१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ चैत १३ शुक्रबार ११:१०:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

मासु र दूधमा आत्मनिर्भर घोषणा : तर, खसीको मासु ५० प्रतिशत  र दूध १५ प्रतिशत आयात

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ चैत १३ शुक्रबार ११:१०:००

कुखुराको मासु र अन्डामा २० वर्षदेखि आत्मनिर्भर

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अन्डा र मासुमा आत्मनिर्भर भएको तथा दूधमा आत्मनिर्भरउन्मुख रहेको घोषणा गरेका छन् । तर, अन्डा र कुखुराको मासुमा मुलुक २० वर्षयता पूर्ण रूपले आत्भनिर्भर हुँदै आएको छ । खसीको मासुमा भने अझै ५० प्रतिशत आयातमा निर्भर रहेको व्यवसायीको भनाइ छ । तर, दुई दशकदेखि आत्मनिर्भर भएको उपजलाई अहिले प्रधानमन्त्री ओलीले आत्मनिर्भर घोषणा गर्नुलाई धेरैले आश्चर्य मानेका छन् ।

आत्मनिर्भर घोषणा गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महत्वपूर्ण उपलब्धि हासिल गरेझैँ मुलुक प्रत्येक दिन विकासको गतिमा एक कदमअगाडि बढेको बताए । ‘यो धेरै खुसीको क्षण हो । हामी पशुपक्षीतर्फ मासु, अन्डा र दूधको उत्पादनको क्षेत्रमा आत्मनिर्भर घोषणा गर्दै छौँ,’ उनले भने, ‘हामी देशलाई एक क्षेत्रमा एक कदम अगाडि लैजान सक्षम भएका छौँ । नयाँ–नयाँ उपलब्धि हासिल गर्न हामी अगाडि बढिरहेका छौँ । हरेक दिन एक कदम अगाडि बढेका छौँ ।’

कार्यक्रममा उनले मासु र अन्डामा आत्मनिर्भर भएको घोषणा गर्दै राष्ट्रिय सफलता हासिल गरेको बताए । ‘यो उपलब्धि हो । त्यसैले सबैलाई बधाई दिन चाहन्छु,’ उनले भने । कार्यक्रममा कृषिमन्त्री पद्मा अर्यालले वर्तमान सरकारकै पालामा उत्पादनमा उल्लेख्य वृद्धि गरी आत्मनिर्भर हुन सफल भएको शैलीमा भाषण गरिन् । उनले भनिन्, ‘हिजो सुस्त अवस्थामा रहेको उत्पादनको क्षेत्र अहिले उत्साहित भएर वृद्धि गर्ने निर्णयमा लागेका छौँ । परम्परागत कृषि प्रणालीलाई व्यावसायिकतातर्फ लगेका छौँ ।’

चार वर्षअघि पहिलोपटक ओली प्रधानमन्त्री हुँदासमेत अन्डा र मासुमा आत्मनिर्भर घोषणा गर्ने तयारी भएको थियो । त्यतिवेला तयारी गर्दै गर्दा ओली सरकारबाट बाहिरिएका थिए । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार मुलुक अन्डा र कुखुराको मासुमा २० वर्षअघिबाट आत्मनिर्भर छ । ‘अन्डा र कुखुराको मासुमा हामी २० वर्षअघिदेखि नै आत्मनिर्भर हौँ । अहिले भएको होइन,’ उनले भने, ‘निजी क्षेत्रले पोल्ट्रीमा गरेको लगानीले अहिले यो स्थितिमा आएको हो । सरकारको कुनै लगानी र संरक्षण छैन ।’

सरकारको खासै भूमिका छैन : गुणचन्द्र विष्ट अध्यक्ष, पोल्ट्री महासंघ

पोल्ट्री क्षेत्रमा मुलुक आत्मनिर्भर छ । यो अवस्था अहिले आएको होइन, २० वर्षदेखि मुलुक कुखुराको अन्डा र मासुमा पूर्ण रूपले आत्मनिर्भर छ । अहिले वर्षिक रूपमा अन्डाको २–५ प्रतिशत र कुखुराको मासुको २०–२५ प्रतिशत माग बढिरहेको छ । यो माग धान्ने गरी निजी क्षेत्रले उत्पादनमा तीव्रता दिइरहेको छ । पोल्ट्री क्षेत्रका विकासमा लगानी र नीतिका हिसाबले सरकारको खासै भूमिका छैन । अहिले पोल्ट्री जुन अवस्थामा आएको छ, यो सबै निजी क्षेत्रको मिहिनेत र लगानीबाटै भएको हो ।

