मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १८ शुक्रबार
  • Friday, 02 July, 2021
त्रिनगर नाकाबाट बुधबार स्वदेश फर्कंदै गरेका नेपाली । नाकामा भारतबाट स्वदेश फर्कने नेपाली बढेका छन् । तर, जोखिम बढ्दै गए पनि स्वास्थ्य परीक्षण बढ्न सकेको छैन । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
२०७७ चैत १२ बिहीबार ०७:५७:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सीमानाकामा बेवास्ता : झोला छामिन्छ, मान्छे जाँचिन्न

Read Time : > 5 मिनेट
२०७७ चैत १२ बिहीबार ०७:५७:००

विश्वराज पछल्डङ्ग्या
बाँके
/जाजरकोटको साबिक चिलाउने गाविस– ७ का नरबहादुर बुढा बुधबार बिहान नेपालगन्ज नाका हुँदै नेपाल प्रवेश गरे । कोरोनाका कारण भारतमा लकडाउन हुने हल्ला चलेपछि उनी हतारहतार नेपाल फर्किएका थिए । नेपाल–भारत सीमानाका जमुनाह आएपछि सुरक्षाकर्मीले समय लगाएरै उनको साथमा रहेको झोला चेकजाँच गरे । तर, चेक प्वाइन्टनजिकै रहेको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले भने उनको स्वास्थ्य जाँच नगरी पठाइदिए । ‘भारतमा कोरोनाको संक्रमण बढेको वेला नेपाल छिर्ने वेलामा निकै कडाइ होला, स्वास्थ्य जाँच गरेर मात्र जान दिने होलान् भन्ने लागेको थियो,’ नाकामै भेटिएका नरबहादुरले नयाँ पत्रिकासँग भने, ‘सुरक्षाकर्मीले साथमा रहेको झोला जाँचे, तर हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले मेरो स्वास्थ्य जाँचेनन् ।’

बर्दिया भुरीगाउँका विकास थापामगर पनि बुधबार बिहान नेपालगन्ज नाका भएर नेपाल प्रवेश गरे । नाकामा खटिएका सुरक्षाकर्मीले निकैबेर लगाएर उनको पनि झोला चेकजाँच गरे । तर, नरबहादुरको झैँ उनको पनि स्वास्थ्य जाँच गरिएन । ‘सुरक्षाकर्मीले सामान चेकजाँच गरे, तर हेल्थ डेस्कका कर्मचारीले कुनै वास्ता गरेनन्,’ उनले भने, ‘हामी पनि सरासर नेपाल छिर्‍यौँ ।’ 

यी दुई प्रतिनिधि घटना मात्र हुन् । भारतमा कोरोना संक्रमण पुनः फैलिरहेका वेला त्यहाँबाट आएका नेपालीको स्वास्थ्य जाँचमा ध्यान पुगेको छैन । भारतसँग सीमा जोडिएका अन्य जिल्लाका नाकामा पनि अवस्था उस्तै छ । केही सीमा नाकामा हेल्थडेस्क राखिएका छन्, तर जनशक्तिको व्यवस्थापन गर्न नसक्दा सबैको चेक जाँच हुन सकेको छैन । कतिपय नाकामा बुधबारबाट मात्र डेस्क खडा गरिएको छ । 

भारतको विभिन्न राज्यमा कोरोना संक्रमण दर बढेपछि गत वर्षजस्तै दुःख पाइने हो कि भन्ने चिन्ताले धेरै नेपाली धमाधम फर्किन थालेका छन् । कोही चाड मान्न फर्किंदै छन् । यस्तोमा पर्याप्त जाँच नहुने हो भने देशका विभिन्न भागमा एकैपटक भयावह अवस्था आउन सक्छ । सरकारले भारतीय नाकाबाट भित्रनेहरूको चेक जाँच बढाउन निर्देशन जारी गरिसकेको छ । तर, निर्देशन कार्यान्वयनमा पर्याप्त सजगता देखिँदैन ।

