१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेमराज सिलवाल
२०७७ चैत १० मंगलबार ०९:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रगतिका बाधक दुई मनोविज्ञान

Read Time : > 2 मिनेट
प्रेमराज सिलवाल
२०७७ चैत १० मंगलबार ०९:१२:००

युवा र ऊर्जाशील समयमा मानिसले चाहेको धेरै कार्य गर्न सक्छ । आर्थिक, सामाजिक र निजी जीवनका अनेकौँ क्षेत्रमा प्रगति, उन्नति गर्नका लागि व्यक्ति स्वयंकै चाहना, इच्छा, जोस, जाँगर र मनोविज्ञानको ठूलो भूमिका हुन्छ । नेपाली समाज पुरातन र परम्परागत सोचबाट भर्खरै आधुनिक विकास र समृद्धिको युगमा प्रवेश गर्दै छ । सामाजिक मूल्य, परम्परा, सोच र संस्कृतिले समाजका सबैलाई कुनै न कुनै हिसाबले प्रभावित गरेकै हुन्छ । ऊर्जाशील हुनुपर्ने युवालाई प्रगति, समृद्धि र सक्षमताका लागि मूलतः दुईवटा मनोविज्ञानले रोकिरहेको देखिन्छ– पहिलो, जागिरे संस्कृति र मनोविज्ञान, दोस्रो बिदेसिने मनोविज्ञान । 

जागिरे सोच र संस्कृति : सबै अवस्थामा सबै जागिर आफैँमा नराम्रो भन्ने हुन्न । कति जागिरले मानिसको व्यक्तित्व विकास गरी उसलाई सक्षम र समृद्ध पनि बनाएका हुन्छन् । तर, आफूले सिर्जना गरेर आफ्नै उद्यम, पेसा र व्यापार गर्न सक्ने ऊर्जाशील व्यक्तित्वहरू पनि अर्काले दिने कामको आसमा भौँतारिँदै दौडिरहेका हुन्छन् । नेपाली समाजमा सरकारी वा सरकारीसरहका संस्थानमा जागिरे हुन लालायित हुने संस्कृतिमा कमी आउन सकेको देखिन्न । किन सरकारी जागिर खाने भन्ने सवालमा धेरैजसो युवाको समान उत्तर हुन्छ– ‘सरकारी जागिरमा एकपटक भर्ना भएर स्थायी भएपछि कसैले निकाल्न सक्दैन । पछि जीवनभर सुतेर पेन्सन आउँछ । खासै काम पनि गर्नुपर्दैन । शरीरलाई आराम हुन्छ । सजिलो हुन्छ ।’ यस्तै–यस्तै उत्तर सुन्न पाइन्छ । 

ऊर्जाशील हुनुपर्ने युवालाई प्रगति, समृद्धि र सक्षमताका लागि मूलतः दुईवटा मनोविज्ञानले रोकिरहेको देखिन्छ– जागिरे संस्कृति र बिदेसिने मनोविज्ञान 

वास्तवमा एउटा ऊर्जाशील, सक्षम र आफैँ धेरै गर्न सक्ने मानिसलाई सिध्याउने भनेको यस्तै सोच र मनोविज्ञानले नै हो । मानिस परनिर्भर, अल्छी र खासमा बेकामे बन्ने मनोविज्ञान हो, यो । अमेजनका मालिक जेफ बेजोस सुरुमा अर्काकोमा जागिर खान्थे । उनलाई सबै प्रकारले राम्रो तलब सुविधा थियो । तर, उनी आफैँ केही सिर्जनशील उद्यम, पेसा गर्न चाहन्थे । त्यसैले उनले जागिरबाट तत्कालै राजीनामा दिए । परनिर्भर र आसे भएर बसिरहेका भए उनी आज विश्व प्रसिद्ध सफल व्यवसायी बन्न सक्दैनथे । यस्ता धेरै उदाहरण नेपालमा पनि छन् । सहरबजारमा हजारौँहजार पढेका युवा सामान्य जागिरका लागि साहुको ढोकाढोका चहार्दै हिँडिरहेका छन् । जबकि, उनीहरूसँग अनेकौँ सानातिना पेसा, व्यापार र उद्यम गर्ने विकल्प छ । आफ्नै गाउँ–ठाउँमा फर्किएर आधुनिक नगदे कृषि, पशुपालन र घरेलु उद्योग गरेर मनग्गे आम्दानी गर्न सक्ने अवसर पनि छ । तर, अधिकांश युवा किन यस्ता कार्य गर्न लालायित छैनन् ? यसको पछाडि जागिरे संस्कृति र मनोविज्ञानका साथै नेपालमा केही हुन्न भन्दै बिदेसिने मानसिकता र सोचले काम गरेको छ ।

