१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०९:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगातार बढेको सेयर बजारमा ‘ब्रेक’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०९:१५:००

लगानीकर्ता सक्रिय हुँदा कारोबार रकम भने कायमै

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । नेप्से घट्दा पनि लगानीकर्ता सक्रिय हुँदा कारोबार भने बढेको छ । बजार निरन्तर बढेकाले सामान्य करेक्सन भएको विश्लेषकहरू बताउँछन् । पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बजारमा घटबढ हुँदा, लगानीकर्तामा धैर्यता पनि हुँदा सामान्य करेक्सनका रूपमा लिनुपर्नेमा जोड दिन्छिन् ।

बिहीबार नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ४८ बिन्दुमा  पुगेको छ । सुरुवातमा बजार केही बढेको भए पनि लगानीकर्ताले धैर्यता गुमाउँदा बजार घटेको विश्लेषकहरू बताउँछन् ।

कारोबारमा आएका १३ समूहमध्ये ३ समूहको सूचक बढेको छ । होटेल तथा पर्यटन, ट्रेडिङ समूह र लगानीगत समूह ४ दशमलव ४५ प्रतिशतदेखि १ दशमलव १६ अंकले बढेका छन् भने अन्य समूह तथा उपसमूहको सूचक घटेका छन् ।

सूचक घट्नेमा हाइड्रोपावर समूह र निर्जीवन बिमा समूहले सबैभन्दा धेरै गुमाएका छन् । सो दिन यी समूहले १ दशमलव ८९ प्रतिशतदेखि १ दशमलव १ प्रतिशतसम्म गुमाएका छन् । धितोपत्र र ऋणपत्र गरी २ सय ८ किसिमका कुल १ करोड २३ लाख ७६ हजार कित्ता–इकाइ किनबेच हुँदा ६ अर्ब ४० करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

लगातारको सर्किटपछि चन्द्रागिरिको सेयर मूल्य २ हजार नाघ्यो
चन्द्रागिरि हिल्सको बिहीबार पनि १० प्रतिशतले सर्किट लेबलमा कारोबार भएको छ । लगातार सर्किटपछि  बिहीबार १ सय ८९ रुपैयाँले बढेर चन्द्रागिरि हिल्सको सेयर मूल्य २ हजार पुगेको छ ।

यस दिन सपोर्ट फाइनान्स वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत त्यस्तै वोमी माइक्रो फाइनान्सको ९.९४, सिद्धार्थ इन्स्योरेन्सको ७ दशमलव ८२ प्रतिशतले बढेको छ ।

बिहीबार सबैभन्दा धेरै गुमाउनेमा नेपाल बंगलादेश बैंक रहेको छ । सो दिन बैंकको सेयर मूल्य ६ दशमलव १४ प्रतिशतले घटेको छ । त्यसैगरी, एनआइबिएल प्रगति फन्ड ५ दशमलव ५ अंकले घटेको छ । हिमालयन ऊर्जा विकास कम्पनी, सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर ४ प्रतिशतले घटेका छन् ।

कारोबारमा  निफ्रा अग्रस्थानमा 
बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी कारोबार भएको छ । सो दिन कारोबार भएको केही समयमै निफ्रा ६ सय रुपैयाँभन्दा माथि पुगेको हो । यसभन्दा अघि निफ्रा ५ सय ८१ रुपैयाँमा कारोबार भएको थियो । निफ्राको ९१ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर रहेको छ । यसको २६ करोड ९७ लाख रुपैयाँ र सिद्धार्थ इन्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३ दशमलव ७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख रुपैयाँ प्रस्तावित बोनस सेयर एवं नगद लाभांशमा लाग्नेसमेत गरी १५ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको लाभांश साधारणसभाबाट पारित गर्ने भएको छ ।