भारतमा लकडाउन हुने हल्ला सुनेपछि पहिले नै नेपाल फर्किएको जाजरकोटका नरबहादुर बुढाले बताए । ‘लकडाउनका भएपछि गत वर्ष धेरै दुःख पाइयो । गाडी नपाएर ठाउँ–ठाउँ बस्दै नेपाल आयौँ । यस वर्ष पनि त्यस्तै होला भन्ने लागेर छिटै फर्किएँ,’ नरबहादुरले भने । लकडाउन हुने हल्ला सुनेपछि गँगटे गाउँपालिका– ६ रोल्पाका देवराज खत्री पनि नेपाल फर्किएका छन् । भारतको पौडी गढवालमा मजदुरीको काम गर्दै आएका उनले सातजना साथीसँगै नेपाल फर्किएको बताए । तर, उनीहरूको पनि स्वास्थ्यजाँच भएन । 

नेपालगन्ज नाकामा बल्ल राखियो हेल्थ डेस्क
सरकारले नाकामा हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गर्न र मास्क लगाएर मात्र नेपाल प्रवेश गराउन निर्देशन दिएपछि नेपालगन्ज उपमहानगरपालिकाले नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छ । बुधबार दिउँसोदेखि सञ्चालनमा आएको हेल्थ डेस्कमा कोरोना संक्रमण फैलिएको ठाउँबाट आएका नेपालीको स्वाब संकलन गरी परीक्षण गर्न थालिएको छ । संकलित स्वाबको नतिजा १५ मिनेटमा दिइने नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । 

त्रिनगर नाकाबाट पाँच सय भित्रिए, डेढ सयको जाँच
कञ्चनपुरको त्रिनगर भन्सार नाका भएर बुधबार नेपाल भित्रिएका डेढ सयजनामा एन्टिजेन परीक्षण गरिएको छ । तीमध्ये आठजनामा पोजेटिभ देखिएको नाकामा स्वास्थ्य जाँचमा खटिएका अहेब गणेशबहादुर बोहराले जानकारी दिए । 

भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । बुधबार मात्र यो नाकाबाट पाँच सयभन्दा बढी भित्रिएका छन् । शंकास्पद, लक्षण देखिएका र भारतमा कोरोना प्रभावित क्षेत्रबाट आएकाहरूको मात्र स्वास्थ्य जाँच गर्ने गरिएको छ । जनशक्ति कम हुँदा सबैको परीक्षण गर्न नसकिएको अहेब बोहराले बताए । फर्कने सबैको सामान्य ज्वरो नाप्ने काम पनि हुँदैन । १ वैशाखमा सुदूरपश्चिममा मनाइने बिसु पर्व नजिकिएसँगै भारतबाट फर्कनेको संख्या बढेको छ । फर्कनेको स्वास्थ्य जाँच हुन नसक्दा सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ ।

वीरगन्जका २२ संक्रमितको ट्राभल हिस्ट्री भारत

तिवारी यादव
वीरगन्ज/
वीरगन्जमा पछिल्लो चार दिनमा २२ जना संक्रमित देखिएका छन् । उनीहरूको कन्ट्याक्ट हिस्ट्री भारतसँग जोडिएको छ । त्यसैले बुधबारबाट सीमानाकामा कडाइका साथ स्वास्थ्य चेकजाँँच हुन थालेको छ । 

भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गर्नेमा तापक्रम नाप्न तथा अन्य स्वास्थ्य जाँच गर्न थालिएको नाकामा खटिएका अहेव सैनुल्लाह अन्सारीले बताए । ‘भारतका विभिन्न प्रान्तबाट नेपाल प्रवेश गर्नेलाई रोकेर चेकजाँच थालिएको छ,’ अन्सारीले नयाँ पत्रिकासँग भने, ‘बुधबार करिब ५० जनाको चेकजाँच गरेर रेकर्ड राखिएको छ ।’ 

पछिल्लो चार दिनमा वीरगन्जमा २२ जना संक्रमित भेटिएका छन् । ती संक्रमितको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । खुला सीमा भएकाले पनि सतर्कता बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । 

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरका अनुसार नयाँ संक्रमितमा दोस्रो फेजको कोभिड– १९ संक्रमण भएको आशंका गरिएको छ । 

‘दोस्रो फेजको कोभिड– १९ भारतमा तीव्र गतिमा फैलिएको छ । यहाँका नयाँ संक्रमितको ट्राभल हिस्ट्रीले उनीहरू भारतबाटै आएको देखाएकाले त्यसैको शंका छ,’ डा. ठाकुरले भने, ‘त्यसैले हरेकले सतर्कता अपनाउन आवश्यक छ । व्यक्तिगत दूरी, मास्क र सरसफाइमा ध्यान दिनुपर्छ ।’

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पछिल्लो समय कोभिड– १९ संक्रमण देखिएकाले अब नाकामा कडाइ गरेर चेकजाँच थालिएको बताए । कोभिड– १९ नियन्त्रणमा आएपछि महानगरपालिकाले चार–पाँच महिनाअघि पिसिआरका लागि स्वाब संकलन बन्द गरेको थियो । होलीलगायत चाडपर्व नजिक आइरहेकाले थप सतर्कता अपनाउन महानगर प्रमुख सरावगीले सुझाब दिए । 

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

गणेश लम्साल
विराटनगर/
प्रदेश १ मा बुधबार १३ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार एकैदिन मोरङको विराटनगरमा १०, सुनसरीको इनरुवामा दुई र धरानमा एकजना पुरुषमा संक्रमण देखिएको हो । 

यहाँ बुधबार तीन सय २२ जनाको पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये सात पुरुष र ६ महिलामा कोभिड पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म दुई लाख २८ हजार आठ सय ६२ जनाको पिसिआर परीक्षण गरिएकोमा ३० हजार तीन सय सातजनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २९ हजार सात सय ९७ जना उपचारपछि निको भएका छन् । हाल प्रदेश १ मा चार सय ४४ जना आइसोलेसनमा बसिरहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोभिड– १९ बाट प्रदेश १ मा हालसम्म चार सय ६६ जनाको ज्यान गएको छ । हालसम्म दुई लाख ९८ हजार आठ सय ५३ जनाले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् । 

प्रदेश २ का सीमामा सुरसार नै छैन : प्रदेशका सबै जिल्लामा चार दिनदेखि पिसिआर टेस्ट बन्द, तलब नपाएका कर्मचारीले जाँच्न छाडे

हदिश खुद्दार
जनकपुरधाम/
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सीमा जोडिएको प्रदेश २ कोरोनाको उच्च जोखिममा परेको छ । तर, प्रदेश सरकारले पूर्वतयारीमा सक्रिय देखाएको छैन । 

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण कापरीले प्रदेश २ सरकारका तर्फबाट खासै तयारी नभएको बताए । ‘प्रदेशका सबै जिल्ला सीमा क्षेत्रमा रहेकाले भारतमा कोरोना महामारी बढेपछि यहाँ जोखिम बढ्नु स्वाभाविक हो,’ सचिव कापरीले भने, ‘तर, यस विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । होली पर्वपछि आगामी रणनीति तयार होला ।’

प्रदेशका आठवटै जिल्लामा कोरोना संक्रमण जाँच गर्ने मेसिन स्थापना भइसकेका छन् । जनकपुरधामको प्रादेशिक अस्पताल, वीरगन्जको नारायणी अस्पताल र सप्तरीको गजेन्द्रनारायण सिंह सागरमाथा अस्पतालका २५–२५ र बाँकी रहेका सबै जिल्लामा १५ बेडको सघन उपचार केन्द्र (आइसियू) स्थापना भइसकेकाले खासै तयारी गर्न नपर्ने सचिव कापरीको भनाइ छ ।

पिसिआर जाँच चार दिनदेखि बन्द 
कोरोनाको जोखिम बढिरहेका वेला प्रदेशका सबै जिल्लामा पिसिआर जाँच बन्द रहेको छ । पाँच महिनादेखि तलब नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीले चार दिनदेखि प्रदेशका सबै जिल्लामा पिसिआर जाँच बन्द गरेका हुन् । उनीहरूले गत असोजदेखि तलब र जोखिम भत्ता पाएका छैनन् । 

पटक–पटक ताकेता गर्दा पनि बाँकी तलब नदिइएको भन्दै कर्मचारीहरूले प्रदेशका सबै जिल्लामा रहेका पिसिआर जाँच बन्द गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमखु डा. श्रवणकुमार मिश्रले बताए । संघीय सरकारले ८ चैतमा सामाजिक विकास मन्त्रालयलाई परिपत्र गरी प्रदेशमा भारतसँग जोडिएका सबै नाकामा एन्टिजेन टेस्ट गर्न भनेको छ । तर, जाँच गर्ने कर्मचारीले नै काम बन्द गरेपछि अहिलेसम्म कुनै पनि नाकामा एन्टिजेन टेस्ट हुन नसकेको डा. मिश्रले जानकारी दिए । 

५० थान भेन्टिलेटर खरिद गर्ने योजना टेन्डरमा सीमित
प्रदेश सरकारले गत वर्ष कोरोनाको महामारीकै वेला ५० थान भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । त्यसका लागि टेन्डर पनि निकालिएको थियो । तर, अहिलेसम्म भेन्टिलेटर खरिद प्रक्रिया टुंगिएको छैन । स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवका अनुसार टेन्डर आह्वान गरिए पनि प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले भेन्टिलेटर खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । उनले प्रदेशमा तत्काल ५० हजार टेस्टका लागि चाहिने आवश्यक किट, मास्कलगायत सामग्री भने उपलब्ध रहेको बताए । 

बेलहिया नाकामा हेल्थ डेस्क स्थापना

दीपेश पछाई
भैरहवा/
रुपन्देहीको बेलहिया नाकामा ल्याबसहितको दुईवटा हेल्थ डेस्क स्थापना गरिएको छ । बुधबार साँझबाट ती हेल्थ डेस्कबाट परीक्षण सुरु भइसकेको छ । भारतमा कोरोना संक्रमणको दर बढेपछि बेलहियामा हेल्थ डेस्क स्थापना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए । 

हेल्थ डेस्कमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्वास्थ्य कर्मचारी छन् । यसअघि भारतमा रोजगारी गरी तीन दिनदेखि घर फर्किएकाको तथ्यांक लिने, ज्वरो नाप्नेलगायत काम मात्र भएको थियो । बुधबारदेखि भने ल्याबसहितको हेल्थ डेस्क पनि सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

सीमानाकामा मास्क अनिवार्य
बुधबार बिहानैदेखि सीमानाकामा मास्क अनिवार्य गरिएको छ । माक्सविना हिँड्न कडाइ गरिएको छ । मास्कविना ओहोरदोहोर गरे सुरक्षाकर्मीले बाटोबाटै फर्काएर मास्क लगाएपछि मात्र नेपाल प्रवेश गर्न दिएका छन् । सीमावर्ती भारतीय बजारमा सामान किनेको ओहोरदोहोर बढिरहेको छ । यसलाई रोक्न भने सकिएको छैन । अहिले दैनिक साढे दुई सयजति नेपाली आइरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

नेपालमा संक्रमण फैलन सक्ने जोखिम रहेकाले बेलहिया नाकामा नै परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकलपर्सन केदारनाथ शाहले जानकारी दिए । उनका अनुसार दुईवटा हेल्थ डेस्कमध्ये एउटाबाट लगत लिने र ज्वरो नाप्ने काम तथा अर्कोबाट कोभिड– १९ एन्टिजेन र मलेरिया जाँच सुरु गरिएको छ ।