Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ चैत १६ सोमबार ०७:२७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्रोकररहित सेयर कारोबारको माग

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ चैत १६ सोमबार ०७:२७:००

भारतमा संस्थागत लगानीकर्ताले ब्रोकररहित सेयर कारोबारको सुविधा पाएका छन्, सेयर कारोबारमा ब्रोकरले उच्च कमिसन लिने, उचित सुविधा नदिने तथा भुक्तानी पनि ढिलो गर्ने कारणले लगानीकर्ताले नेपालमा समेत त्यस्तै सुविधाको माग गर्न थालेका छन्

भारतीय सेयर बजारमा साना लगानीकर्ताले समेत ब्रोकररहित कारोबार गर्न सक्ने अवधारणा नियामक निकाय भारतीय प्रत्याभूति तथा विनिमय बोर्ड (सेबी)ले अघि सारेसँगै नेपालमा पनि यस्तो माग हुन थालेको छ । ब्रोकर कमिसन अहिले पनि उच्च नै रहेको, ब्रोकरहरूबाट समयमै भुक्तानी नपाइनेलगायतका समस्या रहेका कारण पनि नेपालमा ब्रोकररहित सेयर कारोबार हुनुपर्ने लगानीकर्ताले माग गरेका हुन् । ‘ब्रोकरहरू सबल नभएकै कारण बजारमा लगानीकर्ताले धेरै समस्या व्यहोर्नुपरिरहेको,’ लगानीकर्ता उत्तम अर्यालले भने, ‘हामीलाई कम व्ययभार पर्ने गरी सुरक्षित प्रणाली बन्छ भने यो राम्रो हुनेछ ।’ 

अहिले लगानीकर्ताले सेयर कारोबार गर्दा कुनै न कुनै ब्रोकरको माध्यमबाट अनिवार्य रूपमा गर्नुपर्छ । यस किसिमको ब्रोकरविना सीधै स्टक एक्सचेन्जबाट सेयर कारोबार गर्ने प्रणाली भारतलगायत अन्य केही देशमा प्रचलनमा छ । भारतीय बजारमा एक दशकभन्दा अघिदेखि नै संस्थागत लगानीकर्ताका लागि ब्रोकरविना पनि कारोबार गर्न सक्ने सुविधा दिइएको छ । डाइरेक्ट मार्केट एक्सेस (डिएमए) नामकरण गरिएको यो प्रणालीमा संस्थागत लगानीकर्ताले स्टक एक्सचेन्जबाट सोझै कारोबार प्रणालीमा प्रवेश गर्न पाउँछन् । यद्यपि, यस्तो सुविधा पाउने संस्थागत लगानीकर्ताको कारोबार प्रवृष्टि ब्रोकरले नगरे पनि ग्राहक पहिचानलगायतको विवरण भने राख्ने गर्छ । 

भारतमा साना लगानीकर्तालाई ब्रोकरविना कारोबारमा प्रवेश दिने विषयमा मतमतान्तर छ । विशेष गरी ब्रोकरले लगानीकर्ताको गुनासो सुन्ने र उनीहरूको सोधखोजको जवाफ दिनेलगायतको कामसमेत गर्ने र यसका लागि हजारौँको संख्यामा कर्मचारीहरू परिचालित गर्छ । स्टक एक्सचन्जले यस्तो भूमिका निर्वाह गर्न सक्दैन भन्ने कतिपयको भनाइ छ । तर, शक्तिशाली ब्रोकरहरूको प्रभावमा सर्वसाधारणलाई यस्तो सुविधा नदिएको भन्दै कतिपयले आलोचना पनि गर्ने गरेका छन् ।