बिदेसिने मनोविज्ञान : जुनसुकै अवस्थामा विदेशको रोजगारी र पेसा ठीक होइन भन्ने यो लेखको आशय र भनाइ होइन । तर, आफ्नै घरखेतमा परिश्रम गरेर वर्षमा तीन–चार लाख कमाउन सक्ने युवा पनि किन मासिक २०–२५ हजार कमाउन अरबका अखप गर्मीमा हानिँदै छन् ? यो बडो गम्भीर सवाल र समस्या हो । विदेश गएपछि भटाभट डलर सोहोर्न सकिन्छ भन्ने सोच देखिन्छ । पढेका सहरियादेखि गाउँका खासै नपढेका, सीप र ज्ञान केही नभएका युवा ‘लेबर’ बन्न तँछाडमछाड गर्दै छन् । सीप, ज्ञान र योग्यतासहितको महत्वपूर्ण आय हुने वैदेशिक रोजगारी भए त्यो राम्रै हो । तर, कुनै पनि सीप, दक्षता र प्राविधिक ज्ञानविना बिदेसिने र शारीरिकजस्तो पनि श्रम गर्न तत्पर हुने सोच र संस्कृतिले नेपाली युवालाई थप परनिर्भर, दुर्बल, कमजोर र निराश मात्र बनाइरहेको छ । श्रमप्रधान सस्तो रोजगारीका लागि समेत बिदेसिनुले नेपाली युवाको आत्मसम्मान निरन्तर खस्कँदो छ । नेपाली राष्ट्रियता र राष्ट्रिय भावना पनि कमजोर बन्दै छ । नेपालमा केही हुन्न र गर्न सकिन्न भन्ने हीन भावनाको वृद्धि हुँदै छ । 

आफ्नो मुलुकमा आफूले सकेको उद्यम, पेसा, व्यापार नगर्ने, यहाँका श्रमयुक्त व्यवसाय र कामलाई रोजगारी नदेख्ने प्रवृत्तिले नेपाली युवाले आफ्नै क्षमता र सम्भावनालाई थप कमजोर पार्दै छन् । यही कारण हामीकहाँ कपाल काट्दिन विदेशी आउँछ र मासिक हजारौँ कमाएर आफ्नो मुलुक पठाइरहेको छ । 

विदेशमा रहेका नेपाली युवा सामाजिक सञ्जालमार्फत मुलुकका नेता, राजनीतिक प्रणाली र देशलाई नसरापी सुत्नै नसक्ने भएका छन् । यसले नेपालमै बसिरहेका र यहीँ केही गर्ने सोच भएका युवालाई समेत यहाँ केही गर्न सकिँदैन र हुँदैन भन्ने भावनाको विकास गराउनमा मलजल गरिरहेको छ ।

के यसलाई राष्ट्रवादी काम मान्ने ? यही कारण स्वदेश फर्किएका युवासमेत पुनः विदेश नै फर्कने गरेका देखिन्छन् । आफू देश बुझेको देखिन र सामाजिक सञ्जालमा वाहवाही पाउन देश र प्रणालीलाई गाली गर्ने आदत पार्न थालेका युवामा पछि त्यही सोच र मान्यताले घर जमाउँदै गएको अुनभव गर्न सकिन्छ । यसखाले सोच र शैलीले नेपाल र नेपाली समृद्ध हुने दिशामा गम्भीर अवरोध सिर्जना हुँदै गएको छ । ठूलो सोच लिने, तर सुरुवात सानै उद्यमबाटै भए पनि गर्ने प्रवृत्ति र सोचको विकास गर्न सकियो भने मात्रै समृद्धिको यात्रा तय गर्न सकिन्छ, उन्नति गर्न सकिन्छ । नेपाल हाम्रो घर हो र यसलाई बनाउनुपर्ने पनि यहीँकै युवाले हो । 

(सिलवाल अधिवक्ता हुन्)