मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत १० मंगलबार १५:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चौकी घेर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा दुईजना घाइते

Read Time : > 1 मिनेट
२०७७ चैत १० मंगलबार १५:०१:००

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्कीबजार तनावग्रस्त बनेको छ । दुर्घटनापछि भएको प्रदर्शन चर्कँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । प्रहरीले चलाएको गोलीबाट स्थानीय २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्ज्याल घाइते भएका छन् ।
    
घाइते दुवैजनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेमध्ये एकजनाको अवस्था सामान्य र अर्का एकजनाको मध्यम रहेको बताए । इलाका प्रहरी कार्यालय लम्की घेराउ गर्न पुगेका स्थानीयको भिडलाई तितरबितर गर्न प्रहरीले गोली चलाएको हो । 
    
इलाका प्रहरी कार्यालयमा गएको भिडले आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्नुका साथै प्रहरीमाथि हातपात हुन थालेपछि प्रहरीले गोली चलाएको प्रहरी निरीक्षक थापाले बताए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि चलाएको थियो ।

‘इलाका प्रहरी कार्यालयभित्र सुरक्षाकर्मी, मृतकका आफन्त र यातायात व्यवसायीबीच छलफल भइरहेको थियो । अराजक व्यक्तिहरूको हुल गएर प्रहरीमाथि नै आक्रमण हुन थालेपछि गोली चलेको हो,’ थापाले भने, ‘घाइतेको अवस्था खतरामुक्त छ ।’ प्रदर्शनकारीको आक्रमणबाट चार–पाँचजना प्रहरी पनि सामान्य घाइते भएका उनले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीबजारमा मंगलबार बिहान बसले ठक्कर दिँदा पैदलयात्री २३ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको ना.७ख ८८३३ नम्बरको कर्णाली रिभर यातायात प्रालिको बसले बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो । बसले ठक्कर दिँदा मृतकका तीन वर्षीय छोरा घाइते भएका छन् ।  

आफन्तलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रेका हुन् । लम्कीबजार बन्द गरिएको छ । बसचालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।