गन्तव्य हो वा बहुसंख्यक जनताको हितमा हुने समाजवादी सत्ता हाम्रो गन्तव्य ? प्रस्ट हुन जरुरी छ । 

अब पनि जटिल कम्युनिस्ट शब्दावलीहरू प्रयोग गरेर जनतालाई भ्रमित गराउने होइन । विश्व कम्युनिस्ट आन्दोलन नै रक्षात्मक रहेको अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनको विचार र कार्यदिशा कस्तो हुने भन्ने अन्योल नचिर्ने हो भने कम्युनिस्ट आन्दोलनको रथ अबको पिँढीले बोक्नेवाला छैन ।

तीन वर्षको अवधिमा १० लाख भनिएको कार्यकर्तालाई परिचालन गरी विकास र समृद्धिको नेतृत्व गरेको भए देश कस्तो बन्थ्यो होला ? 

कोरा कल्पनामा आधारित भएर निर्माण गरिने विचारको अर्थ छैन । विचार र कार्यदिशा कार्यान्वय गर्न सकिने खालको हुन जरुरी छ । परिवर्तनको जगमा बनेको नेपालको संविधानमै समाजवादप्रति प्रतिबद्ध भनी लिपिबद्ध भइसकेको छ । अबको समाजवादी आन्दोलन लोकतन्त्रको पर्यायवाचीका रूपमा अगाडि बढ्नुपर्छ । सँगै, नेपाली विशेषतासहितको समाजवादी व्यवस्थाको वैचारिकी र सोहीबमोजिमको प्रस्ट कार्यक्रम आजको आवश्यकता हो । 

कस्तो संगठनात्मक विधि र पद्धति ? : संगठनलाई गतिशील र व्यवस्थित बनाउने रसायन हुन्, विधि र पद्धति । शास्त्रीय कम्युनिस्ट लेनिनको संगठनात्मक सिद्धान्तलाई नै संगठन व्यवस्थापनको आधार मान्छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा त लेनिनवादी संगठनात्मक पद्धतिलाई पनि आफूअनुकूल व्याख्या गर्ने विकृति छ । 

 आन्तरिक लोकतन्त्रको अभ्यास नहुने भ्यानगार्ड खालको पार्टी संगठनबाट स्टालिनवादी निरंकुश र तानाशाही प्रकारको नेतृत्व जन्मन्छ । यस्तो संगठनमा नेता, कार्यकर्ता र जनताबीचको सम्बन्ध टुट्दै जान्छ । नेकपाको पछिल्लो विवादसम्म आइपुग्दा स्वयं पार्टी अध्यक्षले बैठक नडाक्ने, बैठकबाट भाग्ने परिस्थितिसम्म सिर्जना भयो । यो कम्युनिस्टको ब्यानरमा गरिएको बेइमानी हो । यो विचलनले पक्कै पनि आन्दोलनलाई क्षतविक्षत बनाउँछ ।

बैठकदेखि बैठकसम्म, सम्मेलनदेखि सम्मेलनसम्म पुग्ने पुरानो स्टालिनवादी संगठनात्मक पद्धतिले जन्माउने प्रवृत्ति यही नै हो । त्यसकारण पार्टीका सम्पूर्ण तहका नेतृत्व एवं पार्टी सदस्यले विचारको छलफल गर्ने, सार्वजनिक विषयमा छलफल गर्ने, चुन्न÷चुनिन पाउने, नेतृत्वले खराब काम गर्दा प्रश्न गर्ने र फिर्ता बोलाउन सक्ने हैसियत जब कार्यकर्ता र जनतामा हुँदैन, तब संगठन गतिशील र लोकतान्त्रिक बन्न सक्दैन । आफैँ लोकतान्त्रिक नभएको संगठनले जनताको सेवामा आफूलाई कसरी उभ्याउला ? यसर्थ, संगठनात्मक पद्धतिलाई सुधार गरी कम्युनिस्ट आन्दोलन स्वयंलाई लोकतान्त्रीकरण गर्नुको विकल्प छैन । 

कम्युनिस्ट आचरण, व्यवहार र कार्यशैली : विचार, सिद्धान्त, विधि र पद्धति पार्टीको आन्तरिक जीवनका विषय हुन् । नागरिकको तहबाट पार्टीलाई हेर्ने भनेको उक्त पार्टीका नेता, कार्यकर्ताको आचरण, व्यवहार, कार्यशैली कस्तो छ भन्ने हो । बुर्जुवा पार्टीका नेता र कम्युनिस्ट पार्टीका नेताको आचरण र व्यवहारमा आकाश–जमिनको फरक हुनुपर्ने हो । सामन्तवादको समूल नष्ट गर्ने आन्दोलनका नेता आफैँ सामन्ती संस्कृतिका गतिला उदाहरण भएपछि हुने विघटन र विसर्जन नै हो । 