अमेरिकामा भने सन् १९९० को दशकमै ब्रोकरविना कारोबार गर्न सक्ने व्यवस्था रहेको थियो । तर, यस्तो कारोबारमा लगानीकर्ताले स्टक एक्सचेन्जबाट नभई सूचीकृत कम्पनीले तोकेका ट्रान्सफर एजेन्टबाटै सेयर खरिद गर्न पाउँछन् । प्रत्यक्ष लगानी योजना (डाइरेक्ट इन्भेस्टमेन्ट प्लान) नामकरण गरिएको यो व्यवस्थामा लगानीकर्तालाई कम्पनीमातहतको निकायले बजारमा चलेको भन्दा ३–४ प्रतिशत कम दरमा समेत सेयर खरिद गरिदिने, अतिरिक्त शुल्क नलिने वा ज्यादै न्यून लिने गरिदिन्छन् । आफ्ना कर्मचारीकै लागिसमेत सेयर किनबेच गरिदिने (इम्प्लोई स्टक अनरसिप प्लान) योजनासमेत कम्पनीहरूले ल्याएका हुन्छन् । 

कम्पनीहरूले लाभांश पुनर्लगानी योजना (डिभिडेन्ट रिइन्भेस्टमेन्ट प्लान) समेत ल्याएका हुन्छन् । यो योजनामा भने कम्पनीबाट प्राप्त गर्ने लाभांशलाई पुनः सेयरमै लगानी गरिदिने गर्छन् । पछिल्लो समय विश्वभरमा प्रविधिको प्रयोगले ब्रोकर कमिसन घट्न थालेसँगै यस्ता योजनाहरू कम चल्तीमा देखिन थालेका छन् । 

विश्वमा क्रिप्टोकरेन्सी, मुद्रा वा स्टककै कारोबारमा ब्रोकरविना लगानी गर्न सकिने प्रणाली चल्तीमा छन् । ब्रोकरविना बायनरी अप्सन कारोबार गर्न सक्ने सुविधाहरू विभिन्न सेवाप्रदायकले दिएका हुन्छन् । नियमनमा रहेका तथा नरहेकाहरूले पनि यो सेवा दिने भएकाले यसमा जोखिम पनि उत्तिकै हुन्छ । बायनरी अप्सनमा खरिद गरिएको कुनै वस्तुको भुक्तानी नै भने नहुन सक्छ ।

कुनै अन्तरनिहित वस्तुको कुनै निश्चित समयमा हुने मूल्य आकलनका आधारमा सट्टेबाजी कारोबार गर्ने र लाभ भएमा रकम नै पाउने, घाटा भएमा तिनुपर्ने व्यवस्था यस्तो कारोबारमा हुन्छ । ‘अहिले पनि कमोडिटी बजार (वस्तु बजार)मा एक्सचेन्जले पहिले नै लगानीकर्ताबाट पुँजी लिएर कारोबार गर्छन्,’ लगानीकर्ता तथा विश्लेषक विष्णु बस्यालले भने, ‘कारोबार गर्ने शतप्रतिशत रकम लिएपछि समस्या नहुन सक्छ ।’ भारतीय बजारमा काम गरिसकेका उनले त्यहाँको नेसनल स्टक एक्सचेन्ज (एनएससी) ले संस्थाहरूका लागि निश्चित शुल्क लिएर आफ्नै लागि सेयर किन्न सक्ने सुविधा दिएको बताए । अल्फा मेम्बरसिप दिएर एनएससीले संस्थाहरूलाई कारोबार गर्न सक्ने सुविधा दिएको हो ।  

ब्रोकररहित सेयर कारोबारका विषयमा नेपालमा बहस सुरु भए पनि नेपाली लगानीकर्ताले तत्कालै पाउने सम्भावना कम रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘हामीले औपचारिक रूपमा यसमा कुनै काम अगाडि बढाएका छैनौँ,’ उनले भने । हाल लगानीकर्ताले कारोबार समापनपछि राफसाफ गर्न नसक्दा ब्रोकरहरूले नै लगानीकर्ताको पक्षबाट वातावरण बनाइदिने, जिम्मेवारी लिइदिने भएकाले यसको विकल्पमा जान समस्या हुने नेप्सेका प्रवक्ता पराजुली बताउँछन् ।