१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत १४ शनिबार ०७:२७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

लकडाउनपछि डिम्याट खोल्नेको संख्या ह्वात्तै बढ्यो, पुरुषभन्दा महिला साढे ५ लाख कम

Read Time : > 3 मिनेट
२०७७ चैत १४ शनिबार ०७:२७:००

आजभोलि चियापसल, चौतारो, पार्क, रेस्टुरेन्टदेखि घर–घरमा सेयर बजारका कुरा बाक्लै सुनिने गरेको पाउँछौँ । बैंकहरूमा जाँदा पनि डिम्याट फाराम भर्नेको संख्या उल्लेख्य देखिन्छ । पछिल्लो समय साधारण सेयर (आइपिओ) भर्नेको संख्या पनि दिन–प्रतिदिन बढिरहेको छ । विशेष गरी कोभिड–१९ का कारण भएको लकडाउनपछि डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो ।

अधिकांशले बैंकमा रकम राखेर ब्याज खानुभन्दा सेयरमा लगानी गर्दा राम्रो फाइदा देखेपछि यसप्रति आकर्षण बढ्दा डिम्याट खाता खोल्नेको संख्यामा एकाएक वृद्धि भएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । हाल ३२ लाख ४९ हजार ८ सय २१ जनाले डिम्याट खाता खोलेका छन् । त्यसमध्ये महिला १३ लाख ४६ हजार छन् भने पुरुष १९ लाख ३ हजार ५ सय ८६ रहेका छन् । 

पुरुषको तुलनामा डिम्याट खाता खोल्ने महिलाको संख्या करिब ५ लाख ५७ हजारले कमी हो । लगानीको क्षेत्रमा पनि महिलाभन्दा पुरुष हाबी हुनुमा महिलाले लगानी जोखिम लिन सक्दैनन् भन्ने आमबुझाइ देखिएको छ । यसै कारणले पनि पुरुषको तुलनामा महिला पछि परेका पुँजी बजार तथा लगानी संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । तर, सबै कुरा बुझेर र विचार गरेर लगानी गर्दा समस्या नहुने पोखरेल जिकिर गर्छिन् । विभिन्न समस्याका बाबजुद पनि आफूहरूले छोटो समयमै करिब १ करोड रुपैयाँको पोर्टफोलियो बनाउन सकेको उनको दाबी छ । उनी थप्छिन्, ‘यसले पनि महिला सक्षम छन् है भन्ने प्रस्ट पारेको छ । तर, महिलाप्रतिको भेदभाव सेयर बजारको क्षेत्रमा पनि उत्तिकै छ, मानसिकतामै महिलाले केही जान्दैनन्, लगानी डुबाउँछन् कि भन्ने भ्रम रहेकाले पनि महिला लगानीकर्ताको संख्या पुरुषको तुलनामा कम भएको हो ।’ पोखरेलको बुझाइमा लगानी गर्ने कम्पनीको बारेमा तथा अन्य व्यस्तताका कारण लगानीप्रति ज्ञानको कमी हुनाले सेयर बजारमा लगानीकर्ता महिलाको संख्या कम भएको हो । 

आफूहरूले सेयर बजारमा लगानी गर्दाको जस्तो अवस्था भने अहिले नरहेको उनको बुझाइ छ । पोखरेल भन्छिन्, ‘अहिले धेरै हिसाबले महिला पनि लगानीबारे चेतनशील भएका छन् । थोरै भए पनि लगानी गर्नुपर्छ भन्ने बिस्तारै बुझ्न थालेका छन् । विगतको तथ्यांक हेर्दा अहिले महिला यतिको संख्यामा आउनु पनि निकै ठूलो चुनौतीसँगै सकारात्मक पक्ष भएको छ ।’

महिला लगानीकर्ता तथा विश्लेषक संरक्षणा चौधरी पनि पछिल्लो समयमा महिलामा सेयर बजारसम्बन्धी लगाब बढ्दै गएको र लगानीको क्षेत्रमा पनि पुरुष लगानीकर्तासँग हातेमालो गर्ने क्रम बढेको बताउँछिन् । यो निकै सकारात्मक रहेको र महिला सक्षम छन् है भन्ने सन्देश जान सुरु भएको उनको बुझाइ छ । चौधरी भन्छिन्, ‘अहिले लगानीमा सक्रिय पुरुष लगानीकर्तासँग महिलाले पनि हातेमालो गरेर अघि बढिरहेको देख्दा हरेक क्षेत्रमा महिला सक्षम छन् है भन्ने देखिएको छ ।’

उपत्यकामा ७ लाख ६४ हजारकोे डिम्याट 
काठमाडौं उपत्यकामा करिब ७ लाख ६४ हजारले डिम्याट खाता खोलेका छन् । सिडिएससीले दिएको जानकारीअनुसार सबैभन्दा धेरै डिम्याट खाता खोल्नेमा काठमाडौं जिल्ला रहेको छ । काठमाडौंमा करिब ५ लाख १३ हजारले डिम्याट खाता खोलेका छन् । त्यस्तै, दोस्रो स्थानमा ललितपुर रहेको छ । ललितपुरमा करिब १ लाख ४२ हजारले खाता खोलेका छन् । त्यसैगरी, भक्तपुरमा डिम्याट खातावालाको संख्या करिब १ लाख ९ हजार रहेको छ । अन्य ठाउँको तुलनामा काठमाडौंमा जनसंख्या पनि बढी रहेका कारण डिम्याट खातावालाको संख्या पनि बढेको हुन सक्ने सिडिएससीका प्रवक्ता न्यौपाने बताउँछन् ।