चीनमा माओले सही नेतृत्व निर्माण, समावेशिता र सही निर्णय निर्माणका लागि पार्टी नेतृत्वमा एक भाग युवा, एक भाग प्रौढ, एक भाग वृद्ध समावेश गरेर नेतृत्व निर्माण गर्ने अवधारणा ल्याए । विश्व कम्युनिस्ट आन्दोलनको मूल रोग नै नेतृत्व जीवनभर पार्टी र सत्ताको नेतृत्वमा रहने हो । पहिलो तहको नेतृत्वले त्याग गरी दोस्रो र तेस्रो पुस्तालाई अघि सार्दा नयाँ सन्देश जान्छ ।

नेतृत्वप्रतिको वितृष्णा आशा र भरोसामा परिवर्तन हुन सक्छ । कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण र एकता बारम्बार उठ्छन् । समग्र जनमत कम्युुनिस्ट र वामपन्थीको पक्षमा हुने तर त्यो शक्तिले जनताको पक्षमा काम गर्न एकताबद्ध हुन नसक्ने नियति नेपालको कम्युनिस्ट आान्दोलनले भोगिरहेको छ । स–साना कोटरीवाट अब कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । अबका दिनमा कम्युनिस्ट मात्र होइन, प्रगतिशील, अग्रगामी र समाजवादी शक्तिसहितको ध्रुवीकरण, एकता र रूपान्तरणमा जोड दिनुपर्छ । यसका लागि कम्युनिस्टबीच मात्रै होइन, नेपाली कांग्रेस, विवेकशील साझालगायतका प्रगतिशीलबीच समेत साझा मिलनबिन्दु खोजिनुपर्छ । 

०६४ को संविधानसभाको निर्वाचनपछि बनेका सबै कम्युनिस्ट सरकारले सदावहार प्रतिपक्षीय भूमिका निर्वाह मात्रै गरे । आफैँले सरकारको नेतृत्व गरेको कुरा बिर्सिए । त्यसको भद्दा रूप प्रधानमन्त्रीले संसद् विघटन गरेपछि देखियो । तीन वर्षसम्म सरकारको नेतृत्व गर्दा जनताको सेवा, देशको विकास र समृद्धिका लागि कार्यकर्ता परिचालन गर्न नसक्ने कम्युनिस्टहरूले प्रधानमन्त्रीबाट संसद्को चीरहरण हुँदा एकले अर्काविरुद्ध कार्यकर्ता र जनता सडकमा उतारे । तीन वर्षको अवधिमा १० लाख भनिएको कार्यकर्तालाई परिचालन गरी विकास र समृद्धिको नेतृत्व गरेको भए देश कस्तो बन्थ्यो होला ? तर, यो त कल्पनाको विषय मात्रै भयो । कम्युनिस्टहरूले प्रतिपक्षीय भएर होइन, जनमत र जनभावनाबमोजिम सिर्जनात्मक ढंगले व्यवहार गर्न पनि सिक्नुपर्छ । 

परिवारवादबाट मुक्ति नहुँदा संगठनका क्षमतावान्, योग्य, इमानदार कार्यकर्ता पछि पारिन्छन् । यसले कार्यकर्ता र जनतामा निराशा जन्माउँछ । परिवारवादका प्रवृत्ति वेलैमा नसच्याए कम्युनिस्ट आन्दोलन तीव्र गतिमा ओरालो लाग्ने निश्चित छ । त्यसैगरी, पञ्चायती व्यवस्थामा सूर्यबहादुर थापा र बहुदलीय व्यवस्थामा गिरिजाप्रसाद कोइरालाले बसालेको आफ्नो क्षेत्रलाई विशेष ग्राह्यता दिने परम्परालाई भत्काउनुपर्ने कम्युनिस्ट प्रधानमन्त्रीहरूले पनि आफ्नै क्षेत्रमा बजेट र परियोजना केन्द्रीकरण गर्ने गरेका छन् । विश्व सर्वहारा र भाइचाराको कुरा गर्ने कम्युनिस्टहरूले सिंगो देशको बारेमा सोच्नुपर्छ । यो प्रवृत्तिबाट पनि कम्युनिस्ट आन्दोलन माथि उठ्नु जरुरी छ ।