Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दिपेश शाही काठमाडौं
२०७७ चैत १२ बिहीबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धुम्बाराहीबाट एमाले पार्टी कार्यालय थापाथली सर्ने

Read Time : > 1 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ चैत १२ बिहीबार ०६:०१:००

थापाथली हाइटमा रहेको मेरै आफन्तको घरमा पार्टी कार्यालय राख्ने निश्चित भएको छ । भाडा निश्चित भइसकेको छैन । तर, उहाँले पार्टीले दिने पैसा लिन्छु भन्नुभएको छ । पाँच वर्षका लागि सम्झौता भएको छ ।  - मोतीलाल दुगड, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार

....                             ....

एमालेको धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्ने भएको छ । सर्न लागेको भवनको अध्यक्ष केपी ओलीलगायत पदाधिकारीले बुधबार निरीक्षण गरेका छन् । 

धुम्बाराहीको कार्यालय थापाथली सार्ने निर्णय भएको सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए । दुगडका अनुसार अहिलेसम्म उक्त भवनको भाडा कति हुने भन्नेबारेमा कुनै सहमति भइसकेको छैन । यद्यपि, पाँच वर्षसम्मको सम्झौता भएको उनले जानकारी दिए । अब कार्यालय सर्न लागेको उक्त भवन दुगडका आफन्त सञ्जय अग्रवालको हो । 

‘मेरै आफन्तको घर हो । भाडा कति दिने भन्ने निश्चित भइसकेको छैन । तर, उहाँले पार्टीले दिने पैसा लिन्छु भन्नुभएको छ । पाँच वर्षका लागि सम्झौता भएको छ । १ वैशाखदेखि कार्यालय सर्ने तयारी भइरहेको छ,’ दुगडले भने । 

एमालेको अहिले सर्ने साढे दुई तलाको भवनमा १३ वटा कोठा छन् भने २५ वटासम्म चारपांग्रे गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ । धुम्बाराहीस्थित पार्टी कार्यालय रहेको ठाउँनजिक चक्रपथको सडक विस्तार हुने भएपछि आवतजावतमा अप्ठेरो नहोस् भन्नका लागि कार्यालय सार्न लागिएको एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । 

‘चक्रपथ विस्तार भएपछि कार्यक्रम हुँदा बाहिरपट्टि पार्किङ गर्ने ठाउँ रहँदैन । भित्र दुई–तीनवटाभन्दा बढी गाडी अट्दैनन् । धेरै नै साँघुरो हुने अवस्था आउँछ । त्यसैले सर्न खोजेका हौँ,’ रिजालले भने । उनले धुम्बाराहीको भवन पनि अस्थायी रूपमा प्रयोग गरेको र अबको भवनसमेत अस्थायी प्रयोजनका लागि नै भाडामा लिन लागेको बताए । रिजालका अनुसार करिब चार रोपनी क्षेत्रफलमा बनेको भवनमा बल्खुको पार्टी कार्यालय निर्माण नहुन्जेलसम्म कार्यालय रहनेछ । 

करिब पाँच वर्षअघि बल्खुस्थित मदननगरमा रहेको पार्टी कार्यालय भूकम्पका कारण भत्किएपछि अस्थायी प्रयोजनका लागि धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा सारिएको थियो । बल्खुमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले आगामी ९ वैशाखमा नयाँ भवनको शिलान्यास गर्ने घोषणा गरेका छन् । पार्टीभित्र विवाद चर्किएका वेला ओली पक्षले कार्यालय सार्ने र बल्खुमा भवन निर्माण गर्ने निर्णय गरेको छ । गत ५ पुसको संसद् विघटनको घटनापछि एमालेभित्र जारी विवाद पार्टी विभाजनको संघारमा पुगेको छ । ओली पक्षले एकलौटी निर्णय गर्दै माधव नेपाललगायत नेतालाई स्पष्टीकरण सोधेको छ । 

खनाल–नेपाल पक्षले पनि २८ फागुनपछि ओली पक्षले गरेका सबै निर्णय खारेज हुनुपर्ने भन्दै देशभर समानान्तर गतिविधि जारी राखेको छ । यद्यपि, ओली पक्षले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेला र सम्मेलन गर्दै आएको छ भने खनाल–नेपाल पक्षले होटेल र सार्वजनिक स्थानमा आफूपक्षीय भेला र कार्यक्रम गर्दै आएको छ ।