डिम्याट खातामा दोस्रो स्थान झापाको 
काठमाडौं जिल्लाबाहेक बाहिरी जिल्लामा झापामा डिम्याट खाता खोल्नेको संख्या बढी छ । झापामा १ लाख ३४ हजारले खाता खोलेका छन् । झापाको बिर्तामोडमा रहेको श्रीहरि सेक्युरिटी प्रालिका अध्यक्ष हरि उप्रेती पछिल्लो समय झापा जिल्लामा लगानी गर्नेको संख्या बढ्नुमा थारै भए पनि लगानी गर्नुपर्छ भन्ने सोच वृद्धि हुनु रहेको बताउँछन् । आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्छ भन्ने धारणा बढ्दै गएकाले पनि लगानीकर्ताको संख्या बढेको हुन सक्ने उप्रेतीको अनुमान छ । उनी भन्छन्, ‘हामीकहाँ लगानी कसरी गर्ने भन्ने विषयमा सोध्न आउनेको संख्या बढ्दो छ । उनीहरूलाई लगानीबारे हामीले जानेसम्म बुझाउने गरेका छौँ । कुरो बुझेपछि यहाँबाट खुसी भएर जाने र लगानी गर्नेको संख्या बढेको छ ।’

झापापछि डिम्याट खाता खोल्नेको संख्या मोरङमा करिब १ लाख ३२ हजार, दोलखामा करिब १ लाख ४ हजार र काभ्रेपलाञ्चोकमा करिब १ लाख २ हजार रहेको छ । 

१ वर्षमै १५ लाखले खोले डिम्याट खाता
०७६ फागुनदेखि ०७७ फागुनबीचमा मात्र करिब १५ लाख ४५ हजारले डिम्याट खाता खोलेका छन् । सिडिएससीले दिएको तथ्यांकअनुसार ०७६ फागुनमा करिब १३ हजार ८ सयले डिम्याट खाता खोलेका थिए । तर, ०७७ फागुनमा डिम्याट खाता खोल्नेको संख्या करिब ३ लाख ४६ हजार ८ सय पुगेको थियो । 

गत वैशाखदेखि डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको देखिन्छ । वैशाखमा कोभिड–१९ को त्रासका कारण डिम्याट खाता खोल्नेको संख्यामा कमी आए पनि स्थिति केही सहज भएपछि डिम्याट खाता खोल्नेको संख्या क्रमशः बढ्दै गएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् ।

वैशाखमा करिब ८ सय ४४ जनाले मात्र खाता खोलेका थिए । त्योभन्दा अघि चैतमा भने खाता खोल्नेको संख्या करिब २३ हजार ९ सय थियो । कोभिड–१९ को त्रास कम हुँदै जनजीवन सामान्य अवस्थामा फर्किन थालेपछि डिम्याट खाता खोल्नेको संख्यामा पनि वृद्धि भएको छ ।   

जेठमा खाता खोल्नेको संख्या वैशाखको भन्दा दोब्बर अर्थात् करिब १ हजार ७ सय पुग्यो । असारमा भने यो संख्या ह्वात्तै बढेर करिब ६८ हजार २ सय पुग्यो । साउनमा करिब ८४ हजार ८ सयले खाता खोले भने भदौमा करिब ८२ हजार ५ सयले डिम्याट खाता खोले । असोजमा यो संख्या करिब १ लाख ९७ हजार पुग्यो भने कात्तिकमा भने घट्यो । कात्तिकमा करिब ६५ हजार ६ सयले मात्र खाता खोले । मंसिरमा खाता खोल्नेको संख्या करिब १ लाख १४ हजार २ सय रह्यो भने पुसमा करिब २ लाख ३५ हजार ६ सय तथा माघमा करिब ३ लाख १० हजार ४ सयले डिम्याट खाता खोले ।  

सक्रिय लगानीकर्ता भने कमी
३२ लाखले डिम्याट खाता खोल्दा सक्रिय लगानीकर्ता भने करिब ६ लाख २७ हजार मात्र रहेका छन् । त्यसमध्ये अनलाइनमार्फत कारोबारमा जोडिएका लगानीकर्ताको संख्या करिब ५ लाख छ । त्यसमध्ये पनि सक्रिय अनलाइन प्रयोगकर्ता भने करिब २ लाख ४३ हजार मात्र रहेको नेप्सेको तथ्यांकमा छ । ६ महिनाअघि यो संख्या धेरै नै न्यून रहेको थियो ।

नेप्सेको तथ्यांकअनुसार ६ महिनाअघि जम्मा लगानीकर्ताको संख्या करिब २ लाख ३१ हजार रहेको थियो । त्यसमध्ये करिब ३७ हजारले अनलाइन सेवा लिएकामा करिब २६ हजार ४ सयले मात्र सक्रिय कारोबारमा सहभागी हुने गरेको नेप्सेको तथ्यांकले देखाउँछ । ६ महिनाको बीचमा सक्रिय अनलाइन प्रयोगकर्ताको संख्या करिब २ लाख १७ हजारले बढेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । 

६ महिनाअघिसम्म सक्रिय अनलाइन लगानीकर्ताको संख्या कमी हुनुमा यसबारे ज्ञान वा चासो कम हुनु रहेको पराजुलीको अनुमान छ । अहिले भने अनलाइन सेवा लिएर पनि सक्रिय लगानीमा संलग्न नहुनुमा केहीमा आर्थिक अभाव र समयको कमी, जोखिम मोल्न डराउनेजस्ता कारण रहेको पराजुलीको बुझाइ छ ।