२० वर्षअघि अन्डाको खपत दैनिक ५ लाख गोटा थियो । अहिले दैनिक ४०–५० लाख गोटा अन्डा खपत भइरहेको विष्टले बताए । ‘जति माग छ, त्यो सबै आन्तरिक उत्पादनले धानिरहेको छ । कहिल्यै आयात गर्नुपरेको छैन,’ विष्टले भने । २० वर्षअघि प्रतिहप्ता १० हजार लेयर्स चल्ला उत्पादन हुने गरेकोमा अहिले प्रतिहप्ता डेढ लाख चल्ला उत्पादन भइरहेको उनले जानकारी दिए । त्यस्तै मासुका लागि बोइलर चल्ला प्रतिहप्ता करिब ५० लाख गोटा उत्पादन भइरहेको छ । हाल देशभर दैनिक औसतमा ८ लाख किलो कुखुराको मासु खपत भइरहेको र आन्तरिक उत्पादनले धानिरहेको उनले बताए । सरकारले ०६५ मा ऐन बनाएर पोल्ट्रीसँग सम्बन्धित कुखुरा, अन्डा, दाना आयातमा प्रतिबन्ध नै लगाएको थियो । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ०७६ साउनदेखि भारतबाट खसी–बोका आयातमा कडाइ गरेको थियो । रोगी खसी–बोका आयात भएको दाबी गर्दै स्वास्थ्यताको प्रमाणपत्र देखाएर मात्र भारतबाट खसी–बोका ल्याउन पाउने नियम लागू गरिएको छ । यो नियमका कारण वैधानिक बाटोमा खसी–बोका आयात शून्यमा झरेको छ । तर, मुलुकको मागअनुसार ५० प्रतिशत खसी–बोका भारतबाट चोर बाटो हुँदै आएको चौपाया खरिद–बिक्री सेवा संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए ।

‘अहिले खसीको मासुतर्फ ५० प्रतिशत भारतीय खसी–बोकाले नै धानेका छन् । यी खसी–बोका भन्सारमा राजस्व तिरेर आउँदैनन् । चोर बाटोबाट ल्याउने हो,’ पाठकले भने, ‘हाम्रो उत्पादनले त माग धान्नै सकिन्न ।’ भारतीय खसीको तौल बढी हुने हुँदा अधिकांश मासुपसलबाट भारतीय खसी–बोकाकै मासु बिक्री हुने गरेको व्यवसायीको भनाइ छ । आन्तरिकतर्फ पश्चिम तराईमा पछिल्लो समय खसी–बाख्रापालन बढे पनि आयात नगरी माग धान्न नसकिने स्थिति रहेको उनले बताए ।  

दूध उत्पादनमा मुलुक लामो समयदेखि आत्मनिर्भरउन्मुख छ । व्यवसायीका अनुसार विगत १० वर्षदेखि नै ८५ प्रतिशत आत्मनिर्भर अवस्थामा छ । ‘अहिले डेरी क्षेत्र जुन अवस्थामा छ, १० वर्षअघि पनि यस्तै थियो । त्यसैले अहिले आएर आत्मनिर्भर भएको भन्ने होइन,’ एक उद्योगीले भने । ५ वर्षअघि दूध उत्पादन बढी भएर किसानले सडकमा फालेको घटना सम्झँदै ती उद्योगीले भने, ‘मिल्क होलिडे गर्नुपर्ने स्थिति पनि धेरैपहिले आएको थियो । अहिले माग बढ्न थालेपछि मिल्क होलिडे नदेखिएको मात्र हो ।’ अहिले दैनिक ३५ लाख लिटरसम्म दूध उत्पादन हुने गरेको र त्यसमध्ये सात लाख लिटर दूध औपचारिक क्षेत्र (प्रशोधन गर्ने गरी) बाट आइरहेको छ । 

उत्पादन बढ्दै गए पनि पछिल्लो समय धुलो दूध आयात बढिरहेको छ । कृषिको तथ्यांकअनुसार वार्षिक रूपमा २३ लाख मेट्रिकटन दूध उत्पादन भइरहेको छ । यसको मूल्य १ खर्ब २२ अर्ब हुन आउने मन्त्रालयले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुुसार वार्षिक रूपमा करिब डेढ अर्बको दूधजन्य पदार्थ आयात भइरहेको छ । चालू आव ०७७/७८ को साउनदेखि फागुनसम्म जिउँदो जनावर १ अर्ब १० करोड रुपैयाँको आयात भएको छ । आयात भएका जनावरको ठूलो हिस्सा मासुमा खपत हुन्छ । त्यस्तै, मासु १ करोड ८५ लाख रुपैयाँको आयात भएको छ । सरकारले स्वास्थ्यताको प्रमाणपत्र लागू गरेका कारण वैधानिक आयात न्यून देखिएको हो । यस्तो प्रतिबन्ध लाग्नुअघि आव ०७५/७६ मा जिउँदो जनावर ४ अर्ब ९ करोड रुपैयाँको आयात भएको थियो ।