मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ चैत १३ शुक्रबार ०९:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काभ्रेमा ३५ सय भूकम्पपीडित लाभग्राहीको किस्ता रोकियो

Read Time : > 2 मिनेट
२०७७ चैत १३ शुक्रबार ०९:१०:००

भूकम्पपीडित भन्छन्– सरकारले दिने पैसाले मात्र पुगेन । सरसापट–ऋण गरेर घर ठड्याइयो, इन्जिनियर आएर हेरेर पनि गए, केन्द्रमा फाइल पठायौँ भन्छन्, तर ६ महिना हुन लाग्दा पनि पैसा आएन । तिरोतारो गर्नै मुस्किल भयो ।

नमोबुद्ध नगरपालिका– ६ की भूकम्पपीडित ललिमाया मगरले तेस्रो किस्ताका लागि फारम भरेको साढे पाँच महिना भयो । उनले दसैँअगाडि असोजतिरै फारम भरेकी थिइन् । तर, अहिलेसम्म तेस्रो किस्ताबापतको रकम प्राप्त भएको छैन । 

‘दसैँअगाडि नै छोराले वडा कार्यालयमा गएर फारम भरेको थियो, अहिलेसम्म तेस्रो किस्ता आएको छैन,’ ललिमायाले भनिन्, ‘दसैँपछि एक–दुईपटक इन्जिनियर आएर घर हेरेर पनि जानुभयो, तर किस्ता आएको छैन ।’ एकल महिला भएर पनि समयमै उनले घर निर्माण गरिसकिन् । दुईकोठे घरमा उनी सरिसकेकी छिन् । तर, समयमै किस्ता नआउँदा घर बनाउने वेला लागेको ऋण तिर्न समस्या परिरहेको उनको भनाइ छ । 

‘घर निर्माण सकेर हामीले सरिसकेका छौँ । तर, किस्ता नआएकाले घर बनाउन लिएको ऋण–सापटी तिर्न समस्या भएको छ,’ उनले भनिन् । ललिमायाले अन्तिम किस्ताबापतको एक लाख रुपैयाँ पाउन बाँकी छ । 

यसबीच उनी तीन–चारपटक बैंकमा गएर खातामा जाँच गरिसकेकी छिन् । ‘कतै खातामा पैसा आयो कि भनेर वेलावेला बैंक पुग्ने गरेको छु, नआउँदा खिन्न हुँदै फर्किनुपरेको छ,’ उनले थपिन्, ‘इन्जिनियरलाई सोध्दा फारम भरेर जिल्लामा पठाइसक्यौँ भन्नुहुन्छ, जिल्लामा बुझ्दा फाइल आइपुगेको छैन भन्छन् । कहाँ किन अड्कियो बुझ्न सकेकी छैन ।’

चित्रकुमारी न्यौपानेको भोगाइ पनि उस्तै छ । उनी पनि एकल महिला हुन् । विवाह गरेका छोराछोरी छुट्टै बस्ने हुनाले उनी घरमै एक्लै बस्छिन् । भूकम्पले घर चर्काएपछि उनले पनि दुईकोठे नयाँ घर बनाएकी छिन् । तर, उनको पनि तेस्रो किस्ता रोकिएको छ । साढे तीन महिनाअघि आफैँ वडा कार्यालय पुगेर फारम भरेको बताउने चित्रकुमारीले पनि तेस्रो किस्ताको रकम किन आएन भन्ने बुझ्न सकेकी छैनन् ।

 ८० लाभग्राहीले तेस्रो किस्ता पाएनन्
ललिमाया र चित्रकुमारी प्रतिनिधि पात्र मात्र हुन् । काभ्रेमा उनीहरूजस्ता धेरै भूकम्पीडित लाभग्राहीको भुक्तानी रोकिएको छ । कसैको पहिलो, कसैको दोस्रो त कसैको तेस्रो किस्ताको रकम आएको छैन । जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेका अनुसार ८० जनाको पहिलो किस्ताकै रकम रोकिएको छ । कार्यालयका निमित्त प्रमुख रामप्रसाद ख्याजूका अनुसार दुई हजारको दोस्रो किस्ता र एक हजार पाँच सयको तेस्रो किस्ता रोकिएको छ ।

सबैका फाइल केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा पठाइएको तर रकम अभाव भन्दै गर्दा फाइल नै फिर्ता आएको ख्याजूले बताए । ‘पहिलो किस्ताका ८०, दोस्रो किस्ताका दुई हजार र तेस्रो किस्ताका १५ सयको फाइल केन्द्रीय कार्यालयमा पठाएका थियौँ,’ निमित्त प्रमुख ख्याजूले नयाँ पत्रिकासँग भने, ‘तर, रकम अभावका कारण फाइल फिर्ता आएको छ । केही समयपछि केन्द्रीय कार्यालयबाट रकम पठाउने कुरा आको छ, त्यसपछि उहाँहरूको किस्ता पठाउँछौँ ।’

साढे ५७ हजारले तीनवटै किस्ताको रकम पाए
काभ्रेमा ०७२ को भूकम्पले ९८ हजार १९ घर क्षति पुर्‍याएको थियो । जिल्ला आयोजना इकाइका अनुसार ७८ हजार आठ सय ८९ घरपरिवारको पहिचान भएको थियो । तीमध्ये ७४ हजार नौ सय ३० ले पहिलो किस्ता लिएका थिए । पहिलो किस्ता लिएकामध्ये ६३ हजार ६ सय ८७ जनाले घरको जग हालेर दोस्रो किस्ता लिए  ।

घर निर्माण सम्पन्न गरी ५७ हजार पाँच सय ९५ ले तेस्रो किस्ता लिए । जति घरपरिवार पहिचान भएका थिए, त्यसमा झन्डै चार हजार कमले मात्र पहिलो किस्ता लिएको देखिन्छ । दोस्रो किस्ता लिनेको संख्या त्यसबाट पनि कम भएको छ । अझ, तेस्रो किस्ता लिने त झन् घटेका छन् । भूकम्प गएको ६ वर्ष हुन लाग्दा पनि दुईकोठे भवन निर्माणका लागि राज्यले उपलब्ध गराएको सम्पूर्ण रकम पाउन नसक्दा भूकम्पको असर अझै पनि बाँकी रहेको देखिन्छ । 

दोहोरो सुविधा लिने दुई सयले रकम फिर्ता दिए
पहिचान गर्ने क्रममा संकलित नाममध्ये केही व्यक्तिले दुई–दुई ठाउँमा घर बनाउन रकम माग गरेको पनि पाइएको छ । त्यसरी दुई सय २० जनाले पहिलो किस्ताबापतको रकमसमेत लगिसकेका थिए । तर, पछि उजुरी तथा अनुगमनको क्रममा दुई ठाउँमा घर देखिएपछि ती दुई सय २० जनाबाट पहिलो किस्ताबापतको रकम फिर्ता गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेका निमित्त प्रमुख ख्याजूले जानकारी दिए । 

फिर्ता गरिएका दुई सय २० मध्ये ५४ लाभग्राहीको अन्य ठाउँमा पनि घर भएकाले लाभग्राही स्वयंले पैसा फिर्ता गरेको उनले बताए । दोहोरो सुविधा लिएका अन्य एक सय ६६ बाट आयोजनाले रकम फिर्ता गराएको हो । उनीहरूले संघसंस्थाबाट पनि किस्ताबापतको रकम लिएको र सरकारबाट पनि किस्ता लिएको हुनाले फिर्ता गरिएको उनको भनाइ छ ।