मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत १२ बिहीबार ०८:२७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२० महिनादेखिको गोलविहीन यात्रा रोक्ने तयारीमा नेपाल

१० सेप्टेम्बर २०१९ मा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल त्यसयताको १९ महिना १४ दिनसम्म जित र गोलविहीन छ । बरु विपक्षीसँग ११ गोल व्यहोर्दै चार खेलमा पराजय व्यहोरेको छ ।

Read Time : > 3 मिनेट
२०७७ चैत १२ बिहीबार ०८:२७:००

नेपाली राष्ट्रिय फुटबल टोली पछिल्लो १९ महिना १४ दिनदेखि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा जितविहीन छ । यो अवधिमा नेपाली टोलीले विपक्षीविरुद्ध एक गोलसम्म गर्न सकेको छैन । बरु विपक्षी टोलीबाट पाँच खेलमा गरी ११ गोल व्यहोरेको छ । 

थ्री नेसनकपअन्तर्गत बिहीबार किर्गिस्तानको यु–२३ टोलीसँग प्रतिस्पर्धाका लागि मैदानमा उत्रदा नेपाली टोलीले सम्भवतः जितविहीन निरन्तरतालाई तोड्नेछ । जित र गोलविहीन झन्डै २० महिनाको यात्रालाई नेपाली टोलीले अन्त्य गर्नेछ । थ्री नेसनकपअन्तर्गत दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ साढे ५ बजे हुँदै छ ।

किर्गिस्तानले प्रतियोगिताका लागि ओलम्पिक टोलीलाई पठाएका कारण यो खेललाई विश्व फुटबल महासंघ (फिफा)ले मान्यता दिएको छैन । यद्यपि, नेपाली टोलीले यही खेललाई जितको लयमा फर्कने अवसरका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको छ । नेपाली टोली विश्वकप ०२२ र एसियाकप ०२३ को छनोटअन्तर्गतका पछिल्लो तीन खेल र बंगलादेशसँगको दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित र गोलविहीन छ । 

नेपालले पछिल्लोपटक १० सेप्टेम्बर ०१९ मा विश्वकप र एसियाकप छनोटअन्तर्गत चाइनिज ताइपेईलाई उसकै मैदानमा २–० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपाली टोलीले त्यसपछि फेरि जितको स्वाद चाख्न पाएको छैन । 

चाइनिज ताइपेईलाई पराजित गरेपछि नेपालले विश्वकप र एसियाकप छनोटअन्तर्गत नै १० अक्टोबर ०१९ मा अष्ट्रेलियासँग ५–०, १५ अक्टोबर ०१९ मा जोर्डनसँग ३–० र १९ नोभेम्बर ०१९ मा कुवेतसँग १–० गोलको पराजय व्यहोरेको छ । त्यसपछि गत नोभेम्बरमा बंगलादेशसँग उसकै मैदानमा भएको मैत्रीपूर्ण दुई खेलमा पनि नेपाल जित र गोलविहीन रह्यो । पहिलो खेलमा २–० ले हारेको नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो । 

त्यसपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार भएको नेपाली टोलीले जितको लय समात्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा किर्गिस्तानको दोस्रो तथा नेपालको पहिलो खेल हो । बंगलादेशसहित तीन टोली सहभागी रहेको प्रतियोगिताको फाइनलमा पुग्न किर्गिस्तानलाई यो खेलमा कुनै पनि अवस्थामा जित आवश्यक छ । 

प्रतियोगिताको पहिलो खेलमा मंगलबार बंगलादेशसँग १–० ले पराजित भएको किर्गिस्तान नेपालसँगको पराजयले प्रतियोगिताबाट बाहिरिनेछ । नेपाललाई बराबरीमै रोक्न सकेको अवस्थामा किर्गिस्तानले नेपाल र बंगलादेशबीचको खेलको नतिजा कुर्नेछ । 

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताका लागि आफ्नो टोलीले राम्रो तयारी गरेको बताएका छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल हेरेपछि बुधबार मात्रै टोलीको घोषणा गरेका प्रशिक्षक महर्जनले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने जनाएका छन् । ‘हामी लामो समयदेखिको तयारीमा छौँ । भलै केही खेलाडीलाई चोटका कारण गुमाउनुपरेको छ,’ बालगोपालले प्री म्याच कन्फरेन्समा भनेका थिए, ‘प्रतियोगितामा खेलाडीहरूले सशक्त प्रदर्शन गर्ने अपेक्षा गरेको छु ।’

टोलीको तयारीमै गुनासो गरिरहेका किर्गिस्तानका प्रशिक्षक झोल्दोसोभ नुर्बेक नेपाली टोलीविरुद्धको खेल सहज नहुने बताउँछन् । ‘कोरोना भाइरस महामारी र अन्य कारणले हामीले राम्रोसँग तयारी गर्न पाएनौँ,’ उनको भनाइ छ, ‘त्यसमा नेपालजस्तो बलियो टोलीविरुद्ध खेल्नु हाम्रा लागि सजिलो हुनेछैन । आयोजक टोली भएकाले पनि नेपालले सशक्त प्रदर्शन गर्नेछ ।’ नेपाल र किर्गिस्तानको सिनियर र उमेर समूहको टोलीले धेरै प्रतियोगितामा एक–अर्काविरुद्ध खेलेका छन् । नेपालको सिनियर टोली र किर्गिस्तानको ओलम्पिक टोलीले भने पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सात वर्षपछि रंगशालामा नेपाली सिनियर टोली
नेपाली सिनियर राष्ट्रिय टोली सात वर्षभन्दा लामो समयपछि राष्ट्रिय रंगशालामा उत्रदै छ । नेपालले रंगशालामा पछिल्लोपटक १७ मार्च ०१५ मा (भारतविरुद्ध) प्रतिस्पर्धा गरेको थियो । विश्वकप छनोटअन्तर्गतको यस खेल गोलरहित बराबरीमा टुंगिएको थियो । 

त्यसपछि विनाशकारी भूकम्पका कारण रंगशाला नै ध्वस्त बनेपछि त्यहाँ खेल हुन पाएन । रंगशाला पुनर्निर्माणमा निकै समय लाग्यो । सरकारले मंसिर ०७६ मा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि रंगशालाको पुनर्निर्माण गरेको हो । मैदानमा १३औँ सागको उद्घाटन र समापनसँगै फुटबलको प्रतिस्पर्धा भएको थियो । सागमा फुटबलको यु–२३ टोलीले प्रतिस्पार्धा गर्ने गर्छन् । त्यसलगत्तै कोरोना भाइरस महामारी सुरु भएपछि सिनियर टोलीलाई रंगशालामा उत्रन लामै समय कुर्नुपर्‍यो । 

नवयुग बाहिरिए
थ्री नेसनकपका लागि प्रशिक्षक बालगोपाल महर्जनले बुधबार मात्रै आफ्नो टोलीको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट उनले अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणबाट स्ट्राइकर नवयुग श्रेष्ठसहित १० खेलाडी बाहिरिएका छन् । 

बन्द प्रशिक्षणबाट नवयुगसहित गोलरक्षकद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार, रक्षकहरू पाल्साङ लामा, सुरज बिके र विकास खवास बाहिरिएका छन् । यस्तै, मिडफिल्डर हेमन्त थापामगर र सन्तोस तामाङ, स्ट्राइकर आशिश लामा, जर्ज प्रिन्स कार्की पनि बाहिरिएका छन् । उनीहरू बुधबार नै बन्द प्रशिक्षणबाट फुकुवा भएका छन् । 

विराजको अन्तिम प्रतियोगिता
नेपाली टोलीका रक्षक विराज महर्जनले सन्न्यासको घोषणा गरेका छन् । जारी थ्री नेसनकप नै राष्ट्रिय टोलीबाट खेल्ने अन्तिम प्रतियोगिता हुने जनाएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको उत्पादन विराजले उमेर समूह हुँदै सन् २००८ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ७२ क्याप जितेका विराजले सन् ०१५ देखि नेपाली टोलीको कप्तानीको जिम्मेवारी निर्वाह गरेका हुन् । यद्यपि, पछिल्लो करिब आठ महिनादेखि उनी टोलीबाहिरै थिए । 

उनले राष्ट्रिय टोलीबाट बिदा लिने यो उपयुक्त समय भएको बताए । ‘पछिल्लो समय राम्रा युवा खेलाडी आएका छन् । राम्रो गर्ने प्रयास गर्दागर्दै पनि टोलीमा नियमित हुन सकिरहेको छैन,’ विराजले नयाँ पत्रिकासँग भने, ‘कोरोना महामारीले प्रतियोगितामा निकै प्रभाव पारिरहेको छ । त्यसैले आफ्नै मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेर राष्ट्रिय टोलीबाट बिदा लिनु उपयुक्त समय हुने ठानेको छुँ ।’

विराज दशरथ रंगशालाकै उत्पादन हुन् । उनको घर रंगशालाभन्दा केही पर छ । रंगशालाको माहोल देखेर फुटबलतर्फ लागेका उनले राष्ट्रिय टोलीमा झन्डै १३ वर्ष बिताएका छन् । घोषणाअनुसार थ्री नेसनअन्तर्गत नेपालको अन्तिम खेल विराजको पनि राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । उनी भन्छन्, ‘आफ्नै घरअघिको रंगशालामा खेलेर बिदा लिन पाउनु मेरा लागि भगवान्ले जुराइदिएको अवसर हो ।’

नेपाली टोली
गोलरक्षक : किरणकुमार लिम्बू (कप्तान), विकेश कुथु र दीप कार्की
रक्षक : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, निदेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डरः त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विस्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान
स्ट्राइकरः अन्जन विष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल, भरत खवास