रुपन्देहीको बेलहिया नाकामा ल्याबसहितको दुईवटा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतमा कोरोना संक्रमणको दर बढेपछि सरकारले सीमानाकाहरूमा सर्तकता अपनाउन आग्रह गरेसँगै बेलहियामा हेल्थ डेस्क स्थापना गर्ने काम सकिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए ।
हेल्थ डेस्कमा सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्वास्थ्य कर्मचारीहरू छन् । विगत तीन दिनदेखि भारतमा रोजगारी गरी घर फर्किएकाहरूको तथ्यांक लिने, ज्वरो नाप्नेलगायतका कामहरू भए पनि बुधबारदेखि ल्याबसहितको हेल्थ डेक्स पनि सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
बुधबार बिहानैदेखि सीमानाकामा मास्कविना हिँड्न कडा गरिएको छ । मास्कविना ओहोरदोहोर गरे सुरक्षाकर्मीले बाटोबाटै फर्काएर मास्क लगाएर मात्र नेपाल प्रवेश गर्न दिएको छ ।
सीमावर्ती भारतीय बजारमा सामान किन्नेहरूको ओहोरदोहोर बढिरहेको छ । यसलाई रोक्न भने सकिएको अवस्था छैन । सीमानाकामा भारतका विभिन्न स्थानहरूबाट रोजगारी गरट्ठ घर फर्किएकाहरूलाई मात्र सोधपुछ गरिएको छ । त्यसरी नेपाल फर्किनेहरूको संख्या दैनिक दुई सय पचासको हाराहारीमा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।
भारतमा संक्रमण बढे पनि संक्रमण सँगसँगै खोप कार्यक्रम पनि जारी रहेका कारण भारतमा रहेका नेपालीहरू आत्तिएर नेपाल फर्किने अवस्था नरहेको भारतबाट नेपाल आएका प्रवासी नेपालीले बताए